Jun 2, 2012

संसारभरि फैलिएको यौन व्यवसायको जालो

भारतका मुख्य सहर मुम्बई, दिल्ली, कोलकाता र बैंलोरमा प्रहरीले अभियानकै रूपमा विदेशी युवतीको संलग्नता रहेको सेक्स नेटवर्कलाई नियन्त्रणमा लिइरहेको छ । पक्राउ पर्नेमा जर्मन, रुसी, युक्रेनी र उज्बेकिस्तानका बढी हुने गर्छन् । संसारभरि संगठित गिरोहहरूले इन्टरनेट मार्फत यो व्यवसायलाई घरदैलो सेवाका रूप दिइसकेको हुनाले प्रहरीका लागि यसलाई नियन्त्रण गर्ने चुनौती बढेको छ । भारतीय पत्रपत्रिकामा मसाज, स्पा र घरेलु महिला कामदारको विज्ञापन दिएर हुँदै आएको यो व्यवसाय केही वर्षयता निकै आधुनिक भइसकेको छ । भारतीय प्रहरीले त छुट्टै एकाई गठन गरेर कारबाही अघि बढाउनुपरेको छ । दलाल मार्फत एक रातको २५ हजारदेखि १ लाख भारतीय रुपैयाँमा ग्राहकसम्म पुर्‍याइने यी युवतीहरू पर्यटकीय भिसामा आउने गर्छन् । उच्च सरकारी अधिकारीसम्म राम्रै पहुँच भएका केही विदेशी सुन्दरीले वर्षौंसम्म भिसा थप्दै देह व्यवसायलाई निरन्तरता दिइरहेको प्रहरी अनुसन्धानमा खुल्ने गर्छ । यो वर्ष मात्र त्यहाँ विदेशी यौनकर्मीको दसभन्दा बढी समूहको पहिचान गरेर प्रहरीले कारबाही गरिसकेको छ । माग अनुरूप केही समयको अन्तरालमा उनीहरू विश्वको जुनसुकै मुलुक पनि पुग्ने गरेको प्रहरीले जनाएको छ । ग्राहकले मागे अनुरूपको यौन सेवा दिन कुशल र प्रशिक्षित भएकाले यी विदेशी कन्याको माग एसियामा बढेको देखिन्छ । ग्राहक र कन्डम सहित पक्राउ नगरेसम्म पढेलेखेका र चलाख विदेशी यौनकर्मीले प्रहरीमाथि उल्टै मुद्दा हाल्ने सम्भावना रहने हुनाले प्रहरी पनि निकै सजग भएर अघि बढ्नुपरेको छ । उल्लेखनीय के छ भने, इन्टरनेट र बैंक खाता मार्फत सम्पूर्ण काम हुने हुँदा यौनकर्मी र दलालको भेटबिना व्यवसाय चलिरहेको हुन्छ । स्वेच्छाले यो पेसा गर्नेभन्दा पनि घर र फ्ल्याट भाडामा लिएर संगठित रूपमा यो पेसा गर्नेहरूलाई प्रहरीले बढी लक्षित गर्छ । कुनै एक गाउँ, समुदाय, गल्ली वा राजमार्गमा मात्र यो सीमित रहेन । बढ्दो यौन आकांक्षा र माग अनुरूप संसारभरि यौन सञ्जालको विस्तार भएको छ । बेबसाइट, सामाजिक सञ्जालको विस्तार र मोबाइलको असीमित सेवाले यो पेसालाई गति दिएको छ । अब यो सेवा कोठामै उपलब्ध हुन थालेको छ । दलालहरूले ग्राहक र यौनकर्मीबीच घनिष्टता र विश्वास सृजना गर्न यो पेसालाई 'सेक्स विथ फ्रेन्डसिप (मित्रताका साथ यौन) नाम दिन थालेका छन् । सन् २०११, डिसेम्बरको रेकर्ड अनुसार संसारभरि ३६ करोड ६८ लाख ४८ हजार ४ सय ९३ बेबसाइट छन् । तीमध्यै लाखौँ प्रेम, रोमान्स, डेटिङ र सेक्स सम्बन्धी वेबसाइटहरूले मान्छेको औंला र एक कलमा विदेशी यौनकर्मीसम्म पहुँच बनाइदिएको छ । धेरैले लुकीलुकी यी वेबसाइट मार्फत मित्रता गर्दै लुकेको आकांक्षा पूरा गरिरहेका हुन्छन् । गरिबी, बेरोजगारी र अध्ययन खर्च जुटाउनलाई यो पेसामा लाग्नेभन्दा रातारात कार चढ्ने र विलासी जीवन जिउन चाहने शिक्षित युवतीहरूले यो व्यवसायको आधुनिक स्वरूपलाई नेतृत्व दिइरहेका छन् । संसारभर विस्तारित यो नेटवर्कले घर र होटलका कोठासम्म कुनै पनि मुलुक र उमेरका यौनकर्मी उपलब्ध गराउन सक्ने भएका छन् । करिब डेढ वर्षअघि काठमाडौँमा नेपाल प्रहरीका डीएसपी कञ्चन थापाको आत्महत्यापछि पक्राउ परेकी एक युवतीबाट विभिन्न मुलुकसम्म तार जोडिएको यस्तै एक यौन गिरोह पत्ता लागेको थियो । यो गिरोह बसपार्क र ठमेलका मसाजमा काम गर्ने यौनकर्मी जस्ता थिएनन् । उनीहरू नेपालमा यो व्यवसायको आधुनिक रूपका प्रतिनिधिहरू हुन्, जो प्रहरी र समाजको आँखामा मुस्किलले पर्छन् । केन्द्रीय प्रहरीका एक अधिकारीका अनुसार अभिनय, मोडलिङ, स्पा र मसाजको आडमा भारत बाहेक खाडी मुलुकसम्म यो पेसा गर्ने २ सय हाई प्रोफाइल यौनकर्मीको पहिचान गरेको छ । ती महिलाले कसैले शंका गर्नै नमिल्ने उच्च वर्ग र घरानाका दर्जनभन्दा बढी युवती मार्फत भारत, थाइल्यान्ड र सिंगापुरसम्म यौनव्यवसाय चलाएको नेपाल प्रहरीले नै खुलासा गरेको थियो । उनको कोठाबाट ती महिलाहरूको तस्बिर समेत प्रहरीले बरामद गरेको थियो । भारतको कर्नाटक राज्यका पूर्वमन्त्री सुरेन्द्रसिंह राठौरसम्म उनको पहुँच थियो । उनले यही पेसाको आडमा राजधानीमा घर खडा गरेको र लाखौं बचत गरेकी थिइन् । यो पेसामा शक्ति, सत्ता, ग्ल्यामर र जालझेलको ठूलै चलखेल हुन्छ । हालै पूर्वी चीनको झेन्जियाङ प्रान्तको योङकाङ सहरमा नाबालिगलाई यौनव्यवसायमा लगाएको आरोपमा पक्राउ गरिएका ६ जना यसकै एक कडी हुन् । यो गिरोहसँग साँठगाँठ रहेको अभियोगमा एक जनप्रतिनिधि पक्राउ परे । यौन रोगको कमै जोखिम हुने १८ वर्षमुनिका यी चेलीहरूको ग्राहक ठूला व्यापारी थिए । अहिले अन्तर्राष्ट्रिय स्तरका खेल प्रतिस्पर्धाहरू र त्योसँग आयोजना हुने रेभ -नशा र सुन्दरीको मिश्रण) पार्टीमा मोडलिङ एवं अभिनयमा समेत दख्खल राख्ने हाई प्रोफाइल यौनकर्मीको माग संस्कृतिकै रूपमा विकसित भएको छ । भारतीय प्रहरीले हालैका दिनमा टिभी र सिल्भर स्त्रिmनका थुप्रै सेलिब्रेटीहरूलाई ग्राहकसँग होटेलको कोठा र पार्टीबाट नियन्त्रणमा लिनु सामान्य भएको छ । हुन त विश्वको थुपै्र