Feb 24, 2010

नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा

डा. गोविन्दराज भट्टरार्इ
घरदेखि यति टाढा रहेका वन्धुवान्धवसँग भेट गर्ने सुयोग परेको यो बेला मेरो हृदय आनन्दातिरेकले नाचेको छ । यो हर्षप्रकट गर्न शब्दको अभाव भएझैँ लाग्दैछ । यहाँ आइपुगेको बेला र्सवप्रथम त हाम्रो हृदयमा एउटा साझा भूमिको कल्पनाले हुन्छ, त्यसपछि मनलाई एउटा विशाल भाषाले उनिएका छौँ भन्ने भावनाले हुन्छ । त्योभन्दा बढी त्यही भाषाको समृद्धि र निरन्तरताको लागि अनेक त्याग र तपस्यामा लाग्नुहुने तपाईंहरूको सामुन्ने उभिन पाएको छु भन्ने सम्झँदा आनन्दले मेरो मन भरिएर आउँछ । किनभने यतिखेर हामी त्यो साझा भूमिमा उभिएर यसरी हृदय पोखिहेका छैनौँ टाढा छौँ, भिन्न जस्तै छौँ, एक नोस्टालिजयाले जोडिएको सम्झँदै यहाँ यो समय भोगिरहेका छौँ । यहाँ भूगोल भिन्न छ, संस्कृति भिन्न छ, भाषा परिवार भिन्न छन् । सबै पृथकताहरूको बीचमा पनि कहिल्यै भिन्न हुन नदिने एक नेपाली चेतना छ । त्यही जातीय चेतनाले हामी जोडिएका छौँ । आज यसरी अनेक भिन्नतामा बसोबास गर्ने नेपालीको सङ्ख्या ५० लाख पुगेको अनुमान छ । यसको सही तथ्याङ्क पत्ता लगाउन, विश्वका ५५ देशमा वितरित नेपाली जातिको अवस्थिति, परिवेश र सङ्ख्याको आँकलन गर्न एसोसिएन अव् अमेरिकन नेपलिज (आना) ले हालै एउटा कार्य-प्रस्ताव राखेको छ । त्यसले एउटा ग्लोबल नेटवर्कको स्थापना गरी देशपारीय भूभागमा छरिएका पिपल अव नेपाली ओरिजिन (पी.एन.ओ.) को साझा परिचयको स्थापना गर्नेछ । पी.एन.ओ. ले ५५ देश भनेको छ ।
यसमा शायद भारतीय भूमि बाहेककै नेपाली होलान् । भारतीय नेपालीको आंसिक परिचय स्थापित भइसक्यो; ती पूर्णताको लागि सङ्घर्षरत छन् । यसरी भिन्न भूभागमा अनेक अन्तर भोगेर बस्ने छरिएको जातिलाई देशपारीय समुदाय (डायास्पोरिक कम्युनिटि) भनिन्छ । यी सिङ्गै देश बन्न अथवा अर्धदेश बन्न धेरै समय लाग्ला, त्यसैले ती सांस्कृतिक समुदायको रूपमा चिनिन्छन् । भारतीयले सुरिनाम क्यानाडा, बेलायत लगायतका भूभागमा राजनीतिक सामाजिक स्थान बनाइसके, नेपाली अलिक पछि छन् । म यहाँ डायास्पोराको सोसिओ-पोलिटिकल प्रसङ्ग छोडेर केवल साहित्यको चर्चा गर्न चाहन्छु; हङकङेली डायास्पोराको नेपाली साहित्यलाई छुन चाहन्छु । यस्तरी दुर्इ भूभागमा जोडिएका जाति, तिनीहरूका भाषा संस्कृति योजक-चिन्हित (हाइफनेटिड) भनिन्छन् । अब अमेरिकी-नेपाली, भारतीय-नेपाली, हङकङे-नेपाली योजक-चिह्नीत परिचय भइसकेका छन् । यस्ता प्रकारका योजक-चिह्नीत परादेशीय केन्द्रमा बेलायत, अमेरिका, हङकङ, मलेसिया, रुस, बर्मा, खाडी मुलुक पर्लान् । अरू अनेक नयाँ मुलक थपेर ५५ पुगेका छन् ।आज म अलिकति हङकङमा अवतरण गर्न चाहन्छु । त्यो भन्दा पूर्व हाम्रो वर्तमान बँचाइलाई अर्थ्याउने विश्वपरिस्थितिको पनि चर्चा गर्न चाहन्छु । सर्बप्रथम त म नेपाली साहित्यप्रतिष्ठान, हङकङलाई हृदयदेखि उठेको आफ्नो प्रेम अर्पण गर्न चाहन्छु । मेरो जीवनमा एक ठूलो संयोगको कुरो हो कि गतवर्ष एउटा डायास्योरिक केन्द्रबाट आरम्भ गरिएको अनलाइन प्रकाशनको दसौँ वाषिर्कोत्सवमा भाग लिन रुस पुग्ने अवसर मिलेको थियो । यशपल्ट हङकङको सबैभन्दा पुरानो संस्थाको साहित्यिक क्रियाकलापको दशवर्षे कार्यक्रममा यहाँ सहभागी हुने अवसर प्राप्त भयो । यी दशवर्षहरू नेपाली साहित्यको जस्तै मेरो मनको इतिहासमा सदा स्मरणीय रहनेछन् । नेपाली साहित्यको दीर्घ इतिहासमा दशवर्षको अवधि नगन्य हो त जब हङकङतिर फर्किहेर्छौं यो नवीन इतिहासको प्रथम माइलखुट्टी एक दशकसम्म अविचलित भई चलिरहनु, अनेक अभावमा, कष्टमा, वातावरण प्रतिकूल भएको स्थानमा लागिरहनु र एउटा सुदृढ भविष्यको दिशाबोध गराइरहनु सानो तपस्या होइन । सन् २००० मा रार्इचन्द्र दुमी अध्यक्ष भएको आरम्भविन्दुदेखि आज टंक सम्बाहाम्फेको पालामा आयोजित यो कार्यक्रम र यसले निर्माण गर्ने इतिहास हेर्दा हाम्रो मनमा हर्ष शिवाय केही बाँकी छैन ।त्यसो त यो मनमा 'हङकङ' शब्द कहिलेदेखि ध्वनित भयो म भन्न सक्तिन हाम्रा वरिपरि तल्ला क्याप्टन, माथ्ला क्याप्टन, सत्ताइस जस्ता सेवानिवृत्तहरू दमक वरिपरि थिए । क्याप्टेन भगतबहादुर रार्इले रोमन लिपिमा पर्वते पत्रिका लगेर मलाई देखाउँथे- हेर्नुस् गुरुजी हाम्रोमा सबै कुरा अङ्ग्रेजीमा हुन्छ । पछि १९९७ को ऐतिहासिक सन्धीकाल भोग्दै गुज्रिरहेको उद्वेलित हङकङलाई टाढाबाट हेर्‍यौँ । त्यसमा मुक्ति र बन्धनका दुवै सन्देश थिए । नेपालीको एक पुस्ताले अनुभव गर्‍यो । लेख्यो पनि । सुदूरको इतिहासदेखि यहाँ नेपाली जाति गोर्खा भएर पसेको कथा छ ।
त्यसको जीवन्त प्रस्तुति छ गणेश रार्इको युद्ध एम्बुसमा राइफलको सङ्गीत । त्यो पढ्दा यो धरती नेपाली रगत पसिनाले उसैबेला भिजेको देखाउँछ तर इतिहासको परिवर्तनले कत्राकत्रा सभ्यतामा भूकम्प ल्याउँछ; त्यहाँ पहिरो चल्छ फेरि त्यहाँ नयाँ उत्तीस पलाउँछ । सायद हङकङको नेपालीलाई १९९७ ले अर्कै कालखण्डमा उतार्‍यो । पछिको हङकङ एक पहिरोपश्चात् नयाँ विरुवा पलाएको भयो । यसपाली भारत-नेपाल कविता सम्मेलनमा सहभागी भै देहरादून पुग्दा देखेँ- त्यहाँको नेपाली जाति सुगौली सन्धीको पहिरामा पलाएको उत्तीस झै छ । यहाँको 'बिएफबिएस' मा लामो समय सेवा गर्ने श्री किशोर गुरुङलाई पछि नेपालमा स्वागत गर्‍यौँ । रुसमा त्यस्तै भएको थियो । १९९० को परिवर्तन पश्चात् रेडियो मस्कोको नेपाली सेवा सदाको लागि बन्द भयो । एउटा मर्छ अर्को कतै पलाउँछ पनि । क्षतिपूर्ति भएकै छ । बेलायतमा, अमेरिकामा आज आफ्नै भाषामा पत्रपत्रिका, रेडियो, टि.भि. चलेको सुन्दा हामीलाई यस्तो लाग्छ । त्यो नयाँ समयपश्चात् यहाँ स्थापित हुन थालेका मेरा पुराना विद्यार्थी टंक सम्बाहाम्फे मलाई भेट गर्न एकदिन मेरोमा (काठमाडौँ) पुग्नु भयो । त्यहाँदेखि भिडियो क्यामेरामा मेरो अन्तर्वार्ता भरेर यता ल्याई अविरामको एक अङ्कमा छाप्नु भयो । पछि चौवीसेको गोरेटोमा पनि अर्को रचना छापिदिनु भयो । ती दिनमा नेपाली साहित्य प्रतिष्ठानको स्थापना भइसकेको थियो । अघिको नेपाल पोस्टमा केही लेखेँ र भर्खरको सनराइजको प्रवेशाङ्कमा पनि लेख्न थालेको थिएँ । तर ती प्रकाशनले यतिखेर थकाइ मारिरहेका छन् जस्तो लाग्छ । म टंक भाइका कविता पढ्न थालेँ, पछि गीत सुन्न लागेँ । एक साहित्यचेतना भएका अग्रणी युवा, निःस्वार्थ र प्रचारको मोह नगर्ने टंकको विनम्रताले मलाई अझै छोएकै छ ।