Oct 31, 2011

मेरो अनुभबमा घुस रकम र बिशेष प्रहरी बिभाग

जगत प्रसाद आचार्य (अधिवक्ता)
अध्यागमनका कर्मचारीले जस्तो चाह्यो त्यसरी मनोमानी ढंगले नक्कली नागरिकताबाट पासपोर्ट बनाउने देखि आबस्यक कागजात हुनेलाई पनि दुख दिन्छन र नहुनेलाई पनि पैसा लिएर उडाउने गर्दछन्, रातो पासपोर्ट दुरुपयोग गर्नेलाई भगाउछन् भने सोझा यात्रुलाई अनाबश्यक दुःख दिने गरेका घटनाहरु दिन प्रतिदिन बढ्दै छन् भने अन्य सरकारी कार्यालयहरु मालपोत, अन्तरिक राजस्ब कार्यालय, मूल्य अभिब्रिदी कर कार्यालय, भन्सार, उद्धोग सबैतिर घुस दिन पैसा चाहिन्छ त्यसको लागि पैसा छैन भनेमा पनि यहाँहरुलाई पैसा दिन तयार छ एउटा कार्यालय यस बारेमा मेरो एउटा अनुभब रहेको हुनाले सबैको जानकारीको लागि जानकारी होस् भन्ने सोची आज प्रस्तुत गर्दै छु / आज भन्दा १७ वर्ष अगाडीको कुरा हो म गाउ बाट काठमाडौँ आई नेपाल कमर्श क्याम्पस मिनभवनम बि कम अध्यन संग संगै काठमाडौँ गैरीधारा स्थित केदार बान्तवा राई प्यासिफिक ट्रावल एंड टुर्स र ट्रेक्किंग इन् नेपालको लेखा अधिकृतको रुपमा कार्य गर्ने अवसर पाएको थिए/ त्यहाँको कम्पनिको संचालक थपघट गर्ने सिलसिलामा मलाई कम्पनि रजिस्टर्डको कार्यालय त्रिपुरेस्बरबाट शरेधानी थपघट गर्ने र शेयर नामसारी गर्ने कामको पनि जिम्मेबारी दिईएको थियो त्यसले म उक्त कामको लागि सम्पूर्ण कागजात तयारी गरि कम्पनि रजिस्टर्डको कार्यालय त्रिपुरेस्बरमा निबेदन दर्ता गराई त्यस कार्यालयका ना.सु. केशब प्रसाद भण्डारीसंग केहि रकम दिई त्यो काम गरिदिन अनुरोध गरि निजले पनि म फायल हेर्छु हाकिम संग कुरा राक्छु भन्दै गर्दथिए दिनहरु धेरै गए अनि यो फायल अलिकति समस्या छ धेरै कागजात नपुग छ त्यसले गर्दा हाकिमले रु ३००० बिना टुंग्याउन सकिन्न भन्नु भएको छ तसर्थ पैसा थप गर्नुस भन्ने उत्तर दिनु भयो र अन्तत उक्त सिलसिलामा १ महिना सम्म धाउदा पनि त्यो कम्पनिको शेयर नामसारी लगत लिन अशफल भएपछि मलाई आफु काम गर्ने ट्राभलको संचालक बाट पनि प्रश्न आउन थाल्यो तिमीले १ महिना लगाएर पनि यति जाबो काम गराउन सक्दैनौ सबै तिर म आफै जानु पर्ने भएमा अब तिमीलाई राख्नुको के मतलब भयो त ? प्रश्नहरु आउन थाल्यो अनि मैले पनि अब यसरि हुन्न के गर्ने होला जागिर जाने अवस्था आयो भन्ने सोची काठमाडौँको सी. डि.ओ. लाई कुरा राख्नु पर्ला भनेर वबर महल स्थित काठमाडौँको सी.डि.ओ. पुगी तात्कालिक काठमाडौँको सी. डि.ओ. नबिन कुमार घिमिरे(हाल रक्षा सचिब) हुनुहुन्थ्यो उहालाई अलिकति मात्रै आफ्नो समस्या बताएको थिए तुरुन्तै यहाँबाट त केहि गर्न सकिदैन तल्लो तलामा जाउ र त्यहा फलाना लाई भेट गर्नु भन्दिनु भयो त्यसपछि त्यस मानिसलाई भेट गरे पश्चात निजले पनि हाम्रो अधिकार छेत्रमा यो पर्दैन र यहाँ बाट भन्न मिल्दैन र हामीले भने पनि गर्दैनन् त्यसले शिंह दरबार भित्र रहेको बिशेष प्रहरी बिभागमा जानु त्यहाँ जे जती रकम चाहिन्छ तिमीलाई दिन्छन अनि सो रकम लगेर त्यो पैसा माग्नेलाई दिनु आफ्नो काम गराउनु भनेर जानकारी दिए /
अब म खुशीहुदै सिंह दरबार तर्फ बढे किनकि यत्रो दिनमा काम गर्न नसकेर जागिर धरापमा परेको बेला ३००० मा काम गर्दिन्छु भनेको र ३००० दिने ठाउँ छ भनेर सुन्दा म सिंह दरबारको गेटबाट प्रवेश गरि बिशेष प्रहरी बिभागमा पुगे त्यहा पुगेर एक जना स्टाफलाई आफ्ना कुरा बताए निजले मलाई भित्र लगी हाकिमको अगाडी उपस्थित गराए र मेरो कुराहरु हाकिम संग राखी दिए अनि मलाई एउटा फर्म दिईएको थियो जसमा के कामको लागि चाहिएको रकम कति , आफ्नो नाम थर हस्ताक्षर लगायत कुराहरु भर्नु परेको थियो/ त्यसपछि मलाई २७०० रकम दिई त्यो नोटहरुको नम्बरहरु फर्ममा लेखि उल्लेखित नम्बरका नोटहरु बुझीलिए भनि हस्ताक्षर गराई मेरो साथमा १०/१२ जनाको टोलि सहित हामी कम्पनि रजिस्टर्डको कार्यालय त्रिपुरेस्बरमा लगभग २ बजे पुगेका थियौ/ त्यस टोलिका सम्पूर्ण सदस्यहरु छरिएर रहेका थिए भने २ जनाले मलाई नियाली रहेका थिए भने टोलि नेता यता उता कसैलाई भेट्न आएको तर भेट नभएर खोजेजसरी बाहिर भित्र र आफ्ना २ सदस्यहरुलाई नियाल्दै थिए यसै क्रममा म उक्त बिशेष प्रहरीको टोलि नेताको सल्लाह अनुसार उक्त घुस्याहा कर्मचारी सामु पुग्छु र निजलाई अभिबादन गर्दछु अनि सर ३००० त पुगेन २७०० मात्रै भयो के गरौ भनेको ल ल्याउनुस भन्यो अनि मैले बिशेष प्रहरी बिभागबाट प्राप्त सम्पूर्ण रकम निज ना. सु . केशब प्रसाद भण्डारीलाई जिम्मा दिई अब कति समय लाग्छ भन्दा २ घण्टा पछाडी आउनुस तयार गर्दिन्छु भनि अर्को काममा ब्यस्त भए अनि मैले पूर्व योजना अनुसार मेरो पछाडी भिरेको झोला खोलि दिए र लगतै उक्त बिशेष प्रहरी टोलि आई निजका दुवै हात टेबलमा थिची हामी बिशेष प्रहरीबाट भन्दा निजले बलिद्र धारा आशु र तुरुन्तै पेन्टमा पिसाब गर्दै आफ्नो २७ बर्षीय ना सु पदको अन्त गरेका थिए अनि निजको हाकिम शाखा अधिकृत नुर पति कडेललाई बोलाएर ,ल तपाइको स्टाफले यति यतिका नोट घुस लियेको छ तपाइको हातले यो स्टाफको पकेटबाट निकाल्नुस भनि निजबाट रकम निकाली नोट रुजु गर्दा हुबहु मिल्यो अनि उपस्थित सम्पूर्ण स्टाफ र बाहिरबाट देख्नेहरुलाई समेत साक्षी राखी निज भण्डारीलाई पक्राउ गरि लिएर जाने क्रममा बिशेष प्रहरीको प्रमुख, निज भण्डारी र म संगै गाडीमा परियो त्यसबेला उनीहरु २ को कुराहरु सुन्दा एकै गाउँका रहेछन त्यसले मलाई भन्नु पर्थ्यो नि भन्ने केशब प्र भण्डारी को भनाइ र बिशेष प्रहरी टोलि प्रमुखले मलाई तेत्रो पटक यता उता हिडेर हेल्लो हाई गर्दै हिडे पछि तपाइले पनि अलिकति सतर्क रहनु पर्थ्यो नि भन्ने २ जना बीच आरोप प्रत्यारोप भएको थियो /
त्यसै दिन तत्कालिन कार्यबाहक रजिस्ट्रार सीता प्रसाद पोखेरेलले मेरो ट्राभलको फायल हेरी सम्पूर्ण कागजात र प्रक्रिया पुरा भएकोले गर्दा आफ्नो माग अनुसारको शेयर लगत लाग्न खबर गर्नु भएको थियो र आईन्दा यस्तो नगर्न अनुरोध गर्दै कुनै समस्या भएमा आफु समक्ष ल्याउन सल्लाह दिनु भएको थियो भने निज घुश्याहा केशब प्रशाद भण्डारीले २ दिन हनुमान ढोकाको कारागारमा बसी धरौटीमा छुटे लगतै आफ्नो २७ बर्षीय जागिरको बचाउको लागि मैले काम गर्ने अफिशको संचालक केदार बान्तवा राई लाई समेत सहमत गराई मैले आबेगमा आई यस्तो गरेको हो वास्तबमा केशब भण्डारीले त्यस्तो गरेको हैन भन्ने व्यहारको पत्र हुलाक बाट पठाई दिएमा रु ५ लाख दिने सम्म आस्वासन दिएको थियो त्यसमा मैले बरु तपाइको जागिर चाहिन्न केदार सर म मेरो निर्णयमा परिबर्तन गर्दिन पैसामा म बिक्दीन भन्ने उत्तर दियेको थिए/ यो योजना असफल भएपछि मलाई पटक पटक कहिले म सन्त बहादुर राई लोक सेबा आयोगबाट हो किन त्यो केशब लाई यसो गरेको तुरुन्तै यो यो गर्नुस नत्र भन्ने अफिसमा कल आउथ्यो त कहिले अरु नाम बाट तर मैले कहिले पनि कसै संग झुकिन बरु २ पटक त निजको पेसी पुनराबेदन पाटन अदालतमा गएर सत्य तथ्य भन्नु पर्दा यो मानिसले घुसखोर हो त्यसले मैले निजको बिरुद्ध यसरि कदम चलाएको हु भनि बयान दियेको थिए /
त्यस घटना संगै मलाई पनि कानुन पढ्ने इच्छा भयो र मैले बि. एल. पढ्न सुरु गरि अधिवक्ता बन्न सफल भए त्यस पश्चात मात्र म त्यो कम्पनि रजिस्टर्ड कार्यालयमा पाइला टेक्न थाले त्यसपछि त्यहाँका रजिस्ट्रार, उपसचिव, शाखा अधिकृत, ना. सु. , खरदार लगायत सम्पूर्ण व्यक्तिहरुबाट सहयोग र हेल्लो हाई लगायत बिगतमा तपाई प्रति अन्यायनै गरेको थियो केशब प्र भण्डारीले भन्ने आवाजहरु ब्यक्त गर्दथिए / अब म विदेश आएको पनि चार वर्ष माथि भई सक्यो कुनै न्यायधिशले पैसा खाएर फैसला नगरिदियेको भयेमा पक्कै पनि अहिले सम्ममा त्यो घुस्खोर्को मुद्दामा निजको हार भई २७ बर्षीय नोकरीको अन्त भएर अन्य कर्मचारीहरुलाई पनि घुष सम्बन्धमा केशब प्र भण्डारी काण्डबाट शिक्षा हाशिल होस् र घुस दिन पैसा नहुनेहरुलाई पनि शिंह दरबार भित्र रहेको बिशेष प्रहरी बिभागमा सम्पर्क गरि आफुले चाहेजति रकम प्राप्त गरि घुसखोरको अन्त गर्न सफल हुनुहोस भन्ने सोची आफ्नो अनुभब प्रस्तुत गरेको छु / धन्यवाद !!!
(हाल दुबई युएई)

