Nov 22, 2007

मुठभेडले मुडेको थाङबेन माईलाको बैँस - कथा


कथाकार-टंक वनेम

-------------जन्मेर बैँस पुगिञ्जेल उदेश्य नपालेको थाङबेन माइला साधरण एउटा किसान परिवारमा जन्मेको थियो जन्मनु मात्र थिएन जसो तसो हुर्क्यो । जीवनमा आरोह आवरोहहरु पनि सावने खोला झैं उर्लेर फेरि हिउद लाग्यो अनि खोलाको बगरमा कमिलाका लावा लश्कर लागे झैं उस्को बैँश चढाउने बर्षहरु १९, २० को ताँतिमा गनिन थाल्यो । फक्ताङ्लुङ हिमालमा जमेको हिउँ पग्लेर सलल तमोर खोला सुसाए झैं उस्को बैंस पनि छाती भित्र सुसाउन बेर लागेन । अहा ! बैंसै त हो रहेछ भनाइ नै छ भोकै मिठो मायै राम्रो, थाङबेन माइलालाइ बैँस चढेछ क्यारे एकान्तमा पालम गुनगुनाउन थाल्यो । मानौं बैँसको आगो हुर्रै बल्यो, आगो मार्ने पानी आकास बाट बर्षोर नहुने वा खोलाको दहमा पौडेर हुने । त्यो भौतिक आगो थिएन बैँसको आगो थियो । थाङ्बेन माइला अनुभब गर्दथ्यो पारी चल्लेमा लालपाते फूल रातै फुल्दा मनका च्याब्रुङ् -ढोल) बज्न थाल्थ्यो । च्याङ् ... ब्रुङ् ...च्याङ् .....। ब्रुङ् .... ब्रुङ् ....ब्रुङ् ....। तर उस्को बिहेमा यो बाजा बजाउनु कति पर्खिनु पर्ने हो उस्लाई थाहा थिएन ।
एक दिन गाउँ डुलेर थाङबेन माइला र्फकदै थियो । गाउँकै स्कुलमा पढेर ताङसादेन कान्छा पंञ्चमी डाँडाको चौतारीमा थकाइ मारी रहेका रहेछन् । कान्छालाई देख्ने बित्तिकै थाङबेन माइलाले सोध्यो हाउ कान्छा के छनी - नयाँ स्कुलको खबर खाबर - कान्छाको उत्तर थियो के हुने हाउ दाइ नयाँ स्कुल भन्छन् । स्कुलको वरीपरी बैँस पुगेका बैँसालुहरुले मायाको गुँडलाइ सके शायद कतिले अण्डा पारी सके अब ओथारो बसेर चल्ला काड्न मात्र बाँकि छ । थाङबेन माइलाले फेरी सोध्यो ,तिम्रो पनि त मायाको हाँगामा गुँड बनाउन सिन्काहरु ओसार्ने काम हुदै होला नी - हैना हाउ आम्फु पान च्याप्ने ओँठलाइ ५५५ को दस्तुर बेमतलबको हुदो रहेछ । थाङबेन माइलाले फेरी प्रश्न अघि सार्‍यो अनि केहो कान्छा स्कुलको संञ्चालक समिति छ, स्कुलका त्यत्रा पढे लेखेका माड्साबहरु छन् कहि कतै बाट कारबाही हुदैन त - खोई कारबाही त गर्नै पर्ने हो तर भरखरै ८,९, र १० कलास संम्म बढेर माध्यमिक बिद्यालय भएको छ । स्कुललाई जति धेरै छात्र छात्रा जम्मा गरेर रकम सङ्रकन गर्नुछ । सरकारले दिएको अनुदान हात्तीको मुखमा जिरा हुन्छ । सुन्नु भएन कि क्या हो - श्री कृष्ण सरले आफ्नै छात्रा जालपा लाई भगाएर डाँडा काटेको - कान्छाले लामो बयान टुङ्ग्यायो ।
थाङबेन माइलाले कान्छालाई भन्यो मदन मेला आउदै छनी हामी पनि मायाको रसरङ्गमा भने खुब झुम्नु पर्छ । आखिर पान्पाते भौतिक सुख त क्षणिक मात्र हो । एउटा सदभाब, इज्यत र आफ्नो संस्कारको मैदानमा माया लाउदै सरलाईमा सरको भाकामा च्याब्रुङ बजाएर नाच्दा पो र्स्वाग पुगेको अनुभब हुन्छ त । सांस्कृतिको मैदानमा थाङ्बेन माइला सतिसालको रुख झैं ठिङ्ग उभेको भान भयो कान्छालाई । पश्चिमी आकाशको हात्ती सुँडे डाँडामा घामको लामा लामा किरण तेर्छिएर त्यो दिन बिदाई हुने तरखर गदै थियो । कान्छाले बिदाको आज्ञा माग्दै भन्यो , माईला दाई मदन मेला जानु अघि भेटौला नी । थाङ्बेन माइलाले मुन्टो हल्लाउदै कान्छालाई बिदा गर्‍यो ।