म यी अन्तरालका वर्षहरूमा धमीलो गरी मात्र हङकङसित जोडिएर रहेँ । यहाँबाट प्रतिष्ठानले प्रकाशित गरेका शिव श्रेष्ठको छरिएको सिन्दुर, टंक सम्बाहाम्फेको युद्धभित्र उभिएका बुद्धहरू, दिल पालुङ्वाको त्यान्द्रो, संयुक्त कथासङ्ग्रह यथार्थका चोइटाहरू जस्ता कृति पढ्दै गएँ । नेपाली माध्यमको उच्चशिक्षालय, प्रकाशन संस्थान, पुस्तकालय, विश्वविद्यालय नभएको नयाँ ठाउँमा जेजति हुन्छ त्यो सारा नेपालमै शिक्षा ग्रहण गरेर आएका जातिप्रेमीहरूले लिएको उत्साहले मात्र भएको छ । उनीहरूले कठोर श्रमबाट समय उभारेर रचेका, गाँस काटेर छपाएका कृतिको अर्थात् अँध्यारोमा जलाएका ससाना दीपकको आज ठूलो ऐतिहासिक महत्त्व छ ।विस्तारै यताका वर्षा अरू लेखकसित म कृतिमार्फत अनि व्यक्तिगत भेटमा पनि नजिकिँदै गएँ । यसैबेला साहित्य सिद्धान्तको जगत्मा नयाँ अवधारणा आयो- डायास्पोरिक लेखन, यसको विशेषता, यसको मूलधार लेखनसितको सम्बन्ध, समानता र भिन्नताका सिद्धान्त आए, यसरी म हङकङतिर तिनै दृष्टिले पनि हेर्न लागेँ । भिन्न मातृभाषी विविध संस्कृतिका स्रष्टाले गर्ने सिर्जनामा जातीयता र वहुल संस्कृतिको प्रभाव र त्यसको महङ्खवको व्याख्या गर्ने साहित्य सिद्धान्त निस्किए, सिद्धान्तकार निस्किए । म त्यसरी पनि हङकङलाई हेर्न लागेँ । गर्दागर्दै अघिदेखि नै उदाएका त्यस्ता नयाँ चेतना बोकेर आउने स्रष्टासित पनि मेरो सम्पर्क बढ्दै गयो- रामकृष्ण वान्तवाको आमा छोरी र सघन तुवाँलो (त्यसको रूपान्तरण स्रिल मिस्ट) हेरेँ; देश सुब्बाको अपमान हेरेँ, सृजनशील साहित्य समाजको हङकङमा कविता हेरेँ, हाङयुगहरूको सृजनशीलता विषयक समीक्षा हेरेँ, देश सुब्बाको भयवादको अवधारण र पछिको आदिवासी हेरेँ । नरेश सुनुवारको 'जिन्दगीको पहाड र अस्तित्वको रा“कुदेले सेक्सेलेले...' पढेँ । अन्त्यमा दीपा एवार्इ रार्इको अर्धवृत्त पढेँ । यसबिचमा मैले टंक सम्वाहाम्फे, हाङयुग, देश सुब्बा, नेपाल कुश्शा, डीवी पालुङवा, नरेश सुनुवारबारे केही बोलेको लेखेको पनि छु । उनीहरूका योगदानको चर्चा गरेको छु । यसबारे प्रकाश पार्दै आएको छु । अघि हङकङ बसेर अहिले बसार्इ सरेका गणेश रार्इका शक्तिशाली सिर्जना कृतिहरू र जया रार्इको डम्बरी बारे लेखेको छु, मदन माबोको बारे बोलेको छु । सकेसम्म बुझौँ भन्छु कति सम्पर्क र समयको अभावले कति आफ्नै अज्ञानताले हङकङमा अन्धकार दिनहरूमा नेपाली संस्कृतिको जगमा ढुङ्गा चढाउनेहरू महलमा गारो लगाउनेहरू कति छोपिएका होलान् । यो ठूलो अनुसन्धानले मात्र उद्घाटन गर्न सक्तछ । म यसतर्फसचेत छु । यसो गर्दागर्दै साइबर जगत्को उदय भयो । यहाँ समाचार र अझ साहित्यका साइटले नेपाली वाङ्मयको निर्माणमा अत्यन्तै ठूलो योग्दान गर्दैछन्- बगैँचा, सिर्जना, मूलबाटो आदि चलेका छन् । अझ कविताकुसुम ता नेसाप्रको समानान्तर उत्थापक भएर इ-विश्वमा वितरित छ । अरू छन् एचके नेपाल, नेपाल एचके, फियरिजम, लिम्बुवान- प्रत्येकले नेपालीको समाचार, सूचना, चेतना, भावना अनेक कुरा बोकेर उडिरहेका छन् ।
हङकङ यसप्रकारले दृश्य अदृश्य दुवै माध्यमले उठ्दै छ । यो टाढाबाट देखिने सुनिने हुँदैछ । यसरी यसलाई चिनाउने शक्ति नेपाली जातिको सङ्ख्या होइन उनीहरूमा रहेको साहित्य कला सङ्गीतप्रतिको चेतना हो जुन कुरालाई विश्वले सभ्यताको मार्ग ठान्दछ, यो तिनैको अनुशरण हो । यसतर्फलाग्ने अग्रणी चेतनामध्ये, जगको ऐतिहासिक ढुङ्गोमध्ये नेपाली साहित्य प्रतिष्ठान र यसलाई निरन्तरता दिनेहरू हुनुहुन्छ । आज म तपाईंहरू सबैप्रति सम्पूर्ण नेपाली साहित्यकारको तर्फबाट विशेष कृतज्ञता र साधुवाद अर्पण गर्दछु । नेपाली साहित्य प्रतिष्ठानको दशौँ वाषिर्कोत्सव स्मारिकाले धेरै कुरा प्रकट गरेको छ । यसले द वेष्ट अफ हङकङलाई समाहित गरेको छ । सङ्गीत, कला, खेलकुद, पत्रकारिता लगायतका जीवनका अन्य पक्ष समेट्ने अन्य माध्यम र इतिहास होलान् तर हङकङको साहित्यको उज्यालो, यसमा लाग्ने हुर्किने एकमत हुने अनेकमतले हेर्नै सबै शक्तिलाई यहाँ भेटेँ । यो एक अत्यन्तै ठूलो महत्त्वको ऐतिहासिक प्रकाशन हो । यसमा खारिएका चिन्तक अध्येता, स्रष्टा, समालोचक, समीक्षक, पत्रकारको एउटा जुझारु एलिट समूहको उपस्थिति छ । हङकङेली साहित्य के हो, यो कसरी उठेर कता जाँदैछ, यसका विशेषता के हुन्, यसले भोगेका अभाव र अप्ठ्यारा के हुन् अनि उपलब्धी के हुन् ? ती सबै कुरा यहाँ प्रस्टिएका छन् । हङकङ एक मार्जिनल समुदाय हो । वर्तमान परिस्थितिले हेर्दा कुनै पनि मर्जिनालिटि लोप हुनेछैन । किनभने विश्वमानवतावाद त्यहाँसम्म पुगेको छध्र त्यो अर्धविलयनसम्म पुग्छ तर त्यसले अस्तित्व रक्षाको लागि प्रयास गरिरहनु पर्दछ । यो कुरा स्वीकार्दै देश सुब्बा बोलेका छन्- "हामी यहाँको जातिको अहिले नभए पनि भविष्यमा मिसिने प्रजाति हौँ । जातिसँगै भाषा, लिपि, धर्मसंस्कार गाँसिन्छ । त्यो नै साहित्य हो ।" हो पनि अहिलेको साहित्य संस्कृतिको मात्र होइन, सभ्यताकै एक पाटो यस्तो मिश्रति हुँदैछ । मस्कोमा देखेँ- नयाँ पुस्ताका नानीहरू रुसी माध्यममा पढिरहेका छन्; परिणामस्वरूप एकप्रकारको हाइब्रिड संस्कृतिको स्वीकृति चेतनाले प्रवेश गर्दैछ । फेरि अङ्ग्रेजीको प्रवेशले गर्दा विश्वको नयाँ पुस्ता झन्डै झन्डै एकाम्मे हुँदैछ । मैले यहाँका साइटतिर पनि डुल्दा देखेँ- एक नवीन पुस्ताको र्सवत्र नै उदय हुँदैछ । बेलायती-नेपाली, अमेरिकी-नेपाली आफ्ना सन्तानको अङ्ग्रेजीकरण भएकामा हर्षले उचालिएका र सँगसँगै चिन्ताले सुकेका पनि छन् । यहाँ हङकङमा, मलेसियामा, कोरिया, जापान तथा अन्य नन-इङ्ग्लिस स्पिकिङ कन्ट्रिको अभिभावकको मनमा नानीहरूको शिक्षामाध्यमप्रतिको केकस्तो चिन्ता छ मलाई थाहा छैन । यद्यपि नेपाली साहित्य प्रतिष्ठान हङकङको एघारौँ उद्देश्यमा भनिएको छ- हङकङ सरकारसँग नेपाली भाषा पढ्न पाउने व्यवस्थाका लागि आवश्यक पहल गर्ने । वास्तवमा तपाईंहरूका अनेक गन्तव्यमध्ये एक यही हो । बेलायतका पुराना यति नेपाल एसोसिएसन नेपाली साहित्य विकास परिषद अनि हालैको नेपाली प्रतिभा प्रतिष्ठानले पनि यस्तै एक उद्देश्य राखेका छन् भने अनेसासले आफ्ना मूल अभियानमा एक यही राखेको छ । त्यतातिर काम गर्दैछ । यतिखेर अमेरिकी-नेपाली भाषा संस्कृतिको विस्तार हुन थालेको र बेलायतमा त्यसको तयारी हुन थालेको कुराले हामीलाई कत्रो आनन्द दिन्छ !