Oct 14, 2011

लिम्वुको उमेरद्वारी नेपाली गौरव र उनको प्रोफाईल

दिल पालुङवा लिम्वु नेपालकुश्शा
आगामी ६ नोभेम्वर २०११को दिन सम्पन्न हुन गईरहेको डिस्ट्रिक्ट काउन्सीलको चुनावमा जोर्डन वेस्ट क्षेत्रवाट मेजर शरण कुमार लिम्वुले उमेरद्वारी दिनु भएको छ । नेपालीहरुको प्रतिनिधित्व गर्दै उहाले सौदर्न डेमोक्रेटिकको तर्फवाट उमेरद्वारी दिएता पनि उनी स्वतन्त्र प्रकारका व्यक्ति हुनुहुन्छ । आज सम्मको नेपाली उमेरदवारहरुमा उहा निकै उचाईको हुनुहुन्छ । उहाको उमेरद्वारी नेपालीहरुले पाउनु पनि गौरवको कुरा हो । नेपालीहरुको घना वसोवास भएको जोर्डनवाट उमेरद्वारी हुदा सवै नेपालीहरुले भोट दिएमा जित्ने पक्का देखिन्छ । तर कतिपय नेपालीहरुले भोटमा नाम दर्ता गराएका छैनन् । यसरी नेपाली समाजमा त्यति नदेखिएका मे. लिम्वुको वारेमा केही टिप्पणी गर्न अवश्य सान्दर्भिक हुनेछ ।
मे. लिम्वु पूर्वी नेपाल हाल लिम्वुवानले वढी परिचित लिम्वुवानको मेची अञ्चल ताप्लेजुङ जिल्लाको भर्खर निर्मित ताप्लेजुङ नगरपालिका वार्ड नं. २ सिम्लेको पालुङवा लिम्वु परिवारमा वावा चतुरमान पालुङवा र आमा सञ्चमति ताप्मादेन लिम्वुको कोखवाट सन् १९५१ मा जन्म भएको हो । युवा उमेरमा नै व्रिटिश गोर्खाको व्वाई भर्ति भएर मलेसिया जानु भएको थियो । तिक्ष्ण वुद्धिका कारण उहाले पल्टन मै अध्ययन गरेर व्याच्लर(वि.ए.) पुरा गरेका थिए । उहाको अंग्रेजी हङकङमा रहेका नेपालीहरुमा अव्वल दर्जामा आउदछ । उहा सन् १९८२ मा हङकङवाट फक्ल्याण्ड युद्धमा गई विजय प्राप्त गर्नु भएको थियो । उहा पल्टनमा ७ जिआरमा हुनुहुन्थ्यो । उहा पल्टनको फुटवल टिममा क्याप्टेन हुनुहुन्थ्यो । राम्रो काम गरेकोले उहा गोर्खा मेजरसम्म हुनु भयो । अझै सम्मान गर्दै जि.सि.ओ.को पद पनि दिईयो । तर्सथ मेजर जि.सि.ओ.भनेर उहालाई सम्वोधन गरिन्छ ।
सन् १९९८ मा २९ वर्षमा सेवापछि उहा रिटायर्ड हुनु भयो । शिक्षा सेवी उहाले काठमाण्डौमा साथीहरुसंग मिलेर एउटा वोर्डिङ पनि सञ्चालन गर्नु भएको थियो । जागिरको क्रममा हङकङमा एडभेञ्चर कप्समा मुख्य ट्रेनरको रुपमा काम गरी हङकङको विभिन्न विद्यालय, र्इमिग्रेशन अफिसर्स आदि अफिसर्सहरुलाई ट्रेनिङ दिई नेपालीत्वको आफ्नो परिचय दिनुभएको छ ।
उहां समाजसेवी पनि हुनुहुन्छ । उहां पालुङवा समाज हङकङको सल्लाहकार, गोर्खाज सेक्युरिटी युनियनको सल्लाहकार हुनुहुन्छ । उहाले स्वयमसेवीको रुपमा धेरै जनाकोर् इम्रि्रेसन, व्रिटिश कन्सुलेट, हस्पिटल आदिमा सहयोगीको काम गर्नु भएको छ । नेपाली भाषामा भन्दा अंग्रेजीमा राम्रो भाषण दिने क्षमता भएको उहां चाईनिज भाषामा पनि ज्ञान राख्नु हुन्छ । उहाले चुम्लुङ लगाय धेरै संस्थाहरुवाट सम्मान पनि पाई सक्नु भएको छ । उहाको एक छोरा मेडिकल डाक्टर छन् भने दुइ छोरी हङकङ मै वसोवास गर्दै आएकाछन् ।
नेपालीहरुको लागि केही गर्नु पर्छ भन्ने त्रि्र मनशाय भएका उहाको स्वार्थीपन, चाप्लुसीपन पटक्कै छैन । पल्टनमा पनि आफ्नै क्षमताले उच्चपदमा पुग्नु भएको उहा नातावाद, कृपावाद, परिवारवाद,स्वार्थवादको घोर विरोधी हुनुहुन्छ ।
यस पालीको चुनाव जितेमा उहाले नेपालीहरुको लागि धेरै कामहरु गर्ने सोच राख्नु भएको छ । उहाले हङकङेली एथ्निक माईनोरिटीहरुको विषयमा पनि कुराहरु उठान गर्नु हुनेछ । उहाको नाराहरु, योजनाहरु यस प्रकार रहेका छन् -
१) नेपालीहरुलाई लगायत अन्य अल्पसंख्यकहरुलाई सर्वसुलभ तरिकाले हाउजिङ प्रदान गर्न पहल गर्ने ।
२)र्इमिग्रेशन, हस्पिटल आदिमा दोभाषेको सरल व्यवस्था गरिनु पर्ने ।
३) एथ्निक माईनोरिटीको विद्यार्थीलाई युनिभर्सिटिको अध्ययन सहज गरिनु पर्ने ।
४) नेपाली कम्यूनिटीको हलको व्यवस्था गरिनु पर्ने ।
५)वृद्धवृद्धाहरुलाई वृद्धाश्रम तथा अस्पताल आवत जावत तथा मेडिकल सम्वन्धमा सर्वसुलभ व्यवस्थाको लागि पहल गर्ने ।
६) कुलतमा लागेकाहरुको उद्धार कार्य गर्ने आदि सान्दर्भिक विषयवस्तुहरु राखेका छन् ।
अन्त्यमा उहा हाम्रो उमेरदवार हुनुहुन्छ । हङकङवासी नेपालीहरुले सम्वन्धित क्षेत्रमा छौं भने उहालाई भोट दिऔं । क्षेत्र वाहिर भएमा पनि सम्वन्धित क्षेत्रमा वस्ने आफन्तहरुलाई, साथीभाईहरुलाई भनेर मतदान गराऔं । उहाको विजय हामी सवै नेपालीहरुको विजय हो । सेवारो ।

