Dec 19, 2009

लिम्वुहरुको महान चाड चासोक तङनाम हो दशै र तिहार होईन ।

दिल पालुङवा लिम्वु "नेपाल कुश्शा"
वास्तवमा लिम्वुहरुको महान चाड चासोक तङनाम हो । दशैं र तिहार होईन । कसैले अझै पनि दशैलाई भन्दा तिहारचाही लिम्वुहरुको चाड हुने विचार व्यक्त गरेका छन् । तर मेरो अनुसन्धानमा तिहार पनि लिम्वुहरुको चाड नभएको देखिन आएको छ । यी दुवै चाड लिम्वुहरुको होईन भन्ने कुरा निम्न कुराहरुले र्छलङग्याउछ । दशैमा हामी नौरथाको पूजा गर्दैनौं, पितृको श्राद्ध गर्दैनौं । दुर्गादेवीको पुजा गर्दैनौं । यसको पुजा हिन्दूहरुले मात्र गर्दछन् । त्यस्तै तिहारमा कुकुर, गाई, गोरु, कागको पुजा गर्दैनौं । भाई टिका लगाउदैनौं । अहिले हामीले गरेको छिमेकीको देखासिकी मात्र हो । हामी मात्र खेल्छौं देउसी लारिङगेक नाम्लिङगेक । यसमा वलिहाङको प्रसंग आएतापनि वलिहाङ राजाको इतिहास लिम्वुसंग त्यती जोडिएको भेटिदैन । यो कुनै किरातीहरुको पूर्खा हुन् । त्यसैले यी दुवै चाडहरुलाई लिम्वुहरुको मौलिक चाड मानिदैन । सामाजिक सद्भावमा मानिएको चाडमात्र मान्न सकिन्छ । तर चासोक तङनाम लिम्वु मौलिकतामा मानिन्छ । अन्नवाली पाकेको उपलक्ष्यमा यो चाड मनाईन्छ । नयां अन्न पाक्यो । दुख गरेर फलाएको वाली पाक्यो । अव सवैलाई सुख समृद्धी होस भनेर तागेरानिङवाफुमाङलाई पुजा गरिन्छ । त्यस्तै पाकेको अन्न र्सवप्रथम उनै माङलाई चर्ढाईन्छ । त्यस्तै पूर्खाहरुलाई पुकारिन्छ । विषेश सिवेरा याक्थुङमालाई पुजिन्छ । उनी लिम्वुरुको चेली पूर्खा हुन् । यस पुजाको वेला लिम्वुहरुले मान्ने प्रायस सवै देवदेवताहरलाई पुजिन्छ । पुजा पश्चात नयां अन्नको खाना खाईन्छ । सोही अन्नको टिका लगाईन्छ । त्यसैले लिम्वुहरुलाई दशैंको टिकाको महत्व नभएको हो । त्यो लिम्वुहरुको प्रतेक घरमा हुने गर्छ । छरछिमेकमा पनि खुसीयाली वाडिन्छ । नेपालमा राणा काल र पञ्चायत काल दुवैमा सरकारी दवावको कारण चासोक मनाउने सवालमा सिमीत हुनुपरयो । दशैं र तिहार आफ्नै हो भनेर मनाउनु पर्ने वाध्यता भयो । तर वि.सं.२०४६ सालपछि प्रजातन्त्रको कारण केही खुला भएकोले चासोक तङनाम मनाउने क्रममा व्यापकता आउन थालेको छ । विदेशी भूमि हङकङमा पनि चुम्लुङद्वारा विविक्युको आयोजना गरी भव्यताकोसाथ मनाउने चलन चलिआएको छ । यो चासोक तङनाम मनाउने क्रम सन् २००० सालदेखि मनाउन थालिएको हो । त्यो वेला हामी चुम्लुङकार्यसमितीमा थियौं । हामीले चासोक औपचारिकताको रुपमा कार्यसमितीको तर्फबाट काउलुन पार्कमा मन्तव्य प्रदान गर्दै मात्र गरेका थियौ । कार्यसमीतीको पनि पुरा थिएनौं । ८-९ जना थियौं । अर्को साल विविक्यू गरेका थियौं । केलाङ नेपालवाट मगाएर पहिलोपल्ट नाचिएको थियो । धान नाचिएको थियो । चासोक के हो ? वुझाउन गाह्रो भएको थियो । हाम्रो तिहार वलिहाङ तङनाम हो ? भन्ने तर्क वितर्क आएको थियो । यसरी गुज्रिदै एक साल अर्को साल हुदैजादा अहिले ९-१० वर्षो अन्तरालमा आएर चासोकको महत्व धेरै वढेर गएको छ । मङकी हिलमा पनि नअट्ला जस्तैको उपस्थिती हुने गरेकोछ । यसपाली २००९ को चासोक तङनामको उपस्थितीले यही देखाउछ ।
चासोकको व्यापकता कसरी ?
