Feb 12, 2011

नेपालमा अन्तर पार्टी लोकतन्त्र : एक विवेचना

मुनीन्द्र नेम्बाङ (न्युयोर्क)
यदि कुनै देशमा जतिसुकै राम्रो लोकतन्त्र भए तापनि त्यस देशमा अन्तर पार्टी लोकतन्त्र छैन भने लोकतन्त्रको कुनै अर्थै हुँदैन किनभने समयान्तरमा गएर त्यस किसिमको लोकतन्त्रको भयानक अन्त हुनुबाहेक अर्को विकल्प हुँदैन । त्यसैले आज ठूल्ठूला देशहरू पनि आफ्नो देशमा अन्तर पार्टी लोकतन्त्र छ छैन भन्ने कुरामा ज्यादै सजग र सचेत हुन थालेका छन् । उदाहरणस्वरूप आज एकातिर उदारवादी लोकतन्त्र अंगालेका एकमात्र चीनी मूलुक ताइवानमा एसियामा नै सबभन्दा बढी संस्थागत भएका पार्टीहरू छन् भने अर्कोतिर आर्थिक र सैनिक दृष्‍टिकोणले विश्वको दोस्रो शक्तिशाली देश मानिएको चीनको कम्युनिष्ट पार्टीमा चाहिँ अन्तर पार्टी लोकतन्त्र नहुँदा चीनलाई पनि दिनानुदिन थुप्रै आरोपहरू आइरहेका छन् । यही कुरालाई महशुस गरेर सन् १९८० को दशकदेखि यता चीनले पनि आफ्नो पार्टीभित्र खुलापनको बहस ,नियन्त्रण र सन्तुलन (check and balance) अथवा दुई पार्टीहरूको पद्धति (bipartisan system ) अपनाएर यस आरोपबाट वंचित हुन खोजिरहेको देखिन्छ । अन्तर पार्टी लोकतन्त्र भनेको ज्यादै फराकिलो शब्द हो जसको बेग्ला बेग्लै अर्थ पनि हुनसक्छ । तर यसलाई हामीले अहिलेलाई सजिलोको निम्ति अन्तर पार्टी लोकतन्त्र भनेको पार्टी भित्रको लोकतन्त्र हो भन्दा वेश होला । आज नेपालमा अंतरपार्टी लोकतंत्रको किन आवश्यक छ ? किनभने पटक पटक भएको जन आन्दोलनपछि अहिले नेपालले पनि संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको छ । भर्खरै प्राप्त गरेको यो शिशु लोकतन्त्रलाई निरंकुश व्यक्तिहरूले हरतरहले समाप्त पार्न दुष्प्रयास गरिरहेका छन् । त्यसैले अत्यन्त कमजोर अवस्थामा भएको यो लोकतन्त्रलाई यदि हामीले समयमा नै संरक्षण र संवर्द्धन गर्न सकेनौ भने ठूलो संघर्ष बाट प्राप्त गरेको हाम्रो लोकतन्त्र सधैंको लागि गुम्नुको साथै देशले पनि अन्तत्वोगत्वा विकराल विखण्डन र अस्थिरताको समस्या भोग्नुपर्ने देखिन्छ ।
आजको संकटकालीन परिस्थितिमा लोकतन्त्रको संरक्षण र संवर्द्धनको लागि नेपालका तमाम पार्टीहरूले आन्तरिक द्वन्द र सत्ताको लुछाचुँडी छाडेर एउटा अन्तर द्वलीय मेलमिलाप ,पारस्परिक सुझबुझ ,सम्झौता र सहमेलको वातावरण सिर्जना गरी लोकतान्त्रिक राजनीतिक संस्कृतिको स्थापना गर्न जरुरी छ । सम्झौता र सहमेल कायम गर्नु भनेको एउटा पार्टीभित्र जति जरुरी छ उति अन्य पार्टी पार्टीहरूको बीचमा पनि महत्वपूर्ण छ। आज हाम्रो देशमा त्यही सहमतिको राजनीति नहुँदा देशका मुख्य तीन ओटा पार्टीहरूले सरकार गठन गर्दा पटक पटक गतिरोध आएको कुरा सर्वविदितै छ । यसबाट के प्रष्ट हुन्छ भने दलहरूले राष्ट्रिय स्वार्थलाई भन्दा दलगत स्वार्थलाई बढी प्राथमिकता दिएको देखिन्छ । पार्टी पार्टीमा भएको यस्तो मतमतान्तर