प्रत्येक डायास्पोराले आफ्नो प्रकृतिको भाषा, साहित्य, संस्कृति- सभ्यताका सबै पक्षको स्थापना र विस्तारमा लागिपर्नु पर्ने हुन्छ । हङकङको साहित्यले पनि त्यही भन्छ । यसैले गर्दा भोलि भाषिक मान्यता भएपछि आफ्नो माध्यमका आफ्नो जलवायुमा हुर्केका पाठ्यपुस्तकदेखि यावत सामग्री तपाईहरूद्वारा उत्पादित नै प्रयोग हुने छन् । गतवर्षसिलाङको यात्रामा देखेँ- स्थानीय विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठयसामग्री उनीहरू आफैले बनाएका छन् । हङकङ पनि भोलि यसरी इन्डिपेन्डेन्ट र आत्मनिर्भर बन्ने दिन आउनेछ । त्यसैले आज हङकङले उत्पादन गरेको एकएक अक्षरको भोलि पूजा हुनेछ । यसले कथा, कविता, उपन्यास, उत्पादन गरेको छ । यसबाट निबन्ध, समालोचना, यात्रा संस्मरणलगायतका विविध विधामा आफ्ना स्रष्टा उभ्याउनु पर्दछ । यसपाली पाँचथर जाँदा पनि मोहन दुखुनसित भेट भयो- भारतीय नेपाली साहित्यको उचाइ देखाउन उनलाई भारतीय-नेपाली साहित्यका महाकवि पदवी प्रदान गरिएको थियो । पारसमणि प्रधानले नेपाली भाषाको मान्यता खोज्दा अङ्ग्रेजले दिएनन्, तर आज भारतीय-नेपाली हरेक विधामा बराबरी छ । हङकङमा, बेलायतमा, अमेरिका सम्पूर्ण नेपाली डायास्पोरामा यही नियम लागू हुनेछ । तपाईंहरू यो ठाउँमा रहँदा कतिपल्ट अन्तरात्माको पुकारले साहित्यमा लाग्नु भयो, कति जातीय पहिचानको लागि पनि । यस सन्दर्भमा भोगेन एक्लेका शब्द मननीय छन्- हङकङको दशकभन्दा लामो बसाइमा रसिलो महसूस भएको छ त केवल साहित्यले गर्दा । यसरी सृष्टिको एकान्तिकतामा पनि मानव साहित्यसँग संवाद गर्दै बाँच्ने उपाय गर्दछ । अशोक रार्इको तथ्याङ्क छ- हङकङेली डायास्पोरामा ९५ प्रतिशतभन्दा ज्यादा नेपाली आदिवासी छन् र उनीहरूको सामाजिक, वैचारिक र सांस्कृतिक आग्रहलाई साहित्यको माध्यमले वकालत गरिरहेका छन् । यसरी एकतिर व्यक्तिगत अभिव्यञ्जना र सामाजिक वाणी भएर साहित्य उभिएको छ भने अर्कातिर साहित्यको माध्यम भएर अत्यन्तै उच्च समयातीत मूल्य बोक्ने सिर्जनाहरू आउँदैछन् । यहीँको भाषासाहित्यले अभ्यास गर्दागर्दै जन्माएका राम्रा चिन्तकहरू तपाईंमाझ देखेँ मैले । डीवी पालुङ्वाको भनाइमा रहेको शास्वतताले हामीलाई अल्टिमेट र इन्फीनिट गोलतिर लान्छ- साहित्य आफैमा सुन्दर विचार र आदर्श बोकेर आएको सभ्य र सुसंस्कृत शब्द हो । साहित्यलाई स्वीकार गर्नु भनेको सभ्य शिक्षित र सुसंस्कृत समाजलाई स्वीकार्नु जस्तै हो । अथवा जीवन र जगत्लाई हेर्ने अनेकौँ प्रविधिमध्ये एक उच्च र विशिष्ट खाले माध्यम शायद साहित्य नै हुनुपर्छ । यस्तो सोच्नेहरू के हङकङेली साहित्यले जन्माएका प्रतिभा होइनन् ?त्यसैगरी डीबी पालुङवाको हृदय गम्भीरताले छाएको छ- हाम्रो भाषा, लिपि र धर्मविनाको कुनै तुक छैन । विमल र्राईको भावनामा पनि तात्कालिकभन्दा परका, जीवनको कठोर यथार्थका आस्तित्विक प्रश्न उठेका छन् । हङकङमा नेपाली जातिको अस्तित्व चिन्तनमा समर्पित प्रकारान्तरले नेपाली वाङमयको श्रीवृद्धिमा चिन्तित चन्द्र रार्इ दुमी, टंक सम्वाहाम्फे, क्रान्ति वनेम, शिव प्रधान, देश सुब्बा, शरण सुब्बा, बसन्त निरौला, जया रार्इ, विमल रार्इ, दिल पालुङवा, राम अङ्दम्बे, विमला सुच्चा रार्इहरूको चेतना परिस्कृत छ । नरेश सुनुवार, हाङयुग अज्ञात, प्रकाश केसी, प्रदीप कन्दङ्बा, भोगेन एक्ले, अशोक रार्इ, चन्द्र मादेन, हनेसाभित्रका, बाहिरका जता रहेर पनि हङकङमा नेपाली जातिको चिन्तामा समर्पितहरूप्रति हृदयले सम्मान र प्रेम अर्पण गर्दछु । कति स्रष्टाले हङकङेली साहित्यमा स्तरीयताको अभावको चिन्ता पनि गर्नु भएको सुन्दैछु । तर अहिले त्यस्तो भावनालाई स्थान दिनु हुँदैन । चरीको सवाइदेखि अनेक प्रकारका लहरी साहित्य र स्तोत्रावलीबाट सुरु भएको नेपाली साहित्यले आज एकैचोटी एउटा भिन्न भूभागबाट उपन्यास, कथा, कविताका सङ्ग्रह पाउनु सानो कुरा होइन । यतिखेर गुणात्मकभन्दा बढी यहाँका प्रयत्नलाई र सङ्ख्यालाई नै आधार मान्नु पर्छ । वाङमय विकासको उपयुक्त वातावरण नभएको यस्तो ठाउँबाट जीवनका विविध कटु यथार्थता झेल्दै साहित्यमा गरिएको लगानी प्रशंसनीय छ । बरु यहाँ हङकङेली समालोचना, नाटक, काव्य, महाकाव्य, जीवनी, बालसाहित्य र यहीँको जीवनलाई छोएर लेखिएका अरू कृति चाहिएका छन् । यतिबेला प्रत्येक डायास्पोरिक केन्द्रले सबै विधामा आफ्नो शक्ति उत्पन्न गर्नु पर्दछ । आज गरिएको कर्म प्रथम हुनेबेला छ, प्रथम कार्य गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बेला छ ।
भयवाद र आदिवासीसँग सम्बद्ध एक रचना प्रकाशनपश्चात प्रकाश केसीले आफ्ना केही आलोचनात्मक धारणा प्रस्तुत गर्नु भएको थियो । त्यसमा मेरा केही अनभिज्ञता पनि पनि थिए, तर डायास्पोरामा दुःखमा हुर्किरहेकाहरू, भौतिकबाट सांस्कृतिक आध्यात्मिक मार्गतिर समर्पितहरूको प्रथम यात्रा हो । कटु आलोचनाले त्यो कोपिलैमा ओइलाउने डर हुन्छ, यसप्रति म सधैँ सचेत छु । विश्वपरिस्थितिको नवीन प्रभावमा परेर नेपाली साहित्यले देखाएको दिशापरिवर्तनको चेष्टाबारे मैले उत्तरआधुनिक ऐना (२०६२) मा अवगत गराएको थिएँ । त्यसका नयाँ सिमाना अन्तर्गतका रचनाले त्यो बताउँछन् । नयाँ वाङमयिक केन्द्रहरूको विस्तार शीर्षक रचनाको अन्त्यमा लेखेको थिएँ अब यस्तो प्रकृतिको साहित्यलाई डायास्पोरिक साहित्यको विशेषता अनुसार अध्ययन र विश्लेषण गर्नुपर्दछ । । यसको समालोचना समेत फरकै हुन्छ । नयाँ दिशा बुझाउने प्रत्यनमा म निरन्तर लागिरहेँ । अन्तरार्ष्ट्रिय नेपाली समुदायाबट अरू प्रोत्साहन र प्रेरणा प्राप्त गरें । त्यसको दुर्इवर्ष पश्चात प्रकाशित उत्तरआधुनिक विमर्श (२०६४) मा डायास्पोरा/आप्रवासी साहित्य शीर्षक एउटा लामो खण्ड समर्पित गरेँ । त्यसैमा हङकङेली साहित्यबारे पनि केही चर्चा प्रस्तुत गरेको छु । ती दिनमा पनि ममा अध्ययनको कमी थियो । धेरै स्रोत मैले कवि भाई हाङयुगबाट लिएँ । लेखको एउटा सारांश छ- हङकङेली साहित्यकारहरू विविध रुचिका हुनाले संस्था धेरै खुल्छन्; धेरै निष्क्रिय रहन्छन् । तर त्यस्तो सारांशमा टुङ्ग्याउनु हुँदैन थियो जस्तो ठान्दछु किनकि बहुलताको समयमा हामीले जगत्को विविधतालाई प्रोत्साहित गर्नु पर्छ । धेरैबाट प्रतिस्पर्धाले, प्रतियोगिताले छानेर समयले आफै राम्रो विरुवा हुर्किन्छ । यो चिन्ताको विषय होइन । करिब एक दशकको प्रयत्न पश्चात् डायास्पोरा साहित्य त्रिभुवन विश्वविद्यालको दृष्टिमा पर्न थालेको छ । एउटा विद्यावारिधी प्रदान भइसकेको छ भने एम.