Oct 5, 2011

तीज र आदिवासी महिलाहरु

दिल पालुङवा लिम्वु"नेपालकुश्शा"

तीजको परिचय
तीजलाई हरितालिका पनि भनिन्छ । भदौतिर पर्ने यो चाड हिन्दू महिलाहरुको मौलिक चाड हो । यो चाड आदिवासी जनजातिहरुको होईन । यो चाडमा वाहुन क्षेत्री महिलाहरु माईत जाने गर्दछन् । अनि विषेश गरेर रातीको समयमा टन्न हुने गरी खान्छन् । यस वेला विषेश परिकार दर खाईन्छ । भोलिपल्ट केही नखाई वर्त वसिन्छ । त्यसवेला महिलाहरु जम्मा भएर तीज गीत गाउने र नाचगान गर्ने गर्दछन् । वल्लवल्ल असारे कामको चटारो सकिएर थकान पनि मेटन पाएकोमा उनीहरु अति प्रफूल्लित हुन्छन् ।

सामाजिक चालचलन
वाहुन क्षेत्रीको सामाजिक चालचलन पनि अन्य समुदायको भन्दा केही फरक छ । महिलाको स्थान यो समुदायमा अपहेलित पाईन्छ । परिवारमा विभेद हुन्छ । त्यसमा पनि महिलाहरु वढी विभेदमा पर्दछन् । महिलमा पनि वुहारीहरु वढि विभेदमा पर्दछन् । उनिहरु कहिल्यै पनि राम्रो खान पाउदैनन् । स्वतन्त्र काम गर्न पाउदैनन् । मेलावजार जान पाउदैनन् । जुठो पुरो उनीहरुले खानु पर्दछ ।खाना खादा जहिले पनि श्रीमानले श्रीमतीलाई खाएको थालमा सानो भातको डल्ला राखिदिन्छन् । त्यही जुठो थालमा भातखाने गर्दछन् । भात पनि अघाउँजी खान पाउदैनन् । भात पनि मिठो जति ससुरा सासु र छोराहरुले खान्छन् । वुहारीलाई नमिठो दिईन्छ । त्यस्तै राती सुत्ने वेलामा श्रीमानको खुट्टा मालिस गरिदिनु पर्दछ । खुट्टा धोएर पानी खानु पर्दछ । मन खिन्न भएता पनि आफ्नो चलन सम्झेर खुसी नै हुन्छन् । वुहारीको घरमा आंत खोलेर धित मरुञ्जेल वोल्न पाउदैनन् । अझ मेलावजार जाने त कुरै नगरौं । उनीहरु प्रेमविवाह गर्न सक्दैनन् । समाजले मान्दैन । तर आजकल यो वन्धन नव पुस्ताहरुले तोड्दैछन् । यसरी महिलाहरुको स्थिती भयावह छ । तव उनीहरु तीजमा माईत गएर मनाउदा अति खुसी हुन्छन् । वर्षा एक पटक मिठो मसिनो खान पाउछन् । तसर्थ टन्न हुन्छन् । तर यो चाडको पनि मौलिकता हराउदै गएकोमा उनीहरु चिन्तित छन् । अर्कोतिर यसको गीतहरुमा परिवर्तन व्यापक भएको छ । चालचलनमा पनि परिवर्तन हुदैछ ।
उनीहरुको अर्को चलन अनुसार रजस्वला अर्थात मीन्स भएको वेला घर परिवारवाट अलग्गै रहनु पर्दछ । उनीहरुले कसैलाई छुन पनि हुदैन । खानापानी छुन हुदैन । गाईलाई पनि छुन हुदैन । छुंदा अशुद्ध मानिन्छ । त्यसैले यो समयलाई नछुने भएको भन्ने चलन चलेको हो ।

आदिवासी महिलाहरु
वाहुन क्षेत्री महिलाहरुको जस्तो स्थिती आदिवासी जनजाति महिलाहरुमा पाईदैन । उनीहरुलाई कुनै विभेद हुदैन । श्रीमानको खुटटा धोएर पानीखानु पर्दैन । उनीहरु जे गर्न पनि स्वतन्त्र छन् । मेलावजार जहां जानपनि छुट छ । खाने कुरा अर्थात भान्सामा विभेद पाईदैन । मीन्स भएको वेलामा अरुलाई थाहा पनि हुदैन । त्यो वेला सदाझैं समानता नै हुन्छ ।
पहिले आदिवासी जनजातिका महिलाहरु तीजमा सहभागिता जनाउदैनथे । तर अचेल व्यापक मात्रामा सहभागिता जनाउदैछन् । तीजको दर भन्ने उनीहरुलाई थाहा छैन । तर उनीहरु रक्सीको चुस्कीको पार्टी
लिन्छन् । अचम्म हङकङमा पनि जनजाति महिला विषेश गरेर मगर गुरुङहरुले व्यापक तीज मनाए । मन लाग्नेले मनाउन पाउछ तर जनजातिको चाड तीज होईन । यो हिन्दुहरुको हो । वाहुन क्षेत्रीको हो । हामीलाई यस्तै चार्डपर्वहरुले पछि पारेको भन्दछन् । तर तिनै जनजाति अगुवाहरु नै आफ्नो कुरो विर्सेर मनाउदा कति हास्यस्पद देखिन्छ । जनजाति महासंघ पनि उस्तै आफै हिन्दू धर्म संस्कारले गर्दा पछि पारिएको वताउछन् । तर तीज मनाउछन् । त्यस्तैलाई वर्षचेली आदिले पनि सम्मान गरिन्छ । आफ्नो मौलिकता, पहिचान थाहा नहुनेहरुले के हिन्दुवादको विरोध गर्नु । के संस्था चलाई रहनु ।आफ्नो मौलिकतामा रमाउनेहरु माथि किन खेलवाड गर्ने । अर्थात हिन्दुहरु पनि नेपाली नै हुन् । उनीहरुको कारण भन्दा हामी आफ्नै कारणले पछि परेको भनेर स्वीकार्नु पर्यो । नत्र खुरुक्क नैतिकतकाको आधारमा राजिनामा दिएर स्वतन्त्र भएर वस्दा हुन्छ ।