र अन्तर कलहले गर्दा देशमा तीव्र गतिले ध्रुवीकरण बढिरहेको छ। हाम्रो जस्तो असहज परिस्थिति भएको देशमा सहमतिको राजनीतिको धेरै ठूलो महत्व हुन्छ । त्यसैले सबै पार्टीहरूले राजनीतिक सहकार्य, आपसी मेलमिलाप र समझदारीद्वारा शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पुर्‍याउने, सेना व्यवस्थापन गर्ने र त्यस बाहेक नव गठित सरकार लगायत अन्य सबै पार्टीहरू हाम्रो भावी संविधानको लेखन कार्यमा एकमत हुनु अत्यावश्यक देखिन्छ । त्यसैले आपसी मेलमिलापको वातावरण सिर्जना गरी पार्टीहरूको लोकतन्त्रिकरण ,समाजीकीकरण र आधुनिकीकरण गर्न आवश्यक छ । यदि अन्तर पार्टी लोकतन्त्र छैन भने पार्टीभित्र हरहमेसा संघर्ष हुनुको साथै सरकार पनि सधैं अस्थिर भइरहन्छ । यसबाहेक अन्तर पार्टी लोकतन्त्रको अभ्यासको लागि कम्तिमा पनि ३ प्रतिशत मत प्राप्त गरेका र लोकतान्त्रिक संगठनात्मक स्वरुप भएका पार्टीहरूलाई मात्र राष्ट्रिय मान्यता प्राप्त पार्टीहरू मान्ने संवैधानिक प्रबन्ध गरिनुपर्छ । यदि हामीले नेपालको पार्टीहरूको संगठनात्मक स्वरुपलाई हेर्‍यौँ भने कुनै पार्टीहरू आधारभूत स्वतन्त्रताको आधारमा गठन भएका उदारवादी लोकतान्त्रिक पार्टीहरू छन् भने कुनै पार्टीहरू कुनै ठोस सिद्धान्तको आधारमा गठन भएका वामपन्थी तथा जडसूत्रवादी पार्टीहरू छन् । कुनै पार्टीहरू परम्परागत र वर्गको आधारमा गठन भएका धार्मिक प्रकृतिका रुढीवादी पार्टीहरू छन् भने कुनै पार्टीहरू क्षेत्रीय आधारमा र कुनै पार्टीहरू मात्र एउटा उद्देश्य लिएर गठन भएका वा कुनै मूल्य र मान्यता नभएको क्याच अल पार्टीहरू (catch all parties) छन् । यस्तो स्थितिमा हामीले उल्लिखित विभिन्न वैचारिक तथा सामाजिक भिन्नताहरू बोकेका नेपालका पार्टीहरूले अन्तर पार्टी लोकतन्त्रको के कसरी अभ्यास गर्ने भन्ने कुरा निश्चयनै एउटा चुनौतीपूर्ण कार्य हो । तर जब सबै जिम्मेवार पार्टी नेतृत्त्वले राष्ट्रियता र लोकतन्त्रको हितलाई सर्वोपरी प्राथमिकता दिइ अन्तर पार्टी लोकतन्त्रलाई अंगाल्छन् भने यो कुरा सम्भव हुँदैन भन्न पनि सकिंदैन । किन भने यसको लागि अहिलेसम्म थुप्रै राष्ट्रिय अन्तरराष्ट्रिय प्रयासहरूसमेत भइसकेका छन् । उदाहरणस्वरुप सन् २००७ देखि सन् २०१० सम्म विभिन्न मितिमा नेदरलैंडको हेग, काठमाडौंको नगरकोट ,पोखरा, जवालाखेल ,यु. यस .ए. को हर्वाड युनिभर्सिटी र फ्लोरिडा राज्यमा सम्पन्न भएका सेमिनारहरूलाई लिन सकिन्छ । जसमा विभिन्न विद्वानहरूले नेपालको अन्तर पार्टी लोकतन्त्र सम्बन्धमा आ-आफ्ना कार्यपत्रहरू प्रस्तुत गरेका थिए।