ए. लेभलको शोधार्थीले यस कार्यको थालनीसमेत गरेका छन् । यस बर्ष देखि त्रि.वि. नेपाली केन्द्रीय विभागमा डायास्पोरा अध्ययन कक्ष खुल्ने र एम.फिल., पिएचडी तहको शोधार्थीको लागि एनआएन र अनेसासले छात्रवृत्ति दिने घोषणा गरेको छ, यो ऐतिहासिक निर्णयको नेपालीविश्वले स्वागत गरिरहेको छ । त्यसकारण तपाईंहरू उत्साहित भइरहनोस् । भोलि तपाईंका प्रत्येक साहित्यिक योगदानको मूल्याङ्कन र सम्मान हुनेछ । मेरो दृष्टिमा अमेरिका, बेलायत पछि हङकङ डायास्पोराको स्थान आउँछ । लेख्नुहोस्, पढ्नुहोस्, प्रिन्ट र इलेक्ट्रोनिक दुवै माध्यममा जानुहोस्, हङकङलाई साहित्यका सबै विधाले भर्नोस्- संस्थाहरू अरू बढाउनोस्, हङकङप्रति विश्वनेपालीले सदा गौरब गर्नेछन् । हङकङ अत्यन्तै सचेत स्रष्टा चिन्तक र बौद्धिक व्यक्तित्वले भरिएको लाग्यो । अर्को एउटा गौरव गर्नयोग्य प्रमाण छ- हङकङका आभाङगार्डहरू । यसको सन्दर्भमा म तीन जनाको नाम लिन चाहन्छु- हाङयुग अज्ञात, देश सुब्बा र हालैकी दीपा रार्इ । त्यसो त हाङयुगले सिर्जनशील साहित्य समाजको स्थापना र विस्तार नेपालमै गरेर आएका हुन्, तर त्यस व्यानरसबाट यहाँको केन्द्र विस्तारमा अत्यन्तै ठूलो योगदान पुर्‍याएका छन् । हङकङकै माटोमा सिर्जनालाई आकार दिँदै आएका देश सुब्बा एक अविष्कारक चेतना भएका चिन्तक स्रष्टा हुन् । उनको भयवाद नेपाली साहित्यिक आन्दोलनमा एक महत्वपूर्ण विषय भएर आएको छ । उनमा पनि गहिरो दर्शन चेतना छ । दर्शनबेगरको सिर्जना दिशाहीन शब्दजङ्गल मात्र हुन्छ । करिब तीन दर्जन साहित्यिक आन्दोलनमा भारतभूमीबाट दुर्इवटा जन्मिए समुद्रपारबाट सोचिएको भयवाद पहिलो हो ।
नेपाली साहित्यको अमर इतिहासमा देश कहिल्यै नमर्ने गरी रहने छन् । सृजनशीलताको पनि सम्पोषण त यहीँबाट हुँदैछ भने हालै मात्र प्रकाशमा आएको दीपा रार्इको अर्धवृत्त, मोतीराम भट्टको मोतीमण्डलीदेखि आज सम्मको इतिहासमा जन्मेको पहिलो नारी स्रष्टाद्वारा आविष्कृत एक नवीनतम विचार हो । यो कुरा पनि नेपाली इतिहासमा अमर भै रहनेछ । यसबाट हामीलाई नेपाली साहित्य आज कहाँ पुग्यो, यसले कत्रा फड्का नाघ्दै छ यो थाहा हुनेछ यस्ता उपलब्धी सम्झिँदा हृदय गौरवले भरिन्छ । हाङयुग, देश, दीपा तीनै विचारक असल दर्जाका मौलिक स्रष्टा पनि हुन् । अन्त्यमा, यी सबैभन्दा फरक, कतै कुनै फलको आशा नगरी केवल त्याग र तपस्याको मात्रै भावले नेपाली साहित्यको सेवामा लागिरहने टंक सम्बाहाम्फेप्रतिको स्नेह, प्रेम र प्रसंशाभावले यो हृदय भरिएको छ । आज खुसी, आनन्द र हर्षको अपार तरङ्ग उठेको बेला तपाईंहरू सम्पूर्ण हङकङे नेपालीप्रति शिर निहुराउँदै म यहीँ रोकिन्छु । धन्यवाद ।
(नेपाली साहित्य प्रतिष्ठान हङकङको दसौँ वार्षिकोत्सवको उपलक्ष्यमा १ फागुन २०६६ (१३ फेव्रुवरी २०१०) को दिन हङकङमा प्रस्तुत विचारपत्र)
१५ माघ २०६६ कीर्तिपुर, काठमाडौँ, नेपाल

सङ्घ, जाति र नेपाली नागरिक

प्रदीप नेपाल
लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेको राजकीय निकायमा नागरिकको सक्रिय हस्तक्षेप हो । यो सामान्य ज्ञानका बारेमा नेपालको नयाँ संविधान बनाउने माननीय सभासदहरूलाई थप केही भनिरहनु परोइन । यतिबेलाको उन्मादी सङ्घीयताका बारेमा केही लेख्न र बोल्न पनि नेपाली नागरिकले डराउनु पर्ने परिस्थिति उत्पन्न गराइएको छ । तर डराएर न देश चल्छ न समाज अघि बढ्छ । देखेको कुरा बोल्न र लेख्न डराउने हो भने त अन्याय अत्याचारका विरुद्ध कसैले मुखै खोल्नु हुँदैन भनेर नयाँ राजनीतिक सिद्धान्त स्थापना गर्दा हुन्छ ।
सङ्घीयताको विपक्षमा राजनीतिक राय राख्नेहरूलाई सङ्घीयताका पक्षधरहरूले धम्क्याउने, तर्साउने, पाटे छडले कुट्ने र नाक काट्नेसम्मको काम गरिसकेका छन् । सङ्घीयताका विपक्षमा बोल्नेहरूलाई नेपालमा बाँच्न पनि दिनु हुँदैन भन्ने 'फतवा' पनि जारी गरेका छन् । यसको अर्थ के हो भने नेपालमा सङ्घीयताका पक्षधरहरू समेत असहिष्णु, स्वार्थी, अराजक र निरङ्कुश सोचमा बाँचिरहेका छन् । नाम सङ्घीयता जस्तो पुँजीवादी विकासको माथिल्लो रूपको लिए पनि नेपालका सङ्घवादीहरू राजा महेन्द्र या ज्ञानेन्द्रको एकलौटी सत्ताचेतमा बाँचिरहेका छन् । जो सङ्घीयताको पक्षमा छन् ती क, ख, ग, घ राज्यमा बाँच्न पाउँछन्, तर जो सङ्घीयताको विपक्षमा छन् तिनीहरूले यो नेपाल नाम गरेको भूमिको कुनै टुक्रामा पनि छहारी निर्माण गर्ने अधिकार पाउँदैनन् भन्ने निरङ्कुशतावादीहरूले कहिले १५ कहिले १४ अनि कहिले १३ कहिले त ६ वटा भारदारीसभाको परिकल्पना गरिरहेका छन् । संख्याको अलमल मात्रै होइन, हिजो जातीय राज्यको प्रवक्ता बनेर लिम्बुवान र तमुवान, मधेश प्रदेश र मगरात भनेर नारा उठाउनेहरू यतिबेला जातीय राज्य बनाउनु हुँदैन भनेर सार्वजनिक भाषण गर्न थालिसकेका छन् ।
अर्थात् आफूलाई सङ्घीयतावादी भन्नेहरूसँग सङ्घ भनेको के हो, त्यसलाई किन, केका लागि कसरी संगठित गरिनुपर्छ भन्ने सामान्य ज्ञान रहेको पनि देख्न पाइएन । कतैबाट आयातित उन्मादी विचारको सारसङ्ग्रहका रूपमा अहिलेको सङ्घीयता नेपाली भूमिमा फन्फनिइरहेको छ ।
यसको ठीक्क उल्टो सङ्घीयताका विरोधीहरू भने शालीन र शिष्ट देखिएका छन् अहिलेसम्म । तिनले नेपाल बन्द गर्ने गलत र निरङ्कुशताजनित काम त गरेका छन् तर तिनले कहीँ पनि कतै पनि सङ्घीयताका पक्षधरहरू मुर्दावाद भनेर नारा लाएको सुनिएको छैन । सङ्घीयताले देशलाई विखण्डनमा पुर्‍याउँछ भनेर जनसमुदायलाई जानकारी गराउने प्रयत्न नै तिनको प्रमुख पक्ष देखियो ।
नेपालीलाई चाहिएको जातीय राज्य होइन, चाहिएको हो जातीय पहिचान । तर मुलुकका टाठाबाठा समुदायका मध्यमवर्गीय बुद्धिजीवीहरूले जातीय राज्यको भाषण गर्न थालेका हुन्, स्वायत्त गणराज्यको घोषणा गर्नथालेका हुन् । कुन जाति हो र कुन जनजाति हो भन्ने विवाद अहिलेसम्म नेपालमा साम्य हुन सकेको छैन । जाति र जनजातिको परिभाषा लहड होइन, वैज्ञानिक धरातलमा उभिएर गर्नसक्नुपर्छ । चेपाङ पनि आदिवासी जनजाति, नेवार पनि आदिवासी जनजाति । राउटे पनि आदिवासी जनजाति खस क्षेत्री पनि आदिवासी । यो जाति जनजातिको पहिचान होइन । यो हो जाति र जनजातिका नाममा देखाइने नौटङ्की । नेवार कुनै एउटा जात नै होइन । त्यो नेवार भाषा बोल्ने नेपालको उन्नत राष्ट्रिय समुदाय हो । नेवार समुदायभित्र पर्वते समुदायमा भएका सबै जातजाति अटाएका छन् । नेवार समुदायमा ब्राहृमण छन्, क्षेत्री, वैश्य र शुद्र पनि छन् । नेवार राज्यको परिकल्पनाकार जयस्थिति मल्लकै पालादेखि काठमाडौंको नेवार समुदाय चार जात छत्तीस वर्णमा विभाजित भएको हो । अहिले पनि नेवार समुदायभित्र राजभण्डारी, जोशी, अमात्य ठूला मानिन्छन् । मल्लहरू या त पश्चिम पहाडको दैलेखबाट पर्वत हुँदै उपत्यका छिरेका खस हुन्, या हुन् दक्षिणतिरबाट आएका तिरहुतेका सन्तति । हजार वर्षदेखि नेपाल नाम गरेको भुखण्डको केन्द्रको रूपमा रहेको काठमाडांै, ६०० वर्ष यताका उपत्यकाका मल्ल राजाहरू र साढे दुई सय वर्ष यताको शाही खानदान र राणा खानदानका घनिष्ट सहयोगी रहेको नेवार समुदायले आफूलाई कसरी जनजाति भनेर अपहेलित गर्न सकेको हो भन्ने परिभाषा हामीजस्ताको ज्ञान भन्दा बाहिरकै विषय भएको छ ।
यस्तै तमू भनिने गुरुङ्, राई किराँत र लिम्बू किराँतहरूका बीचमा पनि देखिएको छ । पाँचथरको पछौटे लिम्बुवान गाउँमा पनि मानिसहरू धनी र गरिबमै विभाजित छन् । चेपाङ र राउटे जस्तो कविला स्तरको जनजाति चेतना लिम्बुमा पनि छैन । यस्तै अवस्था छ राई र मगरमा । उनीहरूलाई पनि चेपाङ र राउटेको समकक्षी मान्न सकिँदैन ।
नेपाली सन्दर्भमा अर्को एउटा गम्भीर पक्षमा पनि ध्यान जानु जरुरी हुन्छ । भूगोल बाँडेर प्रदेश बनाए पनि, भाषामा पोको पारेर प्रदेश बनाए पनि अथवा जातीय पहिचानका नाममा जातको थैलोमा बेरेर प्रदेश बनाए पनि कुनै पनि प्रदेशमा कुनै पनि जातिको बहुत्व हुँदैन । नेपाल अनौठै ढङ्गबाट समेटिएको मिश्रति समाज हो । यो मिश्रणको धरातल नै सद्भाव र सहिष्णुता हो ।
उसै पनि सङ्घीयता नेपाली जनताको माग होइन । ०६२/६३ सालको क्रान्तिजनित जनआन्दोलन भनौँ वा जनआन्दोलन भाग दुई भनौँ, तिनको अभीष्ट लोकतान्त्रिक गणतन्त्र मात्रै थियो । सङ्घीयता आन्दोलनको नारा समेत बनेको थिएन । सङ्घीयताको संरचना कस्तो हुनुपर्छ भन्ने ज्ञान चर्का सङ्घवादीमा त छैन भने सङ्घीयताको परिकल्पनासम्म गर्न नसकेका नागरिकले सङ्घलाई सहज रूपमा स्वीकार्नु भनेको जताजता मालिक उतैउतै नोकर भनेजस्तै हो । अहिलेको सङ्घीयताको नारा किमार्थ नागरिक सर्वोच्चताको सम्मान होइन ।
जातीय पहिचानको आग्रहलाई जातीय राज्यमा पुर्‍याउने भनेका नेपाली राजनीतिमा हालिमुहाली चलाइरहेका मध्यमवर्गीय बुद्धिजीवी नै हुन् । कुनै पनि जातिका जनतालाई चाहिएको जातीय पहिचान दिन त्यो बौद्धिक समुदाय तयार छैन । जातीय पहिचानको मागले मुख्यमन्त्री वा मन्त्रीको पगरी दिँदैन । जातीय पहिचानले अन्तरविरोध र द्वन्द्व बढाउँदैन । उल्टो बरु, त्यसले जातीय सद्भाव र पारस्परिक सम्मानलाई नै समानताको आधारमा बलियो बनाउँछ । नेपाली राजनीतिमा हालीमुहाली सम्हालेर बसेका मध्यमवर्गीय बुद्धिजीवीहरूको चाहनाभन्दा बाहिरको विषय हुनाले जातीय पहिचानलाई जातीय राज्यमा छासमिस गर्ने, काम गरिरहेका छन् ।
नेपालको एकतालाई सुदृढ बनाउने चेतना बोकेका सबै राजनीतिक दलका नेता कार्यकर्ताहरू जातीय पहिचान र जातीय राज्यका बीचको भेदमा प्रस्ट हुनुपर्छ । जातीय राज्यको विभाजन अन्त्यहीन र हिंसात्मक द्वन्द्वको उद्गम हो भने जातीय पहिचान सामाजिक सद्भावको उद्गम हो ।
जातजातिका बारेमा साढे आठ सय शब्द लेखिसक्दा पनि सीमान्तीकृत जातिका बारेमा केही लेखिएन भने प्रकारान्तरले त्यो जातीय पहिचान र जातीय राज्यकै बीचमा अलमलिएका मानिसहरूजस्तै हुन्छ । जातीय मुक्तिको मुद्दा पानी चल्ने जातिहरूका बीचमा हुँदै हुँदैन । राजपुतको आँगनको बाटो हिँड्न नपाउने डोम या पासवान, क्षेत्री, बाहुन समुदायको मूलघरको दलानमा बसेर पानी पिउन नपाउने मिजार, दर्जी या नेवार समुदायका दलितहरूको मुक्ति वा स्वतन्त्रताका बारेमा बोल्नु भनेको चाहिँ वास्तविक हिसाबमै तल पारिएका, सीमान्तीकृत जाति-समूहका बारेमा बोल्नु हो । सबैभन्दा पहिले मुक्ति पाउनु पर्ने भनेको उपत्यका, पहाड र तराईका दलित समुदायले हो । एउटै कुवाबाट बिनाछुवाछुत सबैले पानी पिउन पाउनुपर्‍यो, ठूलो जात मालिक हुने सानो जात कमारो हुने सामन्ती प्रथाको अन्त्य हुनुपर्‍यो भन्ने नारालाई बाहुन, क्षेत्री, नेवार, राई, लिम्बु लगायतका सबै जातिका नागरिकले एकस्वरमा उठाउने हो भने जातीयताको प्रश्नले नेपालमा बाटो पाउँछ । अन्यथा जातीयता कुनै अर्थमा पनि अग्रगमनको सहायक हुनसक्दैन ।

Feb 17, 2010

राज्य संरचनाका आधारहरु

डा. चैतन्य सुव्वा
खास गरी माग चाही एकात्मक प्रणालीमा रहदा मुलुकले भोग्नु परेका समस्याहरु, बिसंगतिहरु, कठिनाइहरुलाई हुर्नुपर्ने हुन्छ । एकात्मक शासन हुंदा हाम्रो विविधतापूर्ण समाजको एकथरीको मात्र एकलौटी राज्य भयो । शक्तिमा एकलौटी भयो । राज्यसत्तामा एकलौटी भएपछि स्रोत साधनमा एकलौटी पेवा भयो । त्यही कुरा निरन्तरता दिन अरुलाई नागरिक बन्ने अधिकारबाट समेत बञ्चित गराइयो । उनीहरुलाई समान अधिकार प्राप्त गर्ने हकबाट बञ्चित गराइयो । उसलाई उसले अंगिकार गरेको, जातीय भाषिक, सांस्कृति पृष्ठभूमी र कतिपय अबस्थामा भौगोलिक पृष्ठभूमीको कारणले पनि बहिस्कार गरिएका ।त्यस्तो अबस्थामा स्वभाविक रुपमा केन्दि्रकृत शासनको बिकल्पको रुपमा संघीय शासनको माग आयो । संघीय शासनका जादा धेरैले अवसर पाउछ । अहिले बहिस्कारणमा परेकाहरुले स्थान पाउछ भन्ने भयो । यसमा शक्तिको बांडफांडको कुरा आयो । यसले सभागिताको कुरा गर्छ र स्वशासन कायम हुन्छ । आफ्नो अधिकारको प्रयोगको कुरा पनि हुने भयो । केन्द्रलाई पनि साझेदारीको लागि उनीहरुले दवाव दिन सक्ने भयो । त्यो स्वशासित वा भौगोलिक क्षेत्र र केन्द्रबीचको सम्बन्ध स्पष्ट हुने भयो । अहिले बञ्चितीकरणमा परेका आदिवासी जनजाति, महिला, दलितलगायतका अरुले पनि आफ्नो अधिकारको प्रयोग गर्न पाउने भए । सांढे दुई सय वर्षदेखि हुंदै आएको एक लौटीको अन्त्य हुनेभयो । केन्दि्रय शासनमा साझेदारीको संभावना बढ्यो । त्यसैले केन्द्रमा साझेदारी र स्थानीय तहमा स्वशासनको व्यवस्था हुने भयो । नागरिकको सहभागिता र अधिकारको पूर्ण प्रयोगको लागि राम्रो सम्बोधन हुने भयो । विविधताको हिसाव गर्दापनि हामी धेरै प्रकारका मान्छे छौं । जातीय हिसावले एक सय भन्दा बढि छ । विविधताको पनि राम्रो सम्बोधन हुनुपर्यो । पहिचानको कारणले मात्र बाहिर पार्नु भएन । पहिचानको कुरा प्रबल रुपमा उठेको कुरा हो । सामाजिक आर्थिक राजनीतिक एजेण्डा मात्र सम्बोधन गरेर भएन । संसार भरी नै पहिचानको राजनीति प्रमुख भएर आएको छ । प्रमुख कुरा पहिचानको कारण उसलाई बहिस्कृत गरियो । संस्थागत संरचना नै त्यस्तो गरियो की ति पहिचानकै कारण बाहिर पठाइयो । त्यसैले त्यो संस्थागत संरचनाको अन्त्य गरेर उनीहरुलाई पनि सहभागि गराउन सकिने संरचनाको रुपमा हामीले संघीय शासन प्रणालीलाई अंगिकार गरेका छौं । यसलाई सम्मान पूर्वक साझेदारी र सहनुभूतीको कुरा हो । अरुप्रतिको सद्भाव पनि हो । संघीय भएपछि सबैले एक अर्कालाई बुझ्नु पर्यो र उसको भावनालाई सम्मान गर्नु पर्यो । लात हान्दै जाने हो भने छुटि्टन्छ नै कसैले पनि छुटि्टने अधिकार दिनु पर्दैन । एकता गर्ने कुरा भने उसको समस्या, पहिचान, सम्मान दिएर हो । अहिले एकात्मक शासनबाट भएन भनेर नै संघीयताको प्रारुपमा जान चाहेको हो । बिकेन्द्रिकरण त सफल भएन यहां । स्थानीय स्वशासन ऐनकै कुरा गरौं । त्यति सम्म पनि नमानेपछि कसरी संभव छ । त्यसमा विकासका सामान्य जिम्मेवारीसमेत नमानेको देखियो । संरचनागत रुपमा नै त्यसलाई परिवर्तन गरौं भन्ने हो । सामाजिकआर्थिक विषयलाई नै हेरौं । संसारभरी नै एकात्मक शासन भएको ठाउमा राजधानी सधै केन्द्र र शक्ति सम्मपन्न रहन्छ । त्यसैलाई र त्यसको स्वार्थमा मात्र नियन्त्रण गर्न सक्ने हिसावले विकास गर्छ । धेरै ठाउंमा विकास केन्द्रहरु होस् भन्ने उसले चाहदैन । त्यसले आफ्नो शक्ति घट्ने उनीहरुको मान्यता हुन्छ । संघीताले धेरै शक्ति केन्द्रहरुको विकास गर्छ । स्रोत छरिएर जान्छ र केन्द्रले नै सबै निर्णय हुने अबस्थाको अन्त्य भएपछि स्रोतको न्यायोचित पुनर्वितरण हुन्छ । त्यसले नया विकासका संभावनालाइृ खोल्छ । १९७० बाट क्षेत्रिय विकासको कुरा गर्दै आएको हो । तर, क्षेत्रगत रुपमा कहिल्यै विकास हुनै सकेन । दयामायाले कहिले कहि दिने गरेको दानबाट हुन सकेन । तैपनि यो राजनीतिक निर्णयको कुरा हो । अहिले राज्यहरु आत्मनिर्भर हुन सक्दैन की भन्ने सोच छ त्यो पुरानै परिपाटीबाट जाने मनसाय देखिन्छ । एकमात्मक शासन प्रणालीमा सामाजिकआर्थिक न्यायको कुरा हुनै नसक्ने रहेछ । हेरौंन नया राजधानी बनेपछि काठमाडौं पो किन आउने ? एउटा सानो कृषि सेन्टर खोल्नका लागि काठमाडौं आउने छैन । विश्व विद्यालय आफै बनाउने छन् । हाम्रा कुन चाही क्षेत्रमा नै त्यसै पैसा आउछ र ? केन्द्रिय सरकारले फाइल समातेर बस्नुको सट्टा जव आआफ्नै क्षेत्रमा विकासमा संरचना बनाउने हो भने उनीहरु ऋाफै लाग्ने छ । कर्नाली कै कुरा गरौं न । जुन दिनसम्म कर्णालीको बिजुलीबाट आउने रकम काठमाडौं ल्याउने परिपाटी हुन्छ त्यस बेलासम्म कर्णालीको विकास हुनै सक्दैन । उनीहरुकेा सपना हुनसक्छ कर्णालीको विजुलीबाट पाखा पखेरख झिलीमिली पार्ने र आएको आम्दानीबाट अरु विकास गर्ने । तर, जुन दिनसम्म त्यसको आम्दानी काठमाडौं ल्याउने कुरा चली रहन्छ । त्यसबेलासम्म त्यहांका जनतामा आफ्नो विकासमा लाग्ने वाक़तावरण नै हुने छैनन् । तर, कर्णालीमा हुने आम्दानीको ९० प्रतिशत त्यही खर्च गर्ने व्यवस्था गरौं न त्यसको कर्नालीमा विजुली निकाल्ने कामको पहल उनीहरुले नै सुरु गर्नेछन् । त्यस्ता संभावनाहरु हाम्रा हरेक क्षेत्रमा छन् । खांचो त व्यवस्थापनको मात्र हो । हामीले भन्सार हेरेर कहा हुन्छ र त्यो त दुलो मात्र हो । तर कहाबाट आएको हो भन्ने कुरा पो हेर्नु पर्छ । काठमाडौं या विराटनगरमा कच्चा पदार्थ ल्याएर निकासी गर्न सक्दा अरुले सक्दैन र हुंदैन भन्ने हुन्छ । र त्यसैगरी आआफ्नो विशेषता अनुसार आफ्नो अनुसारको विकासको खाका बन्न पनि त सक्छ । सिंहदरवारमा फाइल रोकिएपछि पुरै देश डेडलक भएर बस्नु पेरन नी । सिंहदरवारको प्रशासन विग्रीयो भन्दैमा पुरै देशले त्यसको दुःख भोग्नु पर्ने पनि त हुंदैन नी । उनीहरुले आआफ्नो ढंगले स्वशासित क्षेत्रको विकासको मोडल बनाउन सक्छ र स्वशासनलाई स्वच्छ बनाउन सक्छ । यति हुंदा हुंदा पनि यो चाही दोस्रो कुरा हो । अहिले जुन ढंगले संघका आधारहरु निर्धारणको वहस उठेको छ । त्यसका लागि बृहत छलफलको खांचो छ । जस्तै, जातीयता, भाषा, सांस्कृतिक पक्षहरु, जनसंख्या, भूगोल, ऐतिहासिकता आदि सबै कुराहरुलाई राखेर हेर्नु पर्ने हुन्छ । पटक्कै भाषा, जातिको आधारमा पटक्कै हुन्न भन्ने कुरै आउदैन । भारतकै उदाहरण हेरौ. त्यहा भाषाका आधारमा पनि छन्, जातीका आधारमा पनि छन् । तैपनि माथिबाट लागु गर्नुपर्ने कुरा हुंदैन । यसले फेरी द्धन्द्धलाई बढवा दिने छ । एउटा मात्र मापदण्डले हुने संभावना देखिएन । आदिवासी जनजातिलगायतका कुरा नै गरौं उनीहरु जातीय, भाषित स्वयत्तताका कुरा उठाइ रहेका छन् । कर्णालीकै कुरा गरौं उनीहरु फेरी क्षेत्रीयताको कुरा उठाइ रहेका छन् । यि समस्याहरु एठेकै कारण हामी समाधानको बाटोमा जाने हो भने ती कुनाहरुमा के कुरा भइ रहेको छ, उनीहरुको मागहरुको सम्बोधन गर्नका लागि छलफलको प्रकृयामा अघि बढ्नु पर्यो । उनीहरुसंगै छलफल गरेर निर्धारण गर्नुपर्ने हुन्छ । आदिवासी जनजातिकै कुरा गरौं ५९ थरीले नै स्वशासित क्षेत्रको माग गरेका छन् । त्यो दिन सक्ने अबस्था छ की छैन भन्ने त छ । त्यसैगरी कति संभव छ भन्ने कुरामा उनीहरुसंगै छलफल गर्नुपर्छ । तर, सुरुमा अहिले हामीसंग भएको जुन संरचना छ, प्रदेश, अञ्चल, जिल्लालगायतलाई दिमागबाट झिकी दिनुपर्यो र त्यसलाई खाली बनाएर त्यसको विविधतालाई हेरेर नया संरचनाको निर्माण गर्नुपर्ने हुन्छ । कति प्रान्तमा कति, त्यो भन्दा मुनी के बनाउने भन्ने विषयहरुमा सोच्न सकिन्छ । तर, संघीता भनेको मान्छेको लागि हो । अहिले जसरी भूगोलको मात्र कुरा आइ रहेको छ । शासन त मान्छेलाई हो । डांडालाई होइन । भूगोल भनेको हामीले चर्चेको क्षेत्र हो । भूगोल मात्र भन्नुको अर्थ शक्तिलाई फेरी पनि केन्द्रिकृत बनाएर राख्ने हो । तर, जाति, भाषा र क्षेत्रको रुपमा जुन कुरा उठी रहेको छ । त्यसले उच्च अकांक्षहरुको सम्बोधन हो । कसरी केन्द्रिकृत व्यवस्थालाई अन्त्य गर्ने हो । त्यसैले यसरी बनाइएको संघीयतामा कसैले यो भूमी वा क्षेत्र मेरो भन्ने भावना हुनुपर्यो । त्यसैले मात्र अवको समयमा सार्वभौमिकतालाई बचाउन सक्छ । हिजोको सार्वभौमिकता राजामा निहीत थियो । त्यसैले