दुइचार कुराहरु
वास्तवमा जनजाति महिलाहरुले कुरा चाही नवुझे कै हुन । त्यसमा पनि गुरुङ र मगर जातिहरु पहिले देखिनै सामान्यत आफ्नो मौलिक चाडमा आँच आएका जातिहरु भएकोले उनीहरु पहिले पनि तीज मनाउथे । यही क्रम जारी हुदा अहिले व्यापकता भएको हो । तर अहिले आफ्नो धर्म संस्कारको पहिचान भईसके पछि त्यतापट्टी लाग्नुपर्ने हो । त्यो चाही हुन सकेको छैन ।
वि.सं.१८३१ तिर पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दू राष्ट्र वनाउछु भनेर अभियान थालेका थिए । त्यसैले आफ्नै धर्म संस्कृति परम्परा हुने आदिवासी जनजातिहरुलाई दशैं मान्न लगाए । दशैं हाम्रो चाड होईन भनेर नमान्ने आठपहरिया र्राई रिदामा र राम्लीहाङ मारिएको थियो । पश्चिममा केही गुरुङ मगरहरुलाई पनि मारियो । वाहुन पण्डित सवै आदिवासीहरुलाई अनिवार्य चलाउन लगाए । सत्यनारायणको पुजा अनिवार्य जस्तो थियो । समय क्रममा यही हिन्दूवादीहरुले आफ्नो भाषामा त के उनीहरु कै खस पर्वते भाषामा पनि पढ्न दिएनन् । तसर्थ आदिवासीहरुको भाषा लोप भएर गयो । लोप हुन नसक्नेको विकास भएन । शिक्षाको ज्योति नपाए पछि मानिस स्वभावैले स्वांठे मुर्ख हुन्छ । आदिवासीहरुलाई पनि असभ्य भने । यसरी यीनीहरुले हेपे, नराम्रो वचनले वोलाए । सहनु पर्यो । यीनीहरु भर्खरै भारततिरवाट मुसलमानको आक्रमण खप्न नसकि नेपाल आएका थिए । विस्तारै षड्यन्त्र गर्दै आफ्नै अन्नदाता त्यहींको रैथाने आदिवासीहरुलाई आफ्नै भूमिमा कैद गर्न सफल भए ।
यसर्थ यस्तो दर्दनाक परिस्थितीवाट गुज्रेर आएको इतिहास भुलेर आज उनै दमनकारी संस्कारलाई मान्नु जनजाति महिलाहरुको तरिका के हो ? स्वतन्त्र हुँदाहुदै दासी वन्न किन चाहेको हो ? वरु आफ्नै संस्कार संस्कृतिमा रमाउन सिक्नु पर्दछ । फलाउनु फुलाउनु पर्छ । उनीहरुको संस्कारलाई सम्मान गर्दै जानु पर्दछ । विडम्वना चाही के भयो भने आफ्नो चाही ध्यान नदिने अरुको मात्रै ध्यान दिएर प्रमोट गर्ने वानी छोड्नु पर्दछ ।
साथै हङकङ सरकारवाट तीजको नाममा वजेट ल्याउने काम संघ संस्थाले गरेर धार्मिक व्देष रोप्नु राम्रो होईन । यसको विरोध भविष्यमा हुनेछ । यदी नेपालीको लागि वजेट ल्याउने हो भने जाति विषेशकोमा नल्याई सामुदाय विषेशमा ल्याउनु पर्दछ । यसकोलागि सम्वन्धित सवैले ध्यान पुर्याउन जरुरी छ । सेवारो ।