उपरोक्त कार्यपत्रहरूलाई सर्सरी हेर्दा के देखिन्छ भने लोकतान्त्रिक देशहरूले आ-आफ्ना पार्टीहरूमा निम्न विशेषताहरूलाई क्रमिकरुपले समावेश गर्दै लगेको देखिन्छ। ती हुन् (१). पार्दर्शिता (२). उत्तरदायित्व (३). लोकतान्त्रिक आधारमा तल्लो तहमासमेत (rank and file ) पार्टीहरूको सुसंगठन, निर्वाचन र समान सहभागिता (४). समावेशीकरण (५). पार्टी कोषको लोकतन्त्रिकरण (६). एउटा सुसंगत राजनीतिक कार्यक्रम (७). आन्तरिक बहसमा लोकतन्त्रिकरण आदि । - उपरोक्त विशेषताहरूबाहेक हिजोआज थप सुझावहरूसमेत आइरहेका छन् जस्तै पार्टीको आन्तरिक सुधार (ताइवान,जर्मनी,पोर्तुगाल,नेदरल्याण्ड), नागरिक शिक्षा (स्वीडेन), भ्रष्टाचार विरुद्दमा तालीम (थाइल्याण्ड र फिलिपिन्स), महिला कोटा (नर्वे), प्रारम्भिक समितिको निर्वाचन (आर्जेन्टिना) आदि । नेपालका प्राय: सबै पार्टीहरूमा हामी उल्लिखित अधिकांश विशेषताहरूको नितान्त अभाव भएको पाउँछौँ। एउटा कल्याणकारी राज्यको निर्माण र बिकासमा लोकतान्त्रिक जवाफदेहीता,पारदर्शिता ,उत्तरदायी राजनीतिक कार्यक्रम, समावेशीकरण र सामाजिक गतिशीलता अत्यावश्यक हुन्छ । तर नेपालका पार्टीहरूमा हिजोआज यही कुराहरुको ससक्त अभाव भएको पाउँछौँ । यसैले गर्दा पार्टीहरूको छवि धमिलिनुको साथै पार्टीप्रति दिनदिनै तल्लो तहको जनताहरूको आस्था र विश्वास पनि घटिरहेको देखिन्छ। अर्को कुरा पार्टीमा कर्मचारी तन्त्र र सर्वसत्तावादी मानसिकता हावी हुनु भनेको स्वागतयोग्य कुरा होइन । यसको साथै नेपालमा पार्टी फण्डको लोकतन्त्रिकरण नहुनु र पार्टीमा धनी व्यक्तिहरूको बोलबाला हुनुले पनि पार्टीहरूलाई दिनदिनै विभाजनको रेखातिर डोर्‍याइरहेका छन्। त्यसैले पार्टी कोषलाई पारदर्शी ढंगले संचालन गरी राष्ट्रिय तथा अन्तर राष्ट्रिय आक्षेपहरूबाट अलग रहनुपर्छ। अरु उन्नत देशहरूमा तलदेखि माथि (Bottom to top) को प्रकृया चल्छ भने हाम्रा पार्टीहरूमा चाहिँ अझै माथिदेखि तल (Top to bottom) को प्रकृया चल्छ। यसबाहेक निर्णय प्रकृया र पार्टी नेतृत्त्वको निर्वाचनमा तल्लो तहमा रहेका व्यक्तिहरूको समान सहभागीता देखिंदैन। सबै पार्टीहरूमा मनोनयनको प्रथा अहिले पनि छँदै छ जुन कुरा एउटा अलोकतान्त्रिक प्रकृया हो। उदाहरणस्वरुप केही समय अघिसम्म पनि नेपाली कांग्रेसमा सभापतिद्वारा केन्द्रीय समितिमा ५० प्रतिशत सदस्य र सबै पदाधिकारीहरूको मनोनयन गर्ने व्यवस्था थियो । तर हाल नेपाली कांग्रेसका १२औं महाधिवेशनले यसलाई घटाएर २० प्रतिशत मा ओरालेका छ। त्यस्तै एमाले लगायत अन्य पार्टीहरुमा पनि यो मनोनयन प्रथा अद्यावधिसम्म पनि छँदै छ। उदाहरणस्वरुप एमालेमा अझै १५ प्रतिशत प्रतिनिधिहरू मनोनयन प्रथाद्वारा छनौट गरिन्छ। यसको साथै सबै पार्टीहरूमा महिला ,युवा,आदिवासी जनजाति ,मधेशी,सीमान्तिकृत ,अपाङ्ग, दलित समेतको सहभागीता हुनुपर्ने कुरामा पनि ठूलो आवाज आइरहेको छ। यदि उल्लिखित समस्याहरु रहिरहेमा पार्टीहरूमा निरन्तर भिभाजनको पीडाबोध ,घात अन्तर्घात हुँदैन भन्न सकिंदैन ।