गर्दा त्यसलाई प्रतिक बनाएर राज्यलाई एकताबद्ध बनाउन सक्छ भन्ने मान्यता थियो । त्यसले जनतालाई निरिह प्राणीको रुपमा लिइएको छ । अहिले जानी नजानी सर्वाभौमसत्ता जनतामा छ भनेर स्वीकार गरी सकेका छौं । यो संसदमा पनि छैन । यो अर्थमा जनताले बलियो संस्था कस्लाई बनाउछ भन्ने हो । उनीहरुले निरन्तर सम्पर्क र सम्बन्ध रहने इकाइलाई नै उनीहरु ब्लियो होस् भन्ने चाहन्छन् । त्यसपछि उब्रेको माथि हुंदै केन्द्रिय सरकारलाई जुन कुरासंग जनताको खासै दैनिक जीवन जोडिएको छैन त्यो मात्र रहने छ । तर, यसो भन्दैमा केही निश्चित मान्यताहरुलाई नमान्ने भन्ने चाही हुनै सक्दैन । यसको अर्थ उनीहरु जातीय निरंकुश राज्यको कल्पनामा भने जान सक्दैनन् । अहिले जस्ले जातीय स्वशासनका कुरा उठाएका छन् । तिनले प्रजातान्त्रि मुल्य मान्यता र मानव अधिकारलाई मान्दिन भनेका छैनन् । त्यसपछिका सबै कुराहरु त बसेर छलफल गरेर तय गर्नुपर्छ । यसको प्रमुख कारण चाही ऐतिहासिक रुपमा गरिएको बहिस्करण र अन्यायको अत्य गर्नु हो । नकी अरुलाई दोस्रो दर्जाको नागरिक बनाउने होइन । जो यतिका वर्षसम्म बहिस्कारणमा परेका छन्, उनीहरुसंग त्यसको अनुभव छ र उनीहरु ऋहिले नै अल्पसंख्यकहरुको अधिकार कसरी सुनिश्चित गनेृ भन्ने कुरामा जुटेका छन् । यसलाई दक्षिण अफ्रीकामा जस्तै संविधानले केही मूलभूत सिद्धान्तहरु बनाएर राज्यतहमा संविधान निर्माण गर्ने काम उनीहरुलाई नै छाड्नु पर्छ । त्यसले मात्र उनीहरुको आफ्नो आवश्यकता अनुसारको ढांचा तयार पार्न सकने छन् । अव कसैले पनि म मात्र अधिकारको उपयोग गर्छु भन्ने हो भने अन्ततोगत्व फेरी त्यहा निश्चित रुपमै बिद्रोह हुन्छ । त्यसैले त्यहा रहेको सबैलाई समेट्नु आवश्यक छ ।

Feb 15, 2010

येले तङवेवारे हङकङको विचार

दिल पालुङवा लिम्वु "नेपाल कुश्शा"
नेपालमा येले तङवेको किटानीको कुरा उठिरहेको छ । यो कहासम्म पग्दैछ । आफ्नै ठाउँमा छ । वैरागी काईंलाको संयोजकत्वमा येले तङवे किटान सम्वन्धको समीतीमा हङकङको प्रतिनिधिको रुपमा मैले काम गर्नुपर्ने जिम्मा पाएकोले यस सम्वन्धी छलफल गत माघ १ गते २०६६ तदनुसार १५ जनवरी २०१० मा छलफल कार्यक्रम सम्पन्न भएको थियो । विषेश गरेर कियाचु हङकङले माघे संग्रान्ती र येले तङवे मनाउने कार्यक्रमको आयोजना गरेको थियो भने यही कार्यक्रममा येले तङवे सम्वन्धमा छलफल गर्ने विचार व्यक्त गरेका थिए सचिव नन्द चङसुलाई । सोही मुताविक तरुल खादै कार्यक्रममा माघे सग्रान्ती र येले तङवे एकैदिन पर्नु संयोग हो कि येले तङवेको उपलक्ष्यमा माघे सग्रान्ती मनाईएको हो छलफल भएको थियो । तर निष्कर्षनिस्कन सकेन । यो छुटटाछुट्टै रुपमा विकास भएको हुनुपर्ने तर्क पनि आएको थियो । त्यस्तै यो येले तङवे ५०७० भएकोमा सवैले नयां वर्षो शुभकामना आदान प्रदान गरेका थिए । मैले वर्तमान अवस्थामा लिम्वुवान स्वायत्त राज्यको कुरा उठीरहेको वेला लिम्वुहरुविच ५ जिल्ला र ९ जिल्लाहरुको प्रसंग नआई सम्पूर्ण लिम्वुवानको ऐतिहासिक भूमि लिम्वुवान स्वायत्त राज्यभित्र अटोस र हामीमा एकापसमा सद्भाव कायम होस भन्ने कामना गर्नुभयो । वुद्धिजीवी टंक चोङवाङले येले सम्वत यतीनै हो भनेर किटान गर्न कठिन हुंदा पहिले देखि चल्दै आएको चलनलाई कायम गरी चीन र भारतले गरेजस्तो सांस्कृतिक सम्वतको रुपमा मानिरहनुपर्ने कुरामा जोड दिनुभएको थियो । अर्का वुद्धिजिवी हस्त मास्वाले येले तङवे यलम्वरभन्दा अगाडिनै शुरु भएको र यसको निरन्तरता यलम्वरले दिएको हुन र यो सम्वत फेरवदल गर्नु नहुने मत जाहेर गर्नुभएको थियो । प्रदिप कन्दङवाले किटानी गर्नुपर्दा हचुवाको तालमा नगरेर यसको व्यापक अध्ययन अनुसन्धान गरेर गर्नुपर्छ यो पनि असम्भव नहुने वताउनुभयो । यही सेरोफेरोमा अन्य वुद्धिजिवीहरु भूपेन्द्र चेम्जोङ,इन्द्र वनेम, उत्तरमान लिम्वु, कृष्ण लावती, मदन कन्दङवा आदिको विचमा छलफल चलेको थियो । छलफलको क्रममा नेपालको इतिहासलाई हेर्दा ३७२७ जस्तो हुने र हामीले मान्दै आएकोमा तादाम्यता नमिलेको व्यक्त गरेको थिए । अर्थात आजको इतिहासलाई मध्यनजर गर्दा यलम्वर राजाले राज्य गरे यता र वर्तमान सम्वत लेखाई ५०७० मेल खादैन १३०० वर्षतलमाथि पर्न सक्छ । फेरी यो सम्वत कसरी पूर्खाले चलाएर ल्याए । त्यो पनि विचारणीय कुरा भएको वताईएको थियो । काठमाण्डौ उपत्यकामा पनि दश हजार वर्षअगाडिदेखिनै वसोवास भएको प्रमाणहरु पाईएकोले सवै कुराहरु विचारणीय देखिन्छन् । अन्त्यमा छलफलले एउटा निष्कर्ष निकालेको थियो । त्यो के भने येले तङवे ५०७० नै कायम राख्ने । यसको कारणचाही यलम्वरको नामवाट चलेतापनि यो संवत यलम्वरको पूर्खा राजाहरुवाटै चलेको थियो र यसलाई यलम्वरले व्यापक प्रचलनमा ल्याएका थिए । त्यसैले यही ५०७० लाई येले तङवे कायम गर्नु पर्ने र नेपालको संविधानमा लेखिनुपर्ने कुरामा जोड दिएका थिए । मेरो व्यक्तिगत धारणा पनि हङकङको वुद्धिजविीहरुझैं रहेको छ । किनकी यो सम्वत पूर्खाहरुले प्रचलनमा ल्याएका हुन । ५०७० अवश्य मनगढन्ते हुनसक्दैन । किम्वदन्तीमा आएको हुनसक्छ । यो राख्दा हामीलाई के घाटा छ या नराख्दा के फाईदा छ । अर्थात येले सम्वत नचलाउदा के हुन्छ या के हुदैन । मानिसहरु ग्लोवलाईजेशनको कारणर् इस्वी संम्वत मात्र चलाउं भन्ने पक्षमा पनि छन् । अंग्रेजी मात्र वोलुं नेपाली, लिम्वु, भाषा, लिपी आवश्यकता छैन । जीवन सरल छैन । त्यसैले सवैलाई सरल जीवनको आवश्यकता छ । यो अहिलेको वाध्यता पनि हो । तर सवै त्यस्तो हुदैनन् । कसैलाई आआफ्नो अस्तित्व वचाईराख्न मन लाग्छ । उनीहरुको विचारलाई पनि मध्यनजर गर्नु पर्ने हुन्छ । त्यसैले येले तङवेकोवारेमा विवाद नगरी ऐजन चलेको सम्वतलाई चलाएर लैजाऔं । यसको आधिकारिक व्याख्यामा यलम्वर राजाको नेपालको राज्य स्थापनासंग नजोडि उहाको पूर्खाहरु एकलव्यहाङ, सेच्छेरे सेनेहाङ आदिकाको पालादेखि भएको हुन सक्छ । वरु यसको अध्ययन अनुसन्धान गरेर कार्य गर्नु उत्तम देखिन्छ । किनकी एकलव्यहाङ पनि किराती लिम्वुहरुको प्रसिद्ध व्यक्तित्व हुन् । उनै एकलव्यहाङले चलाएको सम्वत यलम्वरले निरन्तरता दिएका हुन् । उनका सन्ततीहरुले उहाको प्रख्यातिको कारण उहाकै नामको वढावा दिएका हुन् । अन्य केही उदाहरणहरुमा किरात लिपी जसलाई लिम्वु लिपी पनि भनिन्छ-लाई नवौं शताव्दीका राजा सिरीजंगा र अठारौं शताव्दीका सिरीजंगा सिंथवेले