Nov 12, 2007

कवि बिक्रम सुब्बासंगको अन्तर्वार्ता

कर्णाली र लिम्बुवानको गर्धनमा हान्न
निरंकुस काठमाण्डुले उचालेको खुँडाको धार
र यो संविधानका नियतहरूमा के फरक छ ?
यी उद्धृत नेपाली वाक्यांशहरूमा
व्याकरण मिलेको छ कि छैन ?
हेरिदिनोस् त भाषाविद पोखरेलजी !
नेपाली साहित्यको कविता लेखनमा नाम लिनु पर्दा कवि बिक्रम सुब्बाको नाम लिनै पर्ने हुन्छ । किनभने वहाले लेख्नु भएका कविताहरु अत्यान्तै शक्तिसाली र युगन्तकारी पनि हुन्छन्। वहाको वास्तविक नाम डिल्ली बिक्रम इङ्गवाबा हो तर वहा नेपाली साहित्यमा बिक्रम सुब्बाको नामले वढी परिचित हुनुहुन्छ । वि.सं.२००९ पौष २० गते पाचथर फिदिम - ६ वोदिनमा जन्मनु भएका कविले ग्रामण विकाशमा एम.ए.वेलायतबाट गर्नुभएको हो भने हाल हर्डेक नेपालका निर्देशक पनि हुनुहुन्छ । साथै नेपाली कविता डट्कम वेव पनि सन्चालन गर्दै आउनुभएको छ । वहाले १. शान्तिको खोजमा -खण्डकाव्य २. कविको आँखा कविताको भाका - कविता संग्रह ३. सगरमाथा नाङ्गै देखिन्छ - कविता संग्रह ४. सुम्निमा पारुहाङ -मुन्धुम काव्य ५.concise limbu grammer and dictionary - Research and co -author with late dr.alfons wiedert. -kiel university,Germany ६. विक्रम सुब्बाका कविता र गीतहरु आदि पुस्तकहरु प्रकाशन गरी सक्नु भएको छ । लिम्वूवान व्लगस्पोटले लिम्वूवान सम्वन्धि वहाको धारणा बुझ्न गरीएको कुराकानीको अंश पाठकहरुको लागि तल प्रस्तुत गरेका छौ।

१.हाल नेपालको परीवर्तनलाई कसरी मध्यनजर गर्दै हुनुहुन्छ ? र हाल तपाई के गर्दै हुनुहुन्छ ?