Oct 4, 2011

किरात जाति, दशैं चाड र यथार्थता

मन्जुल याक्थुम्बा
कैरात देशले परिचित नेपालमा आर्यहरूको आगमन अगाडि देशभरि नै र किरात प्रदेशभरि चाहिँ (साङ्गापूर्व, मेचीपश्चिम) शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो। भारतबाट प्रबेश गर्दा आफू सँगै भित्र्याइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ पशुपक्षीहरूको बध गरेर अविर, दही, चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म मनाउने गर्छन् भने यस चाडको उत्पत्ति भएको देश भारतमा चाहिँ त्यस्तो रक्तपातपूर्ण कार्य नगरी दुर्गाको मूर्ति बनाई सात्विक पूजा अर्चना गरिन्छ। जुनसुकै विषयमा पनि कुरा प्रष्ट पार्नुपर्दा सप्रमाण उल्लेख गरिदिँदा जनमानसमा भरपर्दो विश्वास हुन्छ। अतः दसैँ भन्ने चाड किरात प्रदेशमा बलात थोपरिएको हो भन्ने कुरा निम्न लिखित ऐतिहासिक एवम् धार्मिक तथ्यले प्रष्ट पारेको छ।
१. ऐतिहासिक तथ्य
क) रणबहादुर शाह र ५२ सुब्बाहरूः
पान्थर क्षेत्र भारत, सिक्किम र तिब्बतको सीमानानजिक परेकाले त्यसताका विदशी सेनाहरूबाट बारम्बार आक्रमण भइरहन्थ्यो। पान्थरका ५२ जना सुब्बाहरू भेला भएर शत्रुहरूको सामना आफैंले गर्नका लागि काठमाडौँ आई राजा रणबहादुर शाहसँग हात हतियार मागे। यङयाङ सुब्बाको नेतृत्वमा आएका ५२ सुब्बाहरूलाई राजा रणबहादुरले पनि ढाल, तरबार, खुँडा, त्रिशूल, नगरा निशान, बन्दुक, कर्नाल, शङ्ख, डमरु, नरसिङ्गा आदिकासाथ दसैँको नवमीमा मौलो थापी बलि पूजा गर्नुपर्ने दसैँया संस्कृति पनि लादी पठाएकाले ती ५२ सुब्बाहरू काठमाडौँबाट फर्केपछि दसैँमा याङरूपको टुँडीखेलमा यङयाङ सुब्बाको मातहतमा ५२ वटा मौलोहरू गाडी सम्पूर्ण हातहतियार र निशान पूजाका साथ नगरा, बाजागाजा बजाएर उत्सव मनाउने चलन बसाए ।
तर, २०२१ सालमा भूमि सुधार लागू भएपछि आफ्नो माटोमाथिको अधिकार एकपक्षीय रूपले हनन् भएको महसुस गरी लिम्बूवान क्षेत्रमा दसैँ मान्नुको औचित्य समाप्त भयो।
ख) रणबहादुर शाहबाट दसैँया कर असुली प्रारम्भः
स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे श्री फागो राय श्री देउ राय के हिङवा खोला सिद्धिपुर वाधा खोला उत्तर तेरा बाजे, जिजुका खायल जमिन खेत प्रजा गाउँ मकुवानी हिन्दूपतिले बक्स्याको रीतिथिति दण्डकण्ड अपुताली चाक चकुई छिनहारी रहता बहता सब अङ्क माफ बक्स्याको रहेछ सो हामी पनि दसैँको भाग सुब्बा पिछे रु ५ साउन्या फागु समेत राज अङ्कबाहेक माफ गरी बक्स्यौँ हाम्रा निमकको सोझो रही आफ्ना थिति जानी भोग्य गर इति सम्बत १९३९ साल माघ वदी ६ रोज शुभम्।
यो लिखतबाट दसैँको भाग सुब्बापिच्छे रु. ५ साउन्या फागु समेत राजअङ्क (राजकीय कर) नयाँ करप्रणाली थपिनुले (किरातहरू) लिम्बूहरू शाहीवंशी राजतन्त्रअगाडि नै दसैँ चाड मान्दैनथे भन्ने कुरा प्रष्टै हुन्छ। दसैँमा सुब्बापिच्छे रु. ५ लगाउनुको तात्पर्य अझ यसरी प्रष्ट हुन्छ, दुर्गाहाङ याक्खाराईको लेखाईबाट गैरहिन्दू प्रदेशका किरात जनसमुदायमा पनि शाही इष्टदेवी दुर्गाको पाठपूजा गराउन नवदुर्गाको महिमा स्तुतियुक्त बडादसैँलाई राष्ट्रव्यापी चाड पर्व तुल्याउने उद्देश्यले यो हिन्दू संस्कृतिलाई राज्यशक्ति लगाएर लादिएको प्रष्ट प्रमाण हुन्छ।
राजा पृथ्वीनारायणका पालादेखि स्थानीय प्रशासनिक एजेन्ट बनाई राखिएका वल्लो र माझ किरातका अमाली, राई, मझया, जिमिदार, तालुकदार, थरी मुखिया आदि र पल्लो किरात प्रदेशका किपटिया लिम्बू सुब्बालाई बडादसैँमा पशुपक्षीको मारहानी दुर्गा पूजा गर्न प्रलोभन सहित वाध्य तुल्याइएका थिए। उनीहरूले दसैँमा आआफ्नो रैतीका घरमा काटिने बोका, खसीका फिलो दसैँ सिसार लिन पाउने र आफूहरूले दुर्गा पूजा गरी दसैँ मानेबापत रैतीबाट जिन्सी वा नगद असुल गरी खान पाउने लालमोहर गरिदिएका थिए। वि. सं. १८७७ सालमा राजा राजेन्द्रले माझ किरातका जिमिदारलाई रैतीहरूबाट बेठी बेगार (रकम वा खेतालाबापत ज्याला नदिई लगाइने काम) सिसार (टाउको वा फिलो) आदि सित्तै खान पाउनेगरी गरिदिएको लालमोहरमा एक ठाउँमा लेखिएको छः गाउँ १ को दसैँया भेडा मार वलकका बोको १ के रूपया १ खाडपूजाको घरही चावल (चामल) माना एकका हिसाबले (अमालीलाई) तिर्नु यस लालमोहरको आधारबाट सामन्ती मनोवृत्तिका राई अमाली र लिम्बूवानका सुब्बाहरूले आआफ्नो सोझा सिधा रैतीहरूबाट यस्ता दसैँया दैदस्तुर जिप्टाएर असुल गरी खाने प्रलोभनमा उनीहरूमाथि दसैँ संस्कार ठगीखाने भाँडोको रूपमा बलपूर्बक लादेर ल्याएको प्रष्ट हुन्छ।
ग) राजेन्द्र विक्रम शाह र दसैँमा
राँगा बोका काट्नै पर्ने टण्टाको अन्त्यः
स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे अरूण पूर्व मेची पश्चिमभर लिम्बुवानका सुब्बा गैह्र जुन ४३ सालदेखि ६१ सालसम्म दसैँमा सुब्बाहरूलाई राँगा काट्नमा ट48टा लागेको थिएन। ६२ सालमा हेमकर्ण थापा सुब्बा भै आउँदा तिमीहरूले राँगा काट्न पर्छ भनी ट48टा लगाउँदा ६२ सालदेखि ट48टा लागिरहेछ अव उप्रान्त हाम्रा सावगाछले राँगा काट्न सक्दैनौँ अघिदेखि चलिआएको हाम्रै थिति चलाइ बक्स्या हामीहरू खुशी छौँ भनी काजी नरसिंह थापामार्फत् हाम्रा हजुरमा जाहेर भयो। तसर्थ अब उप्रान्त अघिदेेखि थुमथुम थिति मोहरबमोजिम लिई दसैँ गरी राँगा काट्नु सुब्बाको घरमा सक हुनेले राँगा बोका काट्नु सक नहुनेले नकाट्नु भनी थिति बाँधी बक्स्यौँ इति सम्बत १८९१ साल मिति बैशाख वदी १४ रोज ४ शुभम्।
वि. सं. १८४३ देखि १८६१ सालसम्म दसैँमा मौलो थापी बोको बलि दिई पूजा गरेमा पनि हुनेमा वि. सं. १८६२ सालमा हेमकर्ण थापा सुब्बा भै लिम्बुवानमा गएपछि दसैँको मौलोमा सुब्बाहरूले राँगा काट्नै पर्ने ट48टा लगाएको कुरा राजेन्द्रविक्रम शाहमा जाहेर हुँदा सक्नेले राँगा बोका काटनु र नसक्नेले नकाटे पनि हुन्छ भनी लिखित प्रमाण पाएपछि मात्र राँगा बोको काट्ने झ48झटबाट सुब्बाहरू मुक्त भए तापनि दसैँया शोषण चाहिँ यथावत नै कायम भयो।
घ) लिम्बूवानमा तिलिङ्गा आतङ्कः
एकधर्म, एक संस्कृति, एक भाषा कायम गर्न तथाकथित एकिकरणको सिलसिलामा किरात प्रदेशमा विभिन्न एजेन्टहरू राई अमाली सुब्बाहरूबाट दसैँ बापत दैदस्तुर सरकारद्वारा असुलियो भनेे ती एजेन्टहरूद्वारा नै रैतीहरूको शोषण गर्ने कार्य पनि निर्वाध रूपमा विकसित हुँदै गयो। यो दसैँया पर्वलाई त्यसताका लिम्बुवानमा तैनाथ गरिएका (खटाइएका) तिलिङ्गाहरूले (सिपाहीहरूले) राई अमाली, सुब्बाहरूको घरको मूलढोकाको दायाँ बायाँ भित्तामा मानिसका हात खुट्टाका रक्तरञ्जित पञ्जा भए नभएको जाँचबुझ गरेर दसैँ माने नमानेको प्रमाणित गर्नु पर्थ्यो। यदि उनीहरूको घरदैलाको दायाँबायाँ भित्तामा मारको छाप लागेको नभेटिएमा त्यस्तो राई अमाली, सुब्बालाई आर्थिकदेखि शारीरिक द48ड लगायत जघन्य अपराध सरह सजाय हुन्थ्यो। अब अमाली सुभाङ्गी प्रथा किरात प्रदेशमा उन्मूलन भैसके तापनि दसैँको बेला आफ्नो घरमा मार काटिएको पशु पंक्षीको रगत हात खुट्टाको पञ्जामा लगाई दैलोको दायाँ बायाँ भित्तामा छाप लगाउने चलन भने यदाकदा अझैं पनि देखिन्छ। त्यसताका ती तिलिङ्गाहरूको आतङ्क सम्झेर लिम्बूवानका बूढापाकाहरू अहिले पनि त्यो त्राशदिपूर्ण कथाको वर्णन गर्छन्।
ङ) दसैँ नमान्दा रिदामा र रामलीहाङ शहीद भएः
किरात प्रदेशमा दसैँया पर्वलाई निरन्तरता दिँदै जाने सिलसिलामा श्री ३ जङ्गबहादुरको शासनकालमा धनकुटाको पालो आयो। त्यसताका छथर थुम धनकुटामा आठपहरिया राईहरूमा नेतृत्व गर्ने रिदामा र रामलीहाङ दुई साहसी पुरुषहरूले दसैँ हाम्रो चाड होइन, हामी दसैँ मान्दैनौँ भनी प्रतिवाद गरे। यो कुरा जङ्गबहादुर राणामा जाहेर भएपछि रिदामा र रामलीहाङको बध गरेर तिनका अनुयायीहरूलाई धनकुटामा रहेका सेनाद्वारा घेराउ गरी राँगा, बोका काटी ठूलो भोज गरी जमरा, टीका लगाइदिई दसैँ मान्न वाध्य गराए। तर त्यस बलजफ्ती कार्यको परिणाम ज्यादै नराम्रो निक्ल्यो। हामी सबैजना बलिदान हुन तयार छौँ तर हाम्रो संस्कार छोडेर बलात लादिएको दसैँ चाड मान्न तयार छैनौँ भनी ठूलो विद्रोह गरेपछि अर्को वर्षदेखि दसैँ चाड मान्न वाध्य गराउन सकिएन। त्यहाँका आठपहरिया किरात राईहरूले आजसम्म पनि दसैँ तिहार मान्दैनन् यिनीहरूका महिलाहरूले आफ्नो पहिरन मेख्ली (म्याक्सी जस्तो) लगाउन अझै पनि छोडेका छैनन्। मङ्सीर पूर्णेदेखि औँसीसम्म ढोल झ्याम्टा वादनका साथ नाचगान र खानपिनमा पाहुनाहरूको आदानप्रदान गरेर धुमधामले १५ दिनसम्म आफ्नो मौलिक राष्ट्रिय चाड मनाउछन्। यही चाड नै हामी समस्त किरातहरूको मौलिक राष्ट्रिय चाड पनि हो। साँच्चै भन्ने हो भने यिनै आठपहरिया किरात राईहरू मात्र किरात प्रदेशमा आफ्नो मौलिक चाडलाई बचाइराख्न सफल भएका छन्। धन्य हुन् यी धनकुटाका खाँटी आठपहरिया किरात राईबन्धुहरू – यिनीहरूको जति प्रशंसा गरे पनि पुग्दैन।