त्यसैले पार्टीको कुनै पनि निर्णय प्रकृयामा पार्टीव्रितको हरेक तह र तप्काका व्यक्तिहरूको आम सहभागिता हुनुपर्छ। यस बाहेक पार्टीको सबै तहको प्रतिनिधिहरूको छनौट गर्दा एउटा लोकतान्त्रिक आधारमा सम्पन्न गर्नुपर्छ। नेपालका पार्टीहरूमा सर्सरी हेर्दा नेतृत्व वर्गको चरित्र "सामान्ती संस्कार र आत्मकेन्द्री मानसिकता मा आधारित" भएको देखिन्छ । त्यसैले पार्टीका केन्द्रीय कमाण्डका शिर्षस्थ व्यक्तिहरूले जहिले पनि आफ्नै पार्टीभित्र एकाअर्काको व्यक्तित्वलाई समाप्त पार्न खोजिरहेको देखिन्छ । यसो गर्दा नेतृत्वको बिकास ठप्प हुन गइ संकटकालीन अवस्थामा पार्टीलाई आवश्यक पर्ने सुध्रिढ नेतृत्वको सधैं संकट भएको पाउछौँ । पार्टीमा गुटबन्दी ,बिभाजित समूह ,पारिवारिक राजनीति आदि हुन्छ तर यदि पार्टीलाई मज्बुत बनाउँदै लानु हो भने यस्ता विकृति र विसंगतिहरुलाई पनि क्रमिक्ररुपले हटाउँदै लानुपर्छ। निचोडमा भन्नु हो भने देश र पार्टीको हितलाई ध्यानमा राखेर कुनै पूर्वाग्रह नराखी लोकतान्त्रिक प्रकृयाद्वारा "हाम्रो मान्छे नभनी राम्रो मान्छेलाई "मात्र छनोट गर्ने परम्परा” बसाल्नुपर्छ।
आजभन्दा लगभग २०० वर्ष अगाडि विश्व राजनीतिमा कुनै पार्टी व्यवस्था थिएन । तीन ताकका राजनीतिज्ञहरूले पार्टी व्यवस्था अंगालियो भने भ्रष्टाचार बढ्नुको साथै देशसमेत टुक्रिनसक्छ भन्थे । तर हामी अहिले पार्टीहरू बिना कुनै पनि लोकतन्त्रको कल्पना गर्न सक्दैनौ । त्यसैले हिजोआज पार्टीहरूलाई लोकतन्त्रको आधारस्तम्भ भनिएको छ । तर अहिले देशमा अन्तर पार्टी लोकतन्त्रद्वारा के कसरी पार्टी र देशको लोकतन्त्रीकरण, समाजीकीकरण र आधुनिकीकरण गर्ने भन्ने राष्ट्रिय चुनौतीहरू आएका छन् । आजको विश्वव्यापीकरणको युगमा पार्टीहरू सैद्धान्तिक घेरामा मात्र सीमित भएर बस्न चाहँदैनन् । ती पार्टीहरूले एकार्काबाट धेरै नीति र कार्यक्रमहरू ग्रहण गरिराखेका हुन्छन् । यस्तो स्थितिमा नेपालमा पनि बढ्दो दलहरूको संकिर्ण सोचलाई ध्यानमा राखेर अन्तर पार्टी लोकतन्त्रको सामाजिकीकरण गर्नुको साथै भावनात्मक एकता , राष्ट्रिय एकता , आपसी सहयोग र सम्झौताद्वारा लोकतान्त्रिक नागरिक संस्कृतिको अभिव्रिद्धि गर्दै लानुपर्ने देखिन्छ । अहिले विश्वमा नै सबभन्दा बढी सम्स्याहरूको रुपमा प्रस्तुत हुन आएका केही बिषयहरू छन् जस्तै पार्टीको प्रारम्भिक तहमा निर्वाचन गरिनुपर्ने , पार्टीको संगठनात्मक स्वरुप लोकतान्त्रिक हुनुपर्ने , पार्टीहरुले पार्टी कोषको सदुपयोग गर्नुपर्ने ,पार्टीले आफ्ना कार्यकर्ताहरूलाई नागरिक शिक्षाद्वारा सुशिक्षित तुल्याउनुपर्ने, पार्टीहरू बढी समावेशी र प्रतिनिधित्वपूर्ण बन्न पर्ने ,अन्तर दलीय संस्कार हुनुपर्ने आदि । यदि यस्ता कुराहरुको अभाव देखिएमा भर्खरै हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा बिस्तार बिस्तारै लोकतन्त्र नष्ट हुनुको साथै देशसमेत विखण्डन हुनसक्ने हुनाले यथा समयमा नै पार्टीहरूले यसतर्फ पनि ध्यान दिने बेला आएको छ।
nembang_mune@yahoo.com