नेपालको इतिहासमा भएका परिवर्तनहरूमध्ये सबैभन्दा बढी सम्भावनाहरू बोकेर आएको एउटा तरल अवस्था नेपालको सामुन्ने हाजिर छ । अब यथास्थितीवादी र अग्रगमनकारीहरूमध्ये कसले जित्ने हो त्यसै मुताविक मुलुक अघि बढनेछ । अर्थात , यथास्थितीवादी कांग्रेसजस्ताले जिते राजाका अनेक रुप मध्ये कुनै रुप फेरि हावी हुनेछ । यसोभएमा राज्यको पुन:संरचनाको स्वरुप जनजातीले चाहेजस्तो हुनेछैन । अर्थात 'लिम्बूवान' भन्ने शव्द टाँसिएको कुनै जिल्ला वा अञ्चल होला तर लिम्बुहरूले चाहेकोजस्तो अत्मनिर्णयको अधिकारसहितको राज्यको रुपमा लिम्बूहरूले पाउँन असम्भव हुनेछ । त्यसको अर्थ हो लिम्बूहरूले लामो लडाइँको तैयारी गर्नु । त्यो लडाइँ क्यानाडाको क्युबेक्वाहरुले अंग्रेजी भषाको अहंकारको विरुद्द फ्रेन्कोफोनवालाहरूले लडेकोजस्तो वा प्रजातन्त्रको अखाडा ठानिएको बेलायतका आइरिसहरूले आफ्नो पहिचानका निम्ती लडेको लडाइँजस्तो वा दुबै तत्व मिस्सिएको लडाइँ हुन सक्छ ।
कथंकदाचित लिम्बूहरूले भनेजस्तै आत्मनिर्णयको अधिकारसहितको 'लिम्बूवान राज्यको'को व्यवस्था संविधानमा भए पनि केही कुराहरू अहिलेदेखि नै सोच्नु पर्ने हुन्छ । जस्तो नयाँ 'लिम्बूवान' सामन्ती व्यवस्थालाई पोलेको खरानीबाट सृजना भएको हो भने 'लिम्बूवान'मा फेरि सामन्ती किसिमले राज्य संचालन स्वीकार्य हुने छैन । अर्थात 'लिम्बूवान' पनि सबैलाई स्वीकार्य हुने किसिमको गणतान्त्रिक लिम्बूवान हुनु पर्दछ । त्यो भनेको के ? कुनै पनि मुलुक र सभ्यतामा परिवर्तन हुँदा सबैभन्दा पहिले हुने परिवर्तन राजनैतिक परिवर्तन हो । जुन तुलनात्मक रुपमा सजिलो हुन्छ । त्यसपछि गर्नु पर्ने अर्को परिवर्तन हो आर्थिक प्रणाली । जुन राजनैतिक परिवर्तनको तुलनामा अझ पेचिलो हुन्छ । हालको नेपालको सन्दर्भमा राजनैतिक परिवर्तन नै सुनिश्चित भइसकेको छैन । आर्थिक प्रणालीको सन्दर्भमा नापली कांग्रेस र एमालेले पुरानै मिस्रित तथा खुला अर्थ व्यवस्थालाई स्वीकार गर्दै आएकाछन् । अर्को प्रभावकारी पार्टीको रुपमा (हालसम्म) संसदमा देखिएको माओवादी पनि नयाँ आर्थिक नीति वा अवधारणा लिएर आएको देखिएन । उसले हालसम्म 'धनीसँग खोसेर गरीवलाई जमीन बाँड्ने' जस्तो उहिल्यै महासामन्त राजा महेन्द्र वा पञ्चायतको जस्तो अतिलोकपृय हुने किसिमको हल्का फुल्का कुरा मात्र गरेको छ जुन हास्यास्पद छ । जबसम्म उत्पादनका साधन र उत्पादनमाथि स्वामित्वको ढाँचा फेरिने किसिमको आर्थिक प्रणाली लागु हुन्न तबसम्म मानिसहरूका सोचाइमा हाल विद्यमान सामन्ती चिन्तन परिवर्तन हुँदैन । आत्मनिर्णयको अधिकारसहितको लिम्बूवान पाउँदा पनि अर्को एक पक्षलाई ज्यादै सुक्ष्म किसिमले सोचेर व्यवस्थित गर्नु पर्ने हुन्छ । त्यो हो सँस्कार (Culture) । अर्थात अबको 'लिम्बूवान राज्य' उहिले इतिहासमा वर्णित सामन्ती लिम्बू राजाहरूको शैलीमा चलाउँन मिल्दैन । भनेको, अबको लिम्बूवान राज्य पनि लोकतान्त्रिक किसिमले संचालित हुनु पर्दछ । त्यो भनेको, लिम्बूवान राज्य संचालनमा संलग्न हुने हरेक लिम्बू वा गैरलिम्बू भित्रको सँस्कार फेरिएको हुनु पर्दछ । यो साँस्कृतिक क्रान्तिको बारेमा त अहिले कसैले ध्यानै दिएको छैन । त्यसैले नयाँ नेपालको निर्माणको अभियानले निकै बांगोटिंगो बाटाहरूबाट गुज्रिनु पर्ने देखिरहेको छु । त्यसो त परिवर्तन मात्र जिन्दगीको एक नित्य स्वरुप हो । फरक के मात्र हो भने यथास्थितिवादीको हात परे देशले ढीलो मुहार फेर्ने छ र अग्रगामीहरूको नेतृत्व स्थापित भए छिट्टै मुलुकका जनताको कल्याण हुनेछ । रह्यो हाल म के गर्दै छु भन्ने प्रश्न । एक कविको नाताले कविता लेख्छु । 'कवि हुनु भनेको आजिवन प्रतिपक्षमा बस्नु हो' भन्ने विश्वासका साथ कविता लेख्दा सत्ताको भ्यात्ते कुर्सिमा पुगेका र संसारभरि भद्दा दादागिरी गर्नेहरूको बिरुद्ध झापडका रुपमा कवितहरू लेखिरहेछु । एनजीओप्लाष्टी गरिसकेको मुटुलाई स्याहारसंभार गर्छु । डाक्टरकै सल्लाह मुताविक मन परेका मानिस भेट्ने र मनपरेकै स-साना कामहरू पनि गर्छु । एक अंतिम कविता संग्रह एक वा दुइ वर्षभित्र प्रकाशित गर्ने योजना बनाएर तैयारी पनि गर्दैछु । केही गंभीर पुस्तकहरू (नेपालीमा निस्केका चार वेदहरू, गीता र अंग्रेजीमा प्रकाशित The Tibetan Book of Living and Dying ) पढदैछु ।

२. जनआनदोलन भाग २ पछाडी लिम्वूवानका लिम्वूहरुले लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि आफ्नो माग अघि सारेका छन् यसलाई कतिको जायज ठहर्याउनु हुन्छ ?