२. धार्मिक तथ्यः
हिन्दूहरूको वेद, बौद्धहरूको धम्मपद, इसाईहरूको बाइबल, इस्लामहरूको कुरान झैं किरातहरूको मूल धर्मग्रन्थ मुन्धुम हो। इसाई धर्ममा उल्लिखित कुरा बौद्ध धर्मावलम्बीले र इस्लाम धर्मका कुरा हिन्दू धर्मावलम्बीहरूले नमान्ने जस्तै ती सबै धर्महरूमा उल्लिखित कुराहरू किरात धर्मावलम्बीहरूले पनि मान्दैनन्। किनभने प्रत्येक धर्मावलम्बीले आआफ्नो धर्मको महान्तामा गर्व गर्छन् र आआफ्नो धर्मग्रन्थले निर्दिष्ट गरेको नियम तथा अनुशासनको पालनगरी जीवन यापन गरेका हुन्छन्। नेपालमा शाहकालभन्दा हजारौँ वर्ष अगाडिदेखि किरात प्रदेशमा दसैँ भन्ने चाड अपरिचित थियो भन्ने कुरा ऐतिहासिक सवुद प्रमाणहरूबाट प्रष्ट भैसकेको छ। अव धार्मिक तथ्यको आधारमा पनि यो चाड किरातहरूको थिएन, होइन भन्ने कुरा यसरी प्रष्ट हुन्छ।
क) मुन्धुममा राम र रावणको कथा छैनः
हिन्दू ग्रन्थ रामायणमा रावणद्वारा सीता हरण भएपछि राम र रावणको युद्धमा रामले रावणलाई बध गरी विजय प्राप्त गरेकोले सो विजयोल्लासको प्रतीक दसैँ चाड हिन्दूहरूले मनाउने गरेको कथा जोडिएको छ। हिन्दूग्रन्थका आर्य पात्रहरूको युद्धकथासँग हामी अनार्य किरातहरूको कुनै सम्बन्ध नभएको र हाम्रो मुन्धुममा कहीं पनि त्यस्तो कुरा उल्लेख नभएकोले यो दसैँ चाड किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ।
ख) मुन्धुममा नव दुर्गा र महिषासुरको कथा छैनः
हिन्दूहरूको देवी भागवत ग्रन्थमा नवदुर्गा र महिषासुरको युद्धमा महिषासुरको बध नवदुर्गाद्वारा गरिएकोले त्यही विजयोल्लासको सम्झना स्वरूप दसैँ चाड मान्न शुरु गरिएको कथा आउँछ। तर त्यस्तो कथा र नवदुर्गा महिषासुर भन्ने शब्द हाम्रो मुन्धुममा उल्लेख नभएकोले यो दसैँ चाड हामी किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ।
ग) (मुन्धुममा) दसैँ शब्दै छैनः
हामी किरातहरूको मौलिक धर्मग्रन्थ मुन्धुममा दसैँ भन्ने शब्द छदै छैन। त्यसकारण यो दसैँ चाड हामी किरातहरूको हुदै होइन भन्ने प्रमाणित हुन्छ। यो दसैँ चाड किरात प्रदेशमा शाहकालमा सरकारले बलात थोपरेको भन्ने कुरामा शङ्कै छैन। यो चाड हाम्रो हुदै हाइन भन्ने ऐतिहासिक एवम् धार्मिक तथ्यका आधारमा प्रष्ट हुँदाहुदै पनि जान्ने बुझ्नेले देखाएको सही बाटोबाट नहिँडी दनदन बलिरहेको विशाल आगोको ज्वालामा पुतली होमिए झैं हाम्रा किरात बन्धुहरू होमिन चाहन्छन् भने भीरबाट लडेको गाईलाई माङ माङ मात्र भन्न सकिन्छ काँध थाप्न सकिन्न। विवशता र वाध्यतावश् बलात भिराइएको दसैँरूपी जुवालाई फ्याँकेर आफ्नो मौलिक अस्तित्वको खोजी नगर्ने किरातलाई कसरी जीउँदो किरात भन्ने? यस प्रसङ्गमा दुर्गाहाङ याखाराई एक ठाउँमा यसरी लेख्नुहुन्छ – यो दसैँया संस्कार मान्नेवित्तिकै किरातहरू हिन्दू वर्ण व्यवस्थाको (वर्ण विभाजन भित्रको) सबैभन्दा हेय र तुच्छ शूद्रवर्णमा स्वतः गणना हुने हुन्छन्। किनकि नेपालको जनजाति, आदिबासी पश्चिमी नेपालका गुरुङ, मगर तथा पूर्वका राई, लिम्बूबाट नेपाली राजाहरूको शुभराज्याभिषेक नामक वैदिक पूजाहरूमा तयार गरिएको शाही अभिलेख अनुसार शूद्रमै गणना गरिएको प्रमाण खडा छ। यसैले अबका जनजाति, आदिवासीले आफ्नो छुट्टै अस्तित्व र आत्मसम्मान खातिर धार्मिक, सांस्कृतिक दासत्व एवम् जातीय हीनताको प्रमाणपत्र स्वरूप दसैँया “विजया टीकालाई” निधार भरी टाँसेर प्रदर्शनी गराउन चाहदैनन् भने त्यो उनीहरूको आस्थाको कुरा हो। उनीहरू दसैँमा टीका नलगाउन स्वतन्त्र छन्। उनीहरूको यस्तो आचरणमा अरूले विरोध र आश्चर्य मान्नु पर्ने उचित देखिँदैन। उनीहरू हिन्दू बनेर “शूद्र वर्गमा” नै रही अझै ब्राम्हणपूजन गरिरहुन् भन्ने स्वघोषित हिन्दू उच्च जातिका मानिसहरूबाट दुराशय राखिनु पनि हुन्न।
आफूलाई मन परेको कुनै पनि धर्म संस्कार ग्रहण गर्ने नैसर्गिक अधिकार र स्वतन्त्रता प्रत्येक ब्यक्तिलाई छ। तर बिवशता र बाध्यतामा पारेर आफ्नो धर्म संस्कार अरूलाई बलात लाद्ने अधिकार कसैलाई छैन। आफ्नो अस्तित्वको खोजी गर्नु प्रत्येक ब्यक्तिलाई अधिकार छ। दसैँलाई बहिस्कार गर्नु हामी कसैलाई भन्दैनौँ तर दसैँ हामीमा बलात् लादिएको हो र यो चाड हाम्रो थिदै थिएन, हुँदै होइन भनी सबुत प्रमाणका साथ ठोकुवा गर्ने अधिकार हामीलाई छ। अतः ऐतिहासिक एवम् धार्मिक तथ्य तथा सबुत प्रमाणका आधारमा दसैँ चाड हामी अनार्य जनजाति, आदिवासी किरातहरूको थिदैथिएन, हुदैहोइन भन्ने कुरा किरात लगायत सम्पूर्ण जनजाति, आदिवासी बन्धुहरूले बुझदिनु पर्‍यो, मनन् गरी दिनु पर्‍यो, प्रत्येक जनजाति, आदिबासीको घरदैलोमा सन्देश पुर्‍याउनु पर्‍यो।
१.माथि उल्लिखित अकाट्य प्रमाणहरूको आधारमा दसैँ चाड हामी किरातहरूको थिदैँथिएन हुँदै होइन भन्ने निष्कर्षमा पुगिएकाले नै हामीमा बलात् लादिएको हिन्दूमात्रको दसैँ चाड मान्न हामीले २०४६ सालदेखि नै छोड्दै आएका हौँ। यो कार्य पूर्वाग्रह, घृणा र द्धेषवश भएको होइन। किनभने यस देशका सम्पूर्ण जात/जाति र धर्मावलम्बीहरूसँग सदभाव कायम गरेर राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान पुर्‍याउने भन्ने चुम्लुङको मूल नीति छ। त्यसैले हामीले दसैँ बहिस्कार पनि भनेका छैनौँ। मान्नु नमान्नु आफ्नो स्वेच्छाको कुरा हो। तर दसैँ चाडचाहिं हाम्रो थिदैँथिएन हुँदैहोइन भनेर ठोकुवाका साथ भनेका छौँ, भन्छौँ पनि।
२.आफ्नो मौलिक चाड हुँदाहुदै हिन्दू मात्रको दसैँचाड किरातहरूले मान्नै पर्छ भन्ने छैन भने हामीले आफ्नो चाडलाई महत्व दिँदा हिन्दूहरू रिसाउनु पर्ने कुरा पनि छैन। नजान्दाको अवस्थामा वालकले फोहोर टिपेर मुखमा हाल्छ तर ऊ जान्ने बु137ने भएपछि फोहोर टिपेर खाँदैन। त्यस्तै कति कुरा हामीले लहै लहैमा अङ्गाल्यौँ भने कति कुरा वलात् पनि ग्रहण गर्नबाध्य भयौँ। अव हामीले कुरा बुझ्यौ । आफ्नो बाटो लाग्यौँ। किरात प्रदेशमा बस्ने कुनै पनि अल्पसङ्ख्यक हिन्दूलाई हामीले हाम्रो किरात चाड मान्नु पर्छ कहिल्यै भनेनौँ र भन्दैनौँ पनि। तर किरातहरूले जानीबुझी दसैँ मान्न छोड्दा यी हिन्दूहरू किन रुष्ट हुन्छन् र नाना भाति प्रसङ्गहरू जोडेर किरातहरूप्रति दुराशय ओकल्छन्? यस कार्यले उनीहरूको असहिष्णुता, अमिलनसारिता र विखण्डनवादी नीति छर्लङ्गिगएन र?
३. परंपरादेखि हामीले मानी आएको मङ्सिर पूर्णिमामा पर्ने लिम्बूहरूको ‘चासोक तङनाम’ राईहरूको ‘साकेला’ याख्खाहरूको ‘चासुवा’ र सुनुवारहरूको ‘फोलष्याँदर’ मौलिक किरात चाड (न्वागीपूजा)लाई किरात चाड मनाउन त्रयोदशी, चतुर्दशी र पूर्णेसम्म ३ तीन दिन किरात चाड घोषणा गरी अधिराज्यव्यापी विदादिने व्यवस्थाको लागि चारै किरात संस्थाहरूको संयुक्त प्रयासमा को सरकार समक्ष माग प्रस्तुत गरिएकोमा मङ्सिर पूर्णेका दिन एक दिन मात्र अधिराज्यका सम्पूर्ण किरात धर्मावलम्बीहरूलाई विदा दिनेगरी को सरकारबाट किरात चाडको घोषणा भएको कुरा २०५८ साल पुस १४ गतेको विभिन्न सञ्चार माध्यम र ख48ड ५१ संख्या ५० नेपाल राजपत्र भाग ४ मिति २०५८/१२/२६ को राजपत्र समेतबाट प्रचारप्रसार भएको कुरा सर्वविदितै छ।
४. विभिन्न जातजाति/जनजाति आदिवासी र उत्पीडित/ दलितहरूको साझा फूलबारी हाम्रो नेपालमा सत्ताधारी हिन्दू धर्मावलम्बीहरूको लागि अनगिन्ती चाडहरूले मान्यता प्राप्त गरिरहेकै छन्। त्यसमा पनि गौरापर्व मनाउन सुदुर पश्चिमेली हिन्दूहरूले थप १ दिन छुट्टै विदा पनि पाएका छन्। प्रजातन्त्रको पुनर्वहाली भए पश्चात तराईबासीहरूले ‘छठपर्व’ इस्लामहरूले ‘इद पर्व’ भोटे, सेर्पा, तामाङ, गुरुङहरूले ‘ल्होसार पर्व’ मनाउन १/१ दिन विदा पाएजस्तै हामी किरात धर्मावलम्बीहरूले पनि किरात चाड छुट्टै विदा पाउँनु पर्छ ।