ऋतुहरुको परिवर्तन संगै आकास गड्याङ गुडुङ् गर्‍यो शायद आकाश धर्ती बीच हुने यौन समागमको पूर्ब सुचना हो त्यो । बारीका काँध्लामा भुइचम्पा टुसायो, करेसा बारीको डिल डिलमा गुलाबी रङ्गमा आरु मुश्कुरायो, मौरीहरुको भुन भुन स्वरमा प्रकृतिले संगितको तार रेट्यो, नौ डाँडामा नरसिङ्गा बज्यो । उल्लासमय बाताबरणले थाङ्बेन माइलालाई भित्रभित्रै रोमाञ्चीत बनायो । थाङ्बेन माइलालाई महसुस भयो कि मान्छे बिना प्राकृति नसुहाए झै फस्टाउदो बैँसमा यौंन मन र मस्तिष्कको तार रेटेर जीवन बाँच्दो रहेछ । मानौं कि थाङ्बेन माइला बैँसालु फूल संगै मन मनै नाँचि रहर्‍यो । उत्ति नै खेर उत्तर तिर सेताम्मै उभेको हिम ऋङखलाहरुले माओबादी सिद्धान्तलाई रोकेन न पामीरको गाँठोले उत्तै तिर गाँठो पार्‍यो । सिद्धान्त र बिचार हावा हो आँधि हो मान्छे बाँचेको पृथ्बीमा आँधी बेहृरी नचल्ने त कुरै भएन । शायद त्यहि हावा चल्यो त्यहि आँधी चल्यो । त्यहि हावा पानीले बर्षदिनमा लाग्ने मदन मेला लाग्न रोक लगायो डाँडामा उभेको मदन भवन पनि त्यसैको सिकार बन्यो । थाङ्बेन माइलालाई आफ्नो छाँतीको पहाड गर्रल्याम्म ढले झैं लाग्यो । पारी नौं डाँडामा ढयाङ् ..ढयाङ् .... जोर नाल बन्दुक पड्कन छोड्यो न साल घारीमा ए... आङलाइन सक्ते कु,धे सारीक एइ...हा...हा ...भनेर पालमका भाकाहरु घन्क्यो त्यतै कतै तिर ।
अचानक गाँउमा एउटा हल्ला सुनियो थाङ्बेन माइला माटो भयो रे हावा भयो रे पानी भयो रे, जूनको सन्तान जूनले लग्यो रे घामको सन्तान घामले लग्यो रे । थाङ्बेन माइलाले हिडेका पाइतलाहरु आलै थियो । जस्लाई ढाक्न लाज नभएको आकाश बेसरम उदाङ्गै छाँती खोलेर हेरि रहेथ्यो । शायद निर्दयी आकाशले सुनेको थियो होला । थाङ्बेन माइलाले पनि भन्यो होला पहाडमा फुलेको बुकी फूल जस्तो घामको एकै रापमा मेरो बैँस नओइलावोस मेरो जोवन त अजम्बरी फूल हो म भमरा र मौरी संग नरमाई देह त्याग गर्न चाहान्न । तर त्यसो भएन कथाको पात्र थाङ्बेन माइला अजम्बरी फूल र भमराको रासलिला ननाँची हावा भयो, पानी भयो र तल ....तल ....सुर्साई रहर्‍यो तमोर खोलामा । गाँउका गाँउलेहरु भन्दै थिए । हाउ चुम्से थाङ्बेन माइलाको नाम लिनु हुदैन है । मात्रै आताङ्ककारी भन्नु पर्छ । उसको नाम लियो भने त हाङ् साम्बान -राजाको सजाय) भोग्नु पर्छ । अनि गाँउ नै सोतर हुन्छ । उस बेलाको शब्दमा भन्ने हो भने उ एउटा आतङ्ककारी मान्छे थियो । मुठमेडमा मारियो बश यसरी नै सयौं आताङ्ककारीहरु पूर्ण मानब जीवनको पात्र हुन नसकेर मुठभेडको शिकार भए, अधुरो अपुरो मृत्युहरुको लश्करमा लाम लागेर । गाँउको थाङबेन माइला पनि थाङ्बेन माइला नभएर आतङ्कारीको मुठभेडमा मुडिएर बेनामको मुर्कटा झैं आतङ्ककारी मात्र बन्यो ।

No comments:

Post a Comment