महा सामन्त पृथ्वीनारायण शाहले लिम्बूहरूलाई झुक्याएर लिम्बूवान कब्जा गरे । त्यसैदिनदेखि लिम्बूहरु आफ्नो छुट्टै राज्य स्थापनाको लँडाइमा कुनै न कुनै रुपमा लाग्दै आएका हुन् । अर्का महासामन्त राजा महेन्द्रले 'किपट' पनि खोसेर लिम्बू समाजको आर्थिक पक्ष तहसनहस गरेको कुरा सबैलाई ज्ञात भएकै कुरा हो । त्यसपछि बनेका 'प्रजातान्त्रिक सरकार'हरू तीनै महासामन्तका 'सरकार' अर्थात हलि-गोठालो भएकाले उनै महासामन्तले अह्राए-खटाए बमोजिम जनजातीहरूको सवाललाई छेउ लगाउँदै आए । फलस्वरुप जनआन्दोलन भाग - २ पछिको नेपालमा संगठीत रुपमै 'लिम्बूवान' स्थापनाको सवालले आन्दोलनको रुप लिईसकेको छ । नेपाल सरकारले सहीछाप गरेका सम्पूर्ण अन्तर्राष्ट्रिय सन्धीहरूका आधारमा हेरे पनि वा जनजातीहरूको मानव अधिकारको कुरालाई हेरे पनि वा प्राकृतिक न्यायको दृष्टिले हेरे पनि वा समुन्नत मुलुकको निर्माण गर्ने कुरालाई आधार माने पनि यो आन्दोलन सही छ र २५०% जायज छ ।

३ तपाईले आफ्नो कविताहरुमा लिम्वूवानका कुराहरु उठाई रहनु भएको छ त्यसैले अव नेपाली साहित्यमा लिम्वूवानको विषयलाई कुन रुपले लेखे राम्रो हुन्छ होला ?

नेपाली साहित्यमा प्रकट हुनु पर्ने लिम्बूवानको राजनैतिक विषय र भाषा, साहित्य तथा सँस्कृती आदि एकार्कामा सम्बन्धित हुने भए पनि यिनलाई पृथक पृथक किसिमले लिनु र लेख्नु पर्दछ भनि ठान्दछु । अर्थात, राजनैतिक पक्षको कुरा गर्दा राज्यको पुन:संरचनाको सिलसिलामा लिम्बुवानका ऐतिहासिक सामाजिक पक्षहरू, जनजातीका अधिकारका पक्षहरू आदि लेखिनु पर्दछ । नेपाली साहित्यमा लिम्बू र लिम्बूवानको कुरा गर्दा कविता, गीत, गजल आदिमा लिम्बू बिम्व, लिम्बू मिथक र लिम्बूहरूको हक र अधिकारका विषयलाई समेटेर लेख्नु पर्दछ । त्यसै गरी नेपालीमा कथा, निबन्ध, उपन्यास, खण्डकाव्य, महाकाव्य सृजान गर्दा पनि लिम्बूवानकै विषय वा जीवनलाई साहित्यको ढुकढुकी बनाएर लेख्नु पर्दछ । जस्तो कि रविन्द्र नाथ टेगोरले बंगाली समाजको 'गिताञ्जली' लेखेर नोवेल पुरस्कारै पाए । 'गिताञ्जली'को धरातल बंगाली समाज नै हो तर संसारमा त्यो 'भारतीय साहित्य'कै रुपमा चिनिन्छ । त्यस्तै लिम्बू धरातलको राम्रो उपन्यास सृजना गर्न सके दुनियाले त त्यसलाई 'नेपाली उपन्यास' नै भन्नेछ । तर यथार्थ के हो भने त्यो 'लिम्बू नेपाली' हो । यस्ता कुरा बहुभाषिक, बहु-धार्मिक, बहु-साँस्कृतिक समाजका मानिसले बुझ्दछन् तर Mono-lingual, mono-cultured, mono-religious वा सँस्कृती, सँस्कार र धर्मलाई हेला गर्ने मानिसलाई complex लाग्छ र बुझ्न महा कठीन हुन्छ ।

४. राज्यको तर्फबाट अस्ति एक पटक लिम्वूवानका नेता कार्यकर्ता संग लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि वार्तामा बोलायो तर सफल भएन यसलाई कुन रुपले हेर्नु भएको छ - के अब पुन वार्ता हुन आवश्यक छैन र ?