पुनरुत्थान गरेका थिए -लाई सम्मान गरेर सिरीजंगा लिपी पनि भनिन्छ । यसो भन्दा सिरीजंगा लिपी अठारौं शताव्दीवाटमात्र चलेको होकि प्राचिन कालदेखि - यो पनि सोच्नु पर्ने हुन्छ । त्यस्तै जंग वहादुरको नाममा उहाको पछाडिको सन्ततीले जवरा लेख्ने गरेको उदाहरण पनि छन् । चार्डपर्वहरु चासोक तङनाम, कक्फेक्वा तङनाम आदिको प्रचलन कहिलेदेखि भयो भन्न मुस्किल छ । त्यसैले हामीले येले तङवेको वारेमा नअलमलिई साविक वमोजिम राखेमा कुनै फरकता हुदैन । पुरानो कुराहरुको निक्र्योल गर्न अवश्य कठिन कार्य हो सजिलो हुदैन । यसलाई किटानी गर्छु भन्नु मूर्खता पनि हो । किरातको इतिहास पुरानो छ । चीनीयाहरुले पनि उनीहरुको सम्वत पांच हजारको कुरा गर्दछन् । तर अफिसियल कार्य इस्वी सम्वतमा गर्दछन् । त्यसैले हामीले पनि येले सम्वत ५०७० लाई मान्यता, माघ १ गतेलाई नयां वर्ष(कुशङ तङवे)मनाउने चलन चलाऔं । व्यापकता ल्याईयो भने जनअनुमोदन आफै हुनेछ । साथै संविधान सभामा पनि यही कुरा उल्लेख गरौं । सेवारो ।

Feb 1, 2010

सङ्घीय स्वरूपमा सार्वजनिक

शान्ता मरासिनी
संवैधानिक मर्म एवं संविधानसभा मार्फत प्राप्त जनादेश बमोजिम अब बन्ने संविधानले सङ्घीयताको टुङ्गो लगाउने छ । सङ्घीयता त्यस्तो शासन प्रणाली हो, जहाँ राज्यशक्तिको पृथकीकरण र आपसी सन्तुलनको नयाँ संरचनाद्वारा सबैले सबैको अस्तित्व स्वीकार गर्न र राज्यमाथि सबैको आˆनोपन स्थापित गराउने उद्देश्य बोकेको हुन्छ, जहाँ केन्द्रीय र सङ्घीय/प्रान्तीय सरकारको परिकल्पना गरिन्छ । राष्ट्रिय विषयमा केन्द्रीय सरकारले निर्णय लिन्छ भने सङ्घीयस्तरमा आˆना विषयमा निर्णय गर्न सङ्घीय सरकार स्वतन्त्र हुन्छन् । यसैले वास्तवमा सङ्घीय शासन व्यवस्थामा केन्द्रदेखि स्थानीयतहसम्म सबै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय, अल्पसङ्ख्यक, पिछडिएको वर्ग, उत्पीडनमा परेको वर्ग सबैको समावेशी अथवा सत्ता साझेदारी मिलान गर्ने व्यवस्था हुन्छ ।
एकात्मक होस् वा सङ्घीय, हरेक राज्य सञ्चालनमा सार्वजनिक प्रशासनको भूमिका अपरिहार्य हुन्छ । यस्तो भूमिकालाई संविधान, ऐन, नियमहरूको निर्माणमार्फत व्यवस्थित गरिएको हुन्छ । हाम्रो सन्दर्भमा निजामती सेवाको विकासक्रमलाई हेर्दा परम्परागत निजामती प्रशासनको सुरुवात किराँतकालदेखि नै सुरु भएको पाइन्छ । विभिन्न कालखण्ड पार गर्दै आधुनिक निजामती सेवाको अवधारणालाई भने २०१३ मा जारी निजामती सेवा ऐन तथा नियमावलीले यसलाई संस्थागत गर्‍यो । २००८ सालदेखि २०४६ सालसम्मको पञ्चायतीकालमा निजामती प्रशासनमा चरम राजनीतिक हस्तक्षेप रहृयो । २०४६ मा प्रजातन्त्रको पुनःबहालीपछि जारी २०४९ को निजामती सेवा ऐन तथा नियमावलीमार्फत निजामती कर्मचारीको सेवा सुरक्षाको ग्यारेण्टी हुन पुगेको हो । समय समयका राजनीतिक उतार चढावसँग जुध्दै हालको निजामती प्रशासन सङ्घीय संरचनाको सँघारमा आइपुगेको छ ।
निजामती प्रशासन राज्यद्वारा सङ्गठित राज्य संयन्त्र सञ्चालनको ड्राईभर, स्थायी सरकार, देशको प्रशासकीय अनुशासन र मर्यादापालक, अझ गहिरिएर भन्नुपर्दा जनताको सेवकका रूपमा रहेको व्यावसायिक, दक्ष र स्थायी कर्मचारीहरूको समूह हो । अब मुलुक सङ्घीयतामा जाँदा निजामती प्रशासन कुन रूपको हुने ? यसको व्यावसायिकता, भूमिका, संरचना कस्तो हुने ? हालका राष्ट्रसेवकको सेवा सुरक्षाको अवस्था के हुने ? भन्ने जस्ता विषय अझ महत्त्वपूर्ण बहसका विषय हुन् ।
एकात्मक शासन व्यवस्था अनुरूप हाम्रो निजामती प्रशासन संचालन हुँदै आएकोमा अबको समयमा सङ्घीय संरचनासँगै निजामती प्रशासनमा पनि अवश्य परिवर्तन हुनेछ । विश्वका विभिन्न मुलुकका अनुभवलाई समेत नियाल्दा विशेषगरी दुईखाले अवधारण पाइन्छ । पहिलो केन्द्रीय निजामती प्रशासन र दोस्रो सङ्घीय निजामती प्रशासन । यसमा विशेष अवस्थामा विशेष कामका लागि केन्द्रबाटै कर्मचारी सङ्घीय प्रशासनमा जानसक्ने अवस्था रहेको हुन्छ भने सेवा समूहहरू केन्द्र र सङ्घमा भिन्नाभिन्नै रहन्छन् । सङ्घका लागि सङ्घकै लोकसेवा आयोगबाट कर्मचारी छनोट गरिन्छन् । ती कर्मचारीको सरुवा, बढुवा सङ्घभित्र मात्रै हुनेगरेको पाइन्छ ।
हाम्रो सन्दर्भमा सङ्घीयतामा जाँदा निजामती प्रशासन कस्तो हुने हो अथवा कस्तो हुनुपर्ला भन्ने सन्दर्भलाई जोड्दा केही विषय हाम्रासामु देखापर्छन् । ती यसप्रकार छन्- हालको प्रशासनिक संरचनालाई नै सङ्घीय रूपमा विस्तार गर्ने अथवा नयाँ स्थापना हुने ? हालका कर्मचारीहरूको भविष्य के हुने ? सेवा सुरक्षाको अवस्था के हुने ?
अबको सङ्घीय संरचनामा निजामती प्रशासनलाई व्यावसायिक एवं दक्षहरूको जमात, 'एक्सन वाई रुल, फङसन वाई सिस्टम, रियाक्ट वाई अविडियन्स, वर्क फर मिसन, वर्किङ उइद सिटिजन' जस्ता मुल मान्यतालाई कायमै राखी जनताका लागि खरो उतार्न निजामती प्रशासनको भावी स्वरूपका बारेमा तुलनात्मक अध्ययन, बहस र विश्लेषण सहितको धारणा संविधानमा राखिनुपर्छ ।
अबको प्रशासन भनेको विकास प्रशासन हो, सुशासनयुक्त प्रशासन हो, सङ्घीय स्वरूपलाई अँगाली सफलतातर्फ अगाडि बढाउने हिसाबले तयार गरिने प्रशासन हो, जुन प्रशासनका लागि चाहिने जनशक्तिको निर्धारण पनि त्यही प्रशासनले गर्नेछ । अबको निजामती प्रशासनले समाजको उच्चतम विकास र परिवर्तनको संवाहकको रूपमा आˆनो चिनारी दिन सक्नुपर्छ ।
अहिले निजामती प्रशासनलाई लगाइने गरेका आरोप तथा कटुसत्यका रूपमा रहेका केही विसङ्गतिहरूलाई अबको सङ्घीय संरचनाको निजामती प्रशासनमा दोहोरिन नदिई परिवर्तनमुखी, उच्च नैतिकमूल्य र मान्यतामा आधारित, समाजमा स्थायी सरकारको अनुभूति दिलाउनसक्ने, परिणाममुखी, पारदर्शी र चुस्त, प्रतिष्पर्धी विशेषज्ञता र व्यावसायिकता जस्ता कुरालाई उच्च महत्त्व दिई 'रोल मोडेल'को रूपमा उत्रने रणनीति अनुरूप पुनःसंरचना गरिनु आवश्यक छ । सर्वतोमुखी समुन्नति तथा सामान्य परिवर्तनका लागि सबै जातजाति, धर्म, पेशा, वर्ग, लिङ्ग, क्षेत्र, अल्पसङ्ख्यक, उत्पीडित वर्ग, सबैको प्रतिनिधित्व हुने समावेशी निजामती प्रशासन नै नयाँ नेपाल निर्माणको कोसेढुङ्गा सावित हुनेछ ।
राष्ट्रको समुन्नतिलाई चरम शिखरमा पुर्‍याउन गरिने हरेक क्रियाकलामा निःस्वार्थ त्याग र समर्पण गर्नसक्ने वर्ग भनेका राष्ट्रसेवक हुन् । त्यसैले राज्यले उनीहरूको आत्मबल, मनोबल र क्षमताको सही उपयोग गर्न सक्नुपर्दछ ।