दसैंको मानवशास्त्र

डम्बर चेम्जोङ
दसैंजस्तो चाडपर्वलाई राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक अनेक कोणहरूबाट हेर्न अथ्र्याउन सकिन्छ । दसैंलाई चाडपर्व मान्नुअघि चाडपर्व भनेको के हो ? यसमा मूलतः के गरिन्छ भन्ने जान्नु उपयुक्त हुन्छ । कुनै नेपाली सामाजिक सांस्कृतिक समूहले दसैं सामाजिक रूपमा मात्र मनाउँछन् कि धार्मिक सांस्कृतिक तहमा समेत मनाउँछन् भनी बुझ्न सकियो भने दसैंको अर्थ सम्पूर्णतामा खोज्न सकिन्छ जस्तो लाग्छ । अझ मानवशास्त्रीहरु त चाडपर्वमा वा समाजहरूमा सम्पन्न गरिने विभिन्न पूजा-आजाहरूको राजनीतिक अर्थ र प्रयोजन हुन्छ भन्दछन् र सोहीअनुरूप अध्ययन गर्दछन् । कस्तो खाले मानवीय सम्बन्धहरूलाई सामाजिक भन्ने ? कस्तो खाले मानवीय क्रियाकलापहरूलाई धार्मिक भन्ने ? अनि कस्तोलाई सांस्कृतिक ? र कस्तोलाई राजनीतिक भन्ने सवाल पनि हामीसँग छँदै छ । अझ भन्ने हो भने नेपाली भाषामा वा समाजमा 'राजनीतिक' शब्दको अर्थ संकुचनले होला 'राजनीतिक दल'हरूको चलखेल र उछलकुदलाई मात्र 'राजनीति' भनी बुझ्ने चलन आम मानिसहरूमा छ । तर शक्ति र सत्तालाई हेर्ने, बुझ्ने, महसुस गर्ने तरिका र तिनका अर्थबोध विभिन्न समाजहरूमा आ-आफ्नो विशिष्टतापूर्ण हुन्छ । उदाहरणतः लिम्बू समाजमा शक्ति र सत्ताको पूजा आराधना व्यक्ति, परिवार, समाज सबै तहमा हिन्दु जातीय चलनभन्दा नितान्त फरक ढंगले हुन्छ । यसरी दसैंको मानवशास्त्र भनेको उल्लेखित पाटाहरूबाट हेर्दा दसैं कस्तो देखिन्छ र दसै मान्ने मनाउने प्रक्रियाले समेत विभिन्न समाजमा कस्तो सामाजिक राजनीतिक सम्बन्ध निर्माण गर्दै लान्छ भनी बुझ्नु हो ।
आफू काम गर्ने थलोमा लामो बिदा पर्नाले घरपरिवार र नातागोता कुटुम्बसँग भेटघाट गरिने पक्ष, आरामले बस्ने, मीठो मसिनो खाने नयाँ र राम्रो लाउने, छरछिमेक घुम्दै भेट्दै सँगै खाने, तास खेल्ने, पीङ बनाउने-खेल्ने, मनोरञ्जन गर्ने, शुभकामना औ आशिर्वाद थाप्ने, विवाहित छोरी चेली कोसेली-पात बोकी माइत आउने वा नयाँ ज्वाइँ ससुराली जाने आदि पक्षहरू चाडपर्वका सन्दर्भमा सम्पन्न हुने सामाजिक पक्ष हुन् तर यसले मात्र चाडपर्वको सारभूत परिभाषा समेट्दैन ।
पूजा-अर्चनाजस्ता कुरा चाडपर्वको धार्मिक सांस्कृतिक महत्त्वपूर्ण पाटो हो । चाडपर्वमा इष्ट द्यौ-द्यौताहरूको पूजा-अर्चना वैयक्तिक, पारिवारिक र सामूहिक एवं समुदायगत तहमा समेत सम्पन्न गरिन्छ । दसैंको पनि धार्मिक र सांस्कृतिक सारभूतता नौ दिनसम्म सम्पन्न गरिने विभिन्न शक्तिदेवीहरूको पूजा अर्चनाले प्रस्ट्याउँछ । धार्मिक सांस्कृतिक हिसाबले 'दसैं हिन्दु मात्रको महान् पर्व' भन्नु ठीक हो । नेपालमा आम आदिवासी जनजाति समाजहरूमा आ-आफ्नो सामूहिक धार्मिक सांस्कृतिक आस्था सम्बद्ध शक्ति देवीदेउताहरूको पूजा-आराधनासहित दसैं मनाउने चलन देखिँदैन ।
माथि नै लेखियो- चाडपर्वमा राजनीतिक सत्ता र शक्तिको पूजा पनि गरिन्छ । नेपालमा दसैंमा देख्न पाइने सत्ता र शक्ति सम्बद्ध पूजा-आजा र मूलतः सत्तासीनहरूले राँगा लगायत पशुको बलि दिने कुरा चाडपर्वको राजनीतिक पक्षको ज्वलन्त उदाहरण हो । दशैंको यो पक्षले भने शासक तथा शासित दुवै वर्गलाई समेट्छ । राजनीतिक रूपमा दसैं भनेको विगतको गोरखाली हिन्दु राजनीतिक सत्ताको औचित्यको पुष्टि, त्यस सम्बद्ध शक्ति देवीदेउताहरूको पूजाअर्चना हो । गोरखाली राजनीतिक सत्ता र शक्ति विस्तार प्रक्रियाको इतिहासलाई दसैंको धार्मिक पूजा-आजा र राँगाको बलि दिने व्यवस्थाले प्रतीकात्मक ढंगले व्यक्त गर्दछ ।
दसैंका लागि गोरखाबाट काठमाडांै फूलपाती भित्र्याउनु, सत्तासीनहरू र अझ सेनाका खास तहको अधिकृतभन्दा माथिकाले अनिवार्य रूपमा राँगाको बलि चढाउनु आदिले गोरखा राज्यको विस्तार र हैकमलाई धार्मिक र सांस्कृतिक रूपमा औचित्य प्रदान गर्ने मात्र होइन कि गोरखाली अधीनस्थता अस्वीकार गर्नेहरूलाई राजनीतिक रूपमा बलि चढाइने प्रतीकात्मक तर पूर्णतः राजनीतिक सन्देश फैलाउँछन्, बलिमा चढाइएका पशहरूले ।
मानवशास्त्री डेभिड होमवर्गले दसैंमा राँगाहरूको बलि दिने कुरा रूप पक्षमा धार्मिक देखिए पनि सारमा सत्ताधारी राज्य पक्षले अधीनस्थ क्षेत्रमा पठाएको राजनीतिक सन्देशको रूपमा अथ्र्याएका छन् । जुनसुकै तहका सत्ताधारीहरूको हातको टीका थाप्नुलाई सांस्कृतिक रूपमा आशिर्वाद लिनुको अर्थमा बुझिए पनि राजनीतिक रूपमा भने अधीनस्थता स्वीकार गर्नु हो, हरेक साल टीका थाप्नु भनेको त्यही अधीनस्थताको नवीकरण गर्नु हो ।
अधीनस्थतालाई नरम शैलीमा अभिभावकत्वको अर्थमा पनि बुझाइने गरिन्थ्यो स्कुले विद्यार्थीलाई विगतमा । स्कुलमा दिनभर घोक्नुपर्ने पाठले भन्थ्यो- 'आमाभन्दा ठूला, बाबाभन्दा ठूला, सबैभन्दा ठूला, राजा नै हुन् ठूला...।' हामी कतिपय यही चिन्तन धरातलमा उभिएका छौं । हिन्दु राजाहरूका अधीनस्थता, अभिभावकत्व मानिरहेको भए र उनीहरूले दसैंमा दिने गरेका आशिर्वाद लागिरहेको भए नेपालमा यो राजनीतिक अवस्था स्थापित हुन सक्थ्यो ? तर आज पनि कति स्कुले पाठ्यपुस्तकमा यस्तै सन्देश छैनन् भन्न सकिन्न ।