वार्ता सफल पार्नको लागी बोलाएकै होइन अनि कहाँबाट सफल होस् ? तथापी वार्तामा बोलाउँनु भनेको सरकार लिम्बूवानको आन्दोलनलाई मान्यता दिन बाध्य भएको पक्कै हो । तर, वार्तामा बोलाउँनु एउटा ट्याक्टिस हो तर वार्ता सफल हुनु वा नहुनु भन्ने कुरा अलग सिकाईहरु हुन् । पहिलो चोटीकै वार्तामा सफलता पाइहालिन्छ भनेर अपेक्षा गर्नु पनि 'अतिवादी' सोच हो । वार्ताको सफलता आन्दोलनको रणनैतिक शसक्ततामा निर्भर रहन्छ । विभिन्न किसिमका आन्दोलनले प्रचुर दवाब दिएकै बेला पनि सरकारले वार्तामा बोलाएर सबैभन्दा पहिले फकाई फुल्याई 'आफ्नो अडान छोड, हामीले भनेको मान' भनि सम्झाउँने गर्छन् । साथै 'लिम्बूवान'को कुरा गर्नेहरु कत्तिको पानीमा छन् भनि छाम्न खोज्छन् । अर्थात, वार्ता पनि आन्दोलनकै एउटा कडी हो । आन्दोलन–वार्ता–आन्दोलन–वार्ता हुँदै कुनै न कुनै दिन सम्झौतामा पुगिन्छ । सम्झौतामा पनि जो चतुर छ उसैले धेरै उपलब्धी हासिल गर्छ । सम्झौता राम्रै भएपनि त्यसको कार्यान्वयनको लागि फेरि सरकारी पक्षले आलेटाले गर्ने गर्दछ । त्यसपछि फेरि फरक किसिमको आन्दोलन गर्नु पर्ने हुन्छ । अर्थात मानव सभ्यताको ईतिहासमा बाठोले लाटोलाई झुक्याएरै खाएको छ । तसर्थ लिम्बूवान प्राप्तिको लागि लामोभन्दा लामो र पेचिलो संघर्षको लागि पनि तैयार भएर संघठीत रुपमा लाग्नुको विकल्प छैन ।

५. तपाई लिम्वूवान स्वायत राज्य पुन स्थापना हुन्छ भन्ने कुरामा कतिको आशावादी हुनुहुन्छ ?

लिम्बूवान राज्य पुन: स्थापनाका सवालमा ससंकित हुनेहरूको तर्क 'लिम्बूवान अर्कै देश भएर जान खोजेजस्तो छ' भन्ने हो । तर त्यो होइन । लिम्बूवान पनि नेपालभित्रै आत्मनिर्णयको अधिकार सहितको संघीय प्रणाली अन्तर्गत रहने हो । त्यो भनेको रक्षा, मुद्रा, परराष्ट्र र केही राष्ट्रिय सवाल मात्र केन्द्र सरकारले हेर्ने र राज्य संचालनका बाँकी सबै कामकुरा लिम्बूवान राज्य सरकारले हेर्ने प्रणालीको कुरा हो । यही हो रोजेको संघीयता । यति पनि नहुने किसिमको संघीय प्रणाली नेपालजस्तो मुलुकमा कसैलाई चाहिएको छैन । यी र यस्ता कुराहरु भन्न, सुन्न र सुनाउँन थालेको कति नै भयो र ? तथापी यसले राष्ट्रिय बहसको रुप लिईसकेकोछ । हामी लिम्बूहरू कसरी बस्न चाहान्छौँ भन्ने कुरा हामीले भन्ने हो । अरु कसैले लादेको प्रणालीले २५० वर्ष सम्म हामीलाई कुण्ठित बनाएर राखिसक्यो जसले गर्दा हाम्रो भाषा-सँस्कृती र पहिचानलाई कमजोर तुल्ययो भने अब पनि कसैको तजविजी राज्य संचालनको प्रणाली स्वीकार्य हुने कुरे भएन । २१सौँ सताब्दीमा पनि आफ्नो अधिकार नलिई कसले छोड्छ र ? त्यसैले लिम्बूवानको प्राप्ती हुनेमा म आशावादी मात्र होइन विस्वस्त छु । यो प्राप्ति छिटटै पनि हुन सक्छ वा लामो समयपछि मात्र पनि प्राप्त हुन सक्छ ।

६. लिम्वूवानमा झण्डै एक दर्जन लिम्वू राजनैतिक पार्टीहरु सक्रिय रुपमा देखिएका छन् अब यी राजनैतिक पार्टीहरुले कस्तो रणनिति अपनाए राम्रो होला तपाईको व्यक्तिगत सुझाव के छ ?