यद्धपी चासोकको व्यापकता लिम्वुरुको मन मनमा घरघरमा भएको छैन । भन्नाको मतलव घरघरमा दशैं र तिहार मनाए जस्तो चासोक मनाउन सकिएको छैन । यसको लागि मेरो अध्ययनमा चुम्लुङको औपचारिकताले मात्र हुदैन । व्यक्ति व्यक्ति पनि सचेत हुनुपरयो । तर व्यक्ति आफै सचेत हुन हङकङ जस्तो विविध धर्म संस्कृति भएको ठाउमा मुस्किल पर्ने रहेछ । वरु सजिलोको लागि मान्छेहरु अन्यको संस्कृति मनाउन पनि पछि नपर्दा रहेछन् । यो मानवीय स्वभावनै मान्नुपर्छ । तर हाम्रो धर्म संस्कृति पालना गर्नको लागि एउटा धार्मिक निकायको जरुरत पर्दछ । तव त्यसको नेतृत्वमा धार्मिक तथा साँस्कृतिक कार्यहरु सम्पन्न हुनेछन् । चुम्लुङले पनि यसमा साथ दिनेछ । हुनत मैले भनेजस्तो कार्यहरु भविष्यमा अवश्य हुनेछन् । किनकी केही समुहहरु चासोकलाई महत्व दिन लागिपरेका छन् । मेरो पनि आफ्नै आन्दोलन रहेको छ । यसमा अन्यथा नलिन सकिन्छ । विगत वर्षरुदेखि चासोकलाई घरमा मनाईरहेको छु । केटाकेटीहरुलाई टिका लगाउदै दक्षिणा दिने काम गर्दैछु । यो हाम्रो लिम्वुहरुको ठूलो चाड हो दशैंतिहार होईन भनेर पाठपढाईरहेको छु । यूमाको कलस फेरीरहेको छु । उनीहरुलाई पुजामा सरिक गराईरहेको छु । हुनत म धार्मिक व्यक्तित्व नभएतापनि आफ्नो अस्तित्वको लागि अरुको भर नपरी धार्मिक साँस्कृतिक कार्य आफुलेनै गर्नुपर्छ भनेर गरिरहेको छु । किनकी यसको प्रेरणाको स्रोत वाहुन कम्युनिस्टलाई जान्छ । किनकी उनीहरु कम्युनिस्टको वारेमा वकालत गर्दै धर्मको विरोध गरेतापनि धर्म संस्कृति हिन्दू मानिरहेको र उनीहरुको संस्कृति गैह्र हिन्दूहहरुलाई पनि मान्न अप्रत्यक्ष रुपमा वाध्यता पार्ने गर्छन् । तर्सथ लिम्वुले पनि मन्दिरमा गएर विवाह गर्छन् । यसरी विवाह गर्नेनै भए आफ्नै संस्कृतिमा गरे भैगोनी । त्यसैले आफ्नो हुदाहुंदै अरुकोमा भर पर्नु हामीले भएन । त्यसैले सवै लिम्वुहरुले आफ्नो धर्म संस्कृति मनाउने काम गरौं भनेर भनिरहेको छु । यदी सहमती भए मुन्धुम धर्मको नाममा लिम्वु संस्कृतिलाई फलाउन फुलाउन लागिपरिरहेको छु । किनकी आफ्नो परिचय भनेको धर्म संस्कृतिलेनै दिने रहेछ । त्यसको लागि यहाहरुलाई केही उदाहरण मात्र प्रस्तुत गरिएको हो । हामीले लिम्वु संस्कार संस्कृतिलाई फलाउनु फुलाउनु पर्दछ । यो प्राचिन धर्म र संस्कृति पनि हो । हुनत प्राचिन कालमा लिम्वुहरु चक्रवर्ती राजाहरु थिए । राजसी हरुले मात्र याकथुङ संस्कार संस्कृति मान्थेछन् । तर यो राजसी संस्कार संकृति राज्यको वा राजाको हरणसंगै याकथुङ जातिमा रहेको हो । तर कतिपय आडम्वरीयुक्त चलन परिमार्जनपनि गनुपर्नेहुन्छ । किनकी अहिले हामीलाई राजसी आर