मान्छेहरू दसैं मानिरहेका हुन्छन् एकातिर भने अर्कातिर दसैंले पनि मान्छेहरूलाई मनाइरहेको हुन्छ । तात्पर्य, मान्छेहरूले एक वा अर्को रूपमा दसैं मान्ने वा नमानेर 'मान्ने' क्रममा दसैंको प्रभाव विभिन्न समाजहरूमा भिन्नाभिन्नै सांस्कृतिक, राजनीतिक, सामाजिक, धार्मिक हिसाबले पर्दै जान्छ । तसर्थ दसैंले समेत नयाँखाले सामाजिक, सांस्कृतिक, राजनीतिक सम्बन्ध र अभ्यासहरूको पुनउत्पादन गर्दै लान्छ समाजहरूमा । यो कुरा व्यक्तिहरूले समाज निर्माण गर्दछन् साथै समाजले पनि व्यक्ति निर्माण गर्दछ भने जत्तिकै सजिलै बुझिने कुरा हो ।
दसैं मनाउनेहरू मात्र होइन 'दसैं हाम्रो होइन, यो हामीमाथि थोपरिएको हो, हामी यसको बहिष्कार गर्छौं' भनी दसैं नमनाउनेहरूले समेत राजनीतिक अर्थमा दसैं मानेझैं बुझ्न सकिन्छ । उदाहरणतः कुनै माग राखी अनसन बस्नेहरूले समेत राजनीतिक अर्थको पोषण वा खुराक प्राप्त गरिरहेका हुन्छन् । त्यसैले जसरी दसैं मनाएर विशिष्ट तहको विशिष्ट आध्यात्मिक भौतिक अर्थबोध महसुस गरिन्छ , त्यसैगरी बहिष्कार गरेर वा नमनाएर पनि त्यही खाले राजनीतिक मूल्यको महसुस र प्राप्ति हुन्छ । यसर्थ दसैंले सबै नेपालीलाई एकै ढंगले समेट्दैन । कसैले हिन्दुहरू मात्रको महान् चाड भन्छन् त कसैले नेपालीहरूको महान् चाड भन्छन् । यति मात्र होइन आदिवासी जनजातिहरूमा कतै हिन्दु राज्यकालीन राजा तथा राणाहरूका हैकम र हुकुमका कारणले र कतै छिमेकीहरूका सिको गर्नाले समेत दसैं मनाउने परम्पराको थालनी भएको देखिन्छ । उदाहरणतः लिम्बूवानमा स्थानीय तहका सत्ताधारी लिम्बू सुब्बाले बलि चढाएर दसैं मान्नै पर्ने हुकुम राजा रणबहादुर शाहको पालामा भएको थियो ।
दसैंमा बलि दिएको पशुको रगतको पञ्जाछाप घरको भित्तामा हानिराख्नुपर्ने हुकुम थियो लिम्बू सुब्बाहरूलाई । बलि पशुको रगतको पञ्जाछाप भए/नभएको निरीक्षण गर्न गोश्वारा, गौंडा अड्डाबाट डोर खटिएर आउँथे तत्कालीन लिम्बूवानमा । दसैं नमानिएको, पशुबलि नदिइएको भेटिए सजायको भागी हुन्थे लिम्बू सुब्बाहरू । यसरी लिम्बू सुब्बाहरूमा दसैंमा पशुबलि दिने क्रम विगतमा देखिएको हो । लिम्बूहरूको सामूहिक भू-स्वामित्व प्रणालीको व्यवस्थापन र निरन्तरता खातिर किपटिया सुब्बाहरूले हिन्दु राज्यको संयन्त्रको स्थानीय इकाईको रूपमा समेत जिम्मेदारी लिनुपरेको सन्दर्भमा गोरखाली राज्यको अधीनस्थताको प्रतीकात्मक स्विकारोक्ति दसैंमा चढाइने पशुबलिमार्फत् नै भइरहेको बुझिन्छ ।
अझ लिम्बू सुब्बाहरूबाट पनि उनीहरूका किपटअन्तर्गतका घरधुरीहरूले आशिर्वाद र अभिभावकत्व ग्रहण गर्ने र स्थानीय शासकीय अधीनताको नवीकरण गर्ने अवसर दसैं नै थियो । भूमिसुधार ऐनले लिम्बूहरूको किपट भूमि व्यवस्थाको अन्त्य गरेपछि स्थानीय तहमा सत्तासीन लिम्बू सुब्बाहरूको पनि अधिकार समाप्त भयो र लिम्बू सुब्बाहरूले दसैंमा पशुबलि दिने काम बन्द गरे अर्थात् राजनीतिक रूपमा दसैं मान्ने काम एक प्रकारले बन्द गरे । यसरी विगतमा लिम्बूहरूले दसैंमा पशुबलि दिने कुरा सोझो रूपमा नै गोरखा हिन्दु राज्य निर्माण र त्यसको अधीनस्थतासँग सम्बन्धित बुझिन्छ । लिम्बूहरू हिन्दु धर्मावलम्बी होइनन् त्यसैले लिम्बूहरूका निमित्त दसैंले धार्मिक र सांस्कृतिक अर्थ राख्दैन । उनीहरूको मुन्धुम, फेदाङवा/मा, येवा, साम्बा आदिले दसैंको प्रसंग ल्याउँदैनन् । उनीहरूको इष्ट द्यौ-द्यौतको पूजा-अभ्यर्थना गर्ने पनि होइन दसैंमा । त्यसैले अन्य समाजहरू र राज्यको प्रभावका कारण लिम्बूहरूमाझ पनि सामाजिक रूपमा दसैं मान्ने चलन सुरु भएको हुनसक्छ विगतमा । विवाह गरेर गएका छोरीचेली कोसेलीपातको भारी भरियाहरूका साथ दसैंमा नै माइत आउने चलनको सुरु भएको जस्तो लाग्छ ।
लिम्बूको कोसेली भन्नु के छ र ? ढाकरमा फूलहरूले सिंगारिएको सिंगो सुगुर, गाग्रोभरि रक्सी र थरीथरीका मासु र तरकारीका चेप तथा टपरीहरू आमा-बा अथवा मूलघरका लागि । अनि सुंगुरका फिला र करङहरू छुट्टै पेरुंगो/चेपहरूमा च्यापेर र साना-साना मट्याहरूमा समेत रक्सी र फिलिंगे, गुन्द्रुक, सिमी, भटमास आदि अचारका टपरीहरू आपmनो नजीकका नाताहरूका लागि नभई नहुने । नाताभित्रको तह अनुसारको कोसेली भएन भने, सुंगुर गतिलो भएन भने, रक्सीको गुणस्तर राम्रो भएन भने खासखुसे कुरा काट्ने त छँदै छ । युवावयमा मैले देखे भोगेको दसैं लिम्बूवानको मेरो गाउँमा यस्तै थियो । सबै लिम्बूहरूमा होइन तर स्थानीय सत्ता-सुख-भोग गरिरहेका वा मूलतः किपटिया लिम्बूमा सेतो टीका थाप्ने र टीका लगाइमाग्न आउनेलाई पनि सेतै लगाइदिने चलन थियो ।
वास्तवमा हिन्दुहरूले जुठो जातको र अभक्ष मानेको अझ बाहुनले छुनै नहुने पशु संुगुर सिंगारेर, त्यसैलाई सबैभन्दा अभीष्ट भोजन मानेर, उतिबेला हो भने बाहुनले चलाउनै नहुनेे रक्सी चलाएर, हिन्दु जातीय चलनमा अभिभावकको मृत्युको आशौच र अशुद्धिको प्रतीक सेतो रङको टीका थापेर लिम्बूहरूले दसैं मान्नुको ध्वन्यात्मक अर्थ के हुन सक्ला ? लिम्बूले रूप पक्षमा दसैं मानेकै देखाएर यसैको माध्यमबाट सारभूत अर्थमा हिन्दु राज्य र धर्मको विरोध वा खिल्ली उडाएको देखिँदैन र ?
आज दसैंको सन्दर्भलाई लिम्बूहरूले तीन ढंगले लिन्छन् जस्तो लाग्छ- पहिलो दसैं बहिष्कार, दोस्रो बहिष्कार पनि नगर्ने र नमनाउने पनि, तेस्रो दसैं सामाजिक रूपमा मनाउने । यी तीनै पक्ष एक वा अर्को रूपमा दसैं प्रभावित नै हुन् किनभने दसैंको मानवशास्त्रीय अध्ययनले लिम्बूहरू र गोरखा हिन्दु राज्यबीचको राजनैतिक-ऐतिहासिक सम्बन्धको एउटा पक्ष बुझ्न सकिन्छ ।

(मानवशास्त्री चेम्जोङ त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्छन् ।)