लिम्बूवानको एउटै सवाललाई लिएर थुप्रै पार्टी खुल्नु भन्ने कुराले केही कुराहरू संकेत गर्दछ । जस्तै: लिम्बूवानमा सबैले विश्वास गरेको सर्वमान्य नेता वा व्यक्तित्व (जस्तै भारतमा गान्धी र दक्षिण अफ्रिकामा नेल्शन मण्डेला) नहुनु वा लिम्बूवानको सवाललाई अलमलामा पार्ने नियत सहित कतैबाट संचालितहरूले बेलैमा 'दोकान' खोल्नु आदि । अब यी पार्टीहरूमध्ये को सबैको विश्वासिलो हुने ? भन्ने कुरा पनि आन्दोलनकै लामो प्रकृयाले खारेर स्थापित गर्ने कुरा हो । र, को कसले के कस्तो नियत राखेर पार्टी खोलेको रहेछ भन्ने कुरा पनि आन्दोलनकै दौरानमा चिनिँदै जाने कुरा हो । अर्को कुरा फरक-फरक पार्टी मार्फत योगदान गर्ने सम्भावना पनि रहन्छ । जे सुकै भए पनि मिल्ने/मिल्ने पार्टीहरूले संयुक्त आन्दोलन गर्न सक्छन् । आन्दोलनकै कार्यगत सहकार्यले एकअर्कालाई चिन्ने मौका पाइन्छ र कुनै चरणमा उद्देश्य मिल्ने पार्टीहरूले एक पार्टीमा विलय हुने संभावना रहन्छ । तसर्थ अहिलेलाई पार्टीहरूले एक्लाएक्लै वा संयुक्त आन्दोलन गर्ने कुरा प्रमुख हुनजान्छ । लिम्बूवानका निम्ती संघर्षै नगरेर चुपचाप बस्ने पार्टी त एकदिन आफैले मैदान खालिगरिहाल्छ । लिम्बुवानका निम्ती रणनैतिक किसिमले चल्ने कुरामा युद्द र आन्दोलनका नियमहरूलाईमान्नु पर्ने हुनछ् । लिम्बूवान प्राप्तीको युद्ध वा आन्दोलन अमेरिकाले इराकलाई ध्वस्तै गरेर तेल कब्जा गर्ने तथा कसैलाई फाँसीमै झण्ड्याउँने उद्देश्यको वा ग्यासको निम्ती अफगानिस्थान कब्जा गर्ने उद्देश्य राखेर थालेको युद्ध वा आन्दोलन होइन । यो त बरु दवाब सृजना गर्ने-वार्तामा जाने र कुरा नमिले फेरि दवाब सृजना गर्ने र फेरि वार्तामा जाने किसिमको आन्दोलन हो । रणनैतिक किसिमले हेर्दा यो मुलत: शान्तिपूर्ण आन्दोलन नै हुनु पर्दछ । तर नेपाल सरकारले मारेरै सिध्याउँन चाहेमा वा सेना परिचालन गरेरै पेलेर लिम्बूवानको सवाललाई निमिट्यान पार्ने रणनीति अपनाएमा लिम्बूवानका निम्ती लड्नेहरूले 'जस्तालाई त्यस्तै'को रणनीति अपनाउँनु पर्ने हुन्छ ।

७. लिम्वूवानको मागलाई लिम्वूहरुले अगाडी बढाउदा राज्यले मुलुम विखण्डन तिर धकेलेको भनेर आरोप लगाउने गरेको पाईन्छ के जातिय स्वायत राज्य स्थापना गर्दा देश विखण्डित हुन्छ र ?

अन्तरिम संविधानले 'संघीय' प्रणालीमा मुलुकलाई पुन:संरचना गर्ने भनि सकेपछि संघीयताको स्वरुपका बारेमा लिम्बूवान, खम्बुवान, थारुहट, मिथिला, तामाङसालिङ, नेवा राज्य आदि हुनु पर्छ भनि प्रस्ताब अघि सार्दा कसैले 'बिखण्डनवादी ' भन्छ भने त्यो मानिसको मुख नै बिखण्डनकारी हो । त्यस्तो लेख्नेको कलम नै विखण्डनकारी हो । त्यस्तो सोच्नेको नियत नै विखण्डनकारी हो र संविधान विरोधी पनि हो । त्यस्तो मानिस समग्रमा नेपालका सबै जातजाती समतामूलक किसिमले मिलेर बस्न हुन्न भनि ठान्ने नेपाली समाज विरोधी खतरनाक भँडुवा तत्व हो । भारतमा पंजाबीहरूको संख्या धेरै भएको ठाउँलाई पंजाब, बंगालीहरू धेरै भएको ठाउँलाई बंगाल, नाँगाहरू धेरै भएको ठाउँलाई नागाल्याण्ड भनेर राज्यहरूको नामाकरण गर्दा खोइ के विखण्डन आएकोछ ? त्यसो गर्दा झन उनीहरूको भारतप्रतिको देशभक्ती शसक्त भएको देखिन्छ । अहिले कुनै पनि पंजाबी वा बंगाली आफू पंजाबी वा बांलीका हुनुकासाथै भारतीय समेत भएकोमा गर्व गर्दछ । बरु जातजातीको पहिचान बोक्ने गरी राज्यको नाम राख्न नदिँदा रगतको खोला बगेको थुप्रै उदाहरण पाइन्छन् । किनभने आफ्नो पहिचान भनेको मानिसका निम्ती रगतजत्तिकै प्यारो हुने गर्दछ ।