मुलुकको सहरी क्षेत्रमा यौनव्यवसाय र योसँग सम्बद्ध अन्य व्यवसायहरू सेक्स सप, स्टि्रप क्लब, एडल्ट थिएटरले मान्यता पाइसकेको छ । संसारकै सबभन्दा यो प्राचीन व्यवसाय थाइल्यान्ड र एसियाका कतिपय मुलुकमा अघोषित रूपमा खुलेआम चलिरहेकै छन् । थुप्रै मुलुकका सरकारले दोहोरो नीतिका साथ यसलाई स्वीकार गरिरहेकै छ । भारत कोलकाताको सोनागाछीले एसियाकै सबभन्दा ठूलो यौनबजारको रूपमा चिनिन्छ । नेदरल्यान्डस्को डे बालेन र जर्मनीको रिपेरबानमा प्रशासनले यसलाई कानुनी मान्यता दिएको छ । उनीहरूले यसलाई नियन्त्रित देह व्यवसाय भन्छन् । यौन व्यवसायकै लागि छुट्टयाइएको यी स्थलहरूलाई संसारभरि 'रेड लाइट डिस्टि्रक्टस' भनिन्छ । इतिहासदेखि वर्तमानसम्म रेड लाइट भएको मुलुकहरूमा अफ्रिकाको घाना, आइभोरी कोस्ट, केन्या, दक्षिण अफ्रिका र युगान्डा छन् । यी क्षेत्रलाई सांकेतिक रूपमा अर्धनग्न प्राचीन मूर्ति र महिलाको खुट्टा समेत राखिएका हुन्छन् । त्यसैगरी एसियाको कम्बोडिया, चीन, हङकङ, भारत, इन्डोनेसिया, इरान, जापान, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान, फिलिपिन्स, सिंगापुर र भियतनाम पनि देह व्यवसाय हुने मुलुकको सूचीमा पर्छन् । युरोपमा अस्टि्रया, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, आयरल्यान्ड, नेदरल्यान्डस्, स्पेन, स्विटजरल्यान्ड, बेलायत, स्कटल्यान्ड र वेल्समा प्रशस्तै यौनमण्डी छन् । उत्तरी अमेरिका, क्यानाडा, मेक्सिको, अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, अर्जेन्टिना र ब्राजिलले यो पेसालाई स्वीकारेकै देखिन्छ । कतिपय मुलुकले यसलाई अवैधानिक भने पनि छुट दिएकै छ भने कतिपयले व्यक्तिगत रूपमा यो पेसा गर्ने अनुमति दिए पनि संगठित रूपमा वा वेश्याघर खोल्नुलाई वैधता दिएको छैन । माग बढेपछि आपूर्ति पनि बढ्छ । त्यही भएर मानव बेचबिखनलाई नियन्त्रित गर्न पश्चिमाहरूले पनि यो व्यवसायमा कडा निगरानी राख्ने गरेको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको मानव बेचबिखन हुने ११ मुलुकको सूचीको शीर्ष स्थानमा रोमानिया पर्छ । बजारमा दिनदिनै बढ्दो नयाँ यौनकर्मीको मागले गर्दा नाबालिगदेखि बालिग उमेरसम्मका हजारौं महिलालाई वर्षेनि अपहरण गर्ने, बिहे र राम्रो तलब आउने जागिरको प्रलोभनमा फसाएर रोमानियामा आपराधिक समूहलाई बेचिन्छ । त्यसपछि उनीहरूलाई कि त नाइट क्लब र वेश्यालयमा बन्द गरिन्छ वा गल्लीमा ग्राहक खोज्न पठाइन्छ । नेपाल जस्तो धेरै मुलुकको अवस्था लगभग यस्तै छ । (एजेन्सीहरूको सहयोगमा)