८ विश्वका अन्य देशहरुमा जातिय स्वायत राज्य भएको उदाहरणहरु थुप्रै छन् हाल आएर नेपालमा पनि जातिय पहिचान देशको हरेक तह र ताप्कामा समावेशीरुपले प्रतिनिधित्व साथै जातिय स्वायत राज्य खोज्नु जायज हैन र ?
जातिय पहिचान सहित हरेक तह र तप्कामा समावेशीकरण सरकारले गर्दै लैजानु पर्दछ । यो न्यायसंगत कुरा हो । यदि कसैले नेपालका जातजातीहरूले आफ्नो पहिचान सबै विर्सेर निरपेक्ष रुपमा 'नेपाली' मात्र हुनु पर्दछ भन्दछ भने त्यो मानिसले नेपालको जातिगत विविधता नबुझेको ठहर्दछ । त्यस्तो अज्ञानी मानिसलाई नेपाली समाजशास्त्रको ठूलो वर्णमाला पढने सल्लाह बेलैमा दिनु पर्दछ ।मानिसले बोलेपछि 'व्याकरण' लेखिन्छ । जनताले इच्छा (आन्दोलन मार्फत) जाहेर गरेपछि त्यसै मुताबिक समाज संचालन तथा व्यवस्थित गर्नका निम्ती ऐन कानुन बनाइन्छन् । अर्थात, पहिले व्याकरण बनाएर भाषा बोलिन्न । पहिले संविधान बनाएर त्यसै अनुसार जनता चल्नु पर्ने भन्ने हुँदैन । त्यो गरेमा उल्टो कुरा हुनजान्छ । मुसलमानहरूले हामी छुट्टिएर पाकिस्तान बनाउँछौँ भने चाहन गरे र बनाएर छोडे । बांग्ला देश बनाउँछौँ भनेर लाग्नेहरूले पूर्वि पाकिस्तानलाई बांग्ला देश बनाएर छोडे । अब लिम्बूवान, खम्बूवान राज्य हामीलाई चाहियो भन्न थालिएकोछ भने त्यो नेपालकै एक राज्यका रुपमा राख्दा के बिग्रन्छ ? बरु त्यसो नगर्ने हो भने – छुट्टै राज्य मात्र होईन हमीलाई यो नेपालमा टिक्नै नसक्ने गरि हेपियो त्यसकारण छुट्टै देश बनाउँछौँ भन्ने भावना बढ्न सक्छ । त्यसैले होसियारी पूर्वक बेलैमा लिम्बूवानको सवाललाई ठीकढंगले सम्बोधन गरियोस् । पछि गएर यसले अर्कै रुप लिए त्यसको जिम्मेदार नेपाल सरकार नै हुनेछ ।

९.अन्य जातिय राज्यहरु भन्दा लिम्वूवानलाई प्रवल दावेदार राज्यको रुपमा लिने गरीन्छ वि.सं.१८३१को लालमाहर समेत खारेजी नभएको भन्ने कुरा पनि छ । यस आधार लिने हो भने लिम्वूवान कानुनी रुपमा अझै देखिन्छ । यो इतिहासको आधारहरु कसरी मुल्याङ्कन गर्ने गर्नु भएको छ ?
ऐतिहासिक रुपमा हेर्दा लिम्बूहरूले छुट्टै राज्यको कुरा गरेको ज्यादै स्वाभाविक देखिन्छ । किनभने लिम्बूहरूको छुट्टै राज्य थियो जसलाई झुक्याएर पृथ्वीनारायण शाहले नेपालमा विलय गराए । लिम्बूवान नेपालमा विलय हुँदा सन्धी-सम्झौता गरि लिम्बूलाई दिईएका अधिकार र कर्तब्यका बुँदाहरू पछि कहिलेपनि संसोधन गरेको पाइँदैन । महासामन्त राजा महेन्द्रले किपट खोस्न लाग्दा आएको लिम्बूवान डेलिगेशनलाई पनि 'राष्ट्रिय पंचायत मार्फत तिमीहरूको कुरा अघि बढाउनु पर्छ । राष्ट्रिय पंचायतले ठीक छ भनेको कुरा मैले त लालमोहर लगाइदिने मात्र हो' भन्नेजस्ता कुरा गरेर फेरि लिम्बूहरूलाई चिप्ल्याइदिए । अर्थात १८३१को संधी (लालमोहर)लाई पछि कुनै राजाले वा सरकारले संसोधनै नगरी झुक्याउँदै, पेल्दै ल्याएको मात्र देखिन्छ । अर्थात नेपालका सबै राजा र सरकारहरूले छलेर, झुक्याएर लिम्बूवानलाई कब्जा गर्दै आएको प्रष्ट छ । भनेपछि, नेपालका सबै राजाहरु र तिनका सरकारहरू लिम्बूहरूका निम्ती साम्राज्यवादी, विस्तारवादी, मिचाहा, अन्यायी तथा डकैत, लुटेरा सबथोक हुन् । तीनले लिम्बूवानको जल, जमिन, जंगल सबै लुटेकाछन् । त्यसैले अब लिम्बूवानको लडाइँको एउटा स्वरुप ऐतिहासिक तथ्यहरूका आधारमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा मुद्दा हाल्ने पनि एउटा रणनीति हुनसक्ने सम्भावना देखिन्छ । अर्थात अब राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार, नैतिकता, लोकतान्त्रिक तथा जनमत आदि अनेक फ्रनटबाट लिम्बूवानको आन्दोलन अघि बढनु पर्दछ ।
१०.यस ब्लगसाइट मार्फ सम्पूर्ण लिम्वूहरुलाई आफ्नो सल्लाह सुझाव केहि दिन चाहानु हुन्छ कि ?
म लिम्बूवान ब्लगका संचालक र पाठकहरू दुबै पक्षलाई केही अपील गर्दछु:
१. लिम्बूवान ब्लग सन्सारभरका लिम्बू लगायत जनजाती आन्दोलनप्रति सकारात्मक भाव राख्ने मानिसहरूले पढ्ने नेट-पत्रिका हो । यस ब्लगका संचालकहरूले अब बिस्तारै लिम्बुवान तथा लिम्बू भाषा, लिपी, सँस्कृती, साहित्य, कला, गीत-संगीत, इतिहास, राजनीति आदि क्षेत्रमा गंभिर वौद्धिक खुराक दिने किसिमले सोचोस् भन्ने सुझाव छ । जस्तै – लिम्बू भाषा शास्त्र, सँस्कृती, इतिहास, लिपी, मुन्धुम, खानपीन, भेषभुसा र गरगहना, लिम्बू समाजको अर्थशास्त्र, राजनित, लिम्बु समाजको रितिथिती, लिम्बूहरुको अवस्था आदि पक्षमा अनुसन्धानात्मक लेखहरू तथा लिम्बू कविता, गीत-संगीत, कथा, निवन्ध, उपन्यासजस्ता सृजनात्मक साहित्यहरू आदि । अर्थात ब्लगले विस्तारै लिम्बू जातीका गंभीर सवालहरूलाई प्रचार प्रसार गर्नु र अभिलेख राख्ने र प्रकाशन समेत गर्नु पर्दछ । यसका निम्ती संसारभरका लिम्बूहरूसँग सञ्जाल स्थापित गर्न सकिन्छ । अझ लिम्बूहरूको छुट्टै लिम्बू 'डायस्पोरा' निर्माण गरेर जाने बेला पनि आइसकेकोछ । किनभने अब त लिम्बूहरू भारत, वर्मा, अमेरिका, बेलायत, क्यानाडा, रूष, जापान, कोरिया, अष्ट्रेलिया, हङकङ, न्यूजिल्याण्ड जस्ता प्रमुख मुलुकका राजधानीहरू लगायत संसारभर फैलिसकेका छन् । अब पूर्वी नेपालको ८/९ जिल्लाका लिम्बूहरूलाई मात्र हेरेर लिम्बूवान सोच्नु हुन्न । किनभने लिम्बूवानमा बसोबास गर्नेदेखि दुनियाभर छरिएर रहेका लिम्बू जातीलाई सँस्कार दिनु पर्ने जिम्मेवारी छ र लिम्बूहरूलाई संसारको जहाँ पनि गरिखान सक्ने क्षमतावान हुनको लागी पनि पथ प्रदर्शन गर्नु छ ।
२. पाठक महानुभावहरूलाई मैले भन्न चाहेका कुरा:
नेपाल, इतिहासको एक विशेष घडीमा 'लिम्बूवान' निर्माणका निम्ती लिम्बूहरु आफुले सक्दो योगदान गर्न जुटेका छन् । आफ्नै 'लिम्बूवान'को नाम 'लिम्बूवान राज्य' राखेर राज्यको पु:संरचना होस् भन्ने आवाज उठाउँदा लिम्बूहूरूलाई नेपाल सरकारले गोली हानेर मार्न थालिसक्यो । एकजना होनहार लिम्बू यूवा 'लिम्बूवान'कै निम्ती शहीद पनि भइसके । 'लिम्बुवान राज्य स्थापना' अब लिम्बूहरूको जातीय दीर्घकालिन सोच (Vision) हो जसको निम्ती अझै बलिदान गर्न परेपनि लिम्बूहरु पछि हट्ने कुरै भएन । यो क्रान्ति लामो होला कि सजिलै टुंगोमा पुग्ला ? धेरै रगत नखाने नेपाल सरकारको मनसाय भए 'लिम्बूवान राज्य' हासिल गर्ने क्रान्ति छिट्टै सफल होला । सरकारलाई लिम्बूहरूको धेरै रगत पिउँने नीति लिए यो क्रान्तिले केही दशक समय पनि सक्ला । जस्तो कि क्यानाडाको क्युवेक सवाल र युकेको आयरल्याण्डको सवालले धेरै समय लिईसकेकाछन् र पनि फैसला हुने सकेको छैन । लिम्बूवानको आन्दोलन शान्तिपूर्ण रुपमा सफल होला वा यसले हिंसात्मक चरणहरूबाट समेत गुज्रनु पर्ला ? केही भन्न सकिन्न । यसकिसिमको चुनौतीपूर्ण ऐतिहासिक चरणमा 'लिम्बुवान राज्य' प्राप्तीका निम्ती सक्दो योगदान पु-याउँन कोही पनि लिम्बु-लिम्बूनी अब पछि नपरौँ । मुलुकको इतिहासमा 'संविधानसभाको चुनाव' पटकपटक आउँदैन । अहिले त्यो आउलाजस्तो छ र फलाम तातिएको बेला नै हन्न सकेन भने पछि कसैले जितेकोमा 'जितौरी' माग्ने नालायक मात्र भइन्छ । तसर्थ म सारा लिम्बू र लिम्बुवान (सैद्धान्तिक रुपमा संघिय प्रणाली मान्ने) राज्य हुनु पर्दछ भनि सहमत हुने सबैमा अह्वान गर्दछु कि आर्थिक रुपमा, भौतिक रुपमा, वौद्धिक रुपमा, नैतिक रुपमा वा अन्य कुनै पनि किसिमले 'लिम्बूवान राज्य' हासिल गर्ने आन्दोलनलाई मद्दत गरौँ ।
सहयोग कसरी गर्न सकिन्छ?
सहयोगका रुपमा कसैले कम्प्यूटर दिन सक्नु होला, कसैले फ्याक्स मेसिन दिन सक्नु होला, कसैले इन्टरनेटको शुल्क तिरिदिन सक्नु होला, कसैले वेवपेज संचालन गरिदिन सक्नु होला, कसैले पर्चा छापिदिन सक्नु होला, कसैले अफिस संचालनमा चाहिने मसलंद (कागज कलम) वा अन्य सामग्री दिन सक्नु होला, कसैले छ महिना वा एक वर्षका लागि अफिसको भाडा तिरिदिन सक्नु होला, कसैले जेथा सक्दो मैनावारी पैसा नै दिन सक्नु होला, कसैले साइकल वा मोटरसाइकल दिन सक्नु होला, कसैले आन्दोलन चलेको बेला कार्यकर्तालाई चाहिने एक हप्ताको खर्च बेहोर्न सक्नु होला, कसैले लेख लेखेर पत्रिकामा छाप्न सक्नु होला, कसैले लिम्बूवानका कार्यकर्तालाई चाहिने लत्ता-कपडा-जुत्ता किनिदिन सक्नु होला, कसैले आवश्यक पुस्तकहरू किनिदिन सक्नु होला, कसैले गीत लेखेर वा कविता लेखेर वा गीत गाएर वा किताब लेखेर वा कतै बोलेर वा भाषण गरेर वा जे जस्तो सक्छु जस्तो लाग्छ त्यस्तै गरेर सघाउँने बेला आएकोछ । लिम्बूवानका लागि योगदान भन्नोस् या बलिदान भन्नोस् आफ्नो तर्फबाट केहि न केही गर्ने मौका आएकोछ । यस्तो मौका बेला ढलेपछि फेरि आउँदैन । 'लिम्बूवान राज्य'को आन्दोलनले एक न एक दिन त जित्छ नै । अब जो जो लिम्बूवान राज्य हुनु पर्दछ भन्ने कुराको को पक्षमा छन् ती हाम्रा मित्र हुन् । बाँकी कुरामा छलफल गर्न सक्छौँ हामी तर लिम्बूवान प्राप्तिका विरुद्धमा उभिएको ढुँगा मुढालाई पनि चक्नाचुर चिरेर अघि बढने बेला आएकोछ । हारे ज्यान जाल (एकदिन त जो पनि मर्छ नै) तर जितेको दिन आफ्नै 'लिम्बुवान राज्य' हुनेछ । जितबाजीको दिन लिम्बूवानको लागि मैले जिन्दगीमा केही गर्न सकिन भनेर लाज-सरमले कुनै पनि याकथुङबा/याकथुङमाहरूले शिर झुकाउँनु नपरोस् । त्यसरी तपाइँको शिर झुक्दा तपाइँका दरसन्तानहरू समेत हिनताबोधले ग्रस्त हुनेछन् । लिम्बूवानका निम्ती केही गर्न नसकेर झुकेको शिरलाई फेदाङमाले 'माङगेन्ना' गरेर लुम्बाका लुम्बा रातो भालेको आलो रगत पिलाए पनि 'शिर' ठाडो हुने छैन ।

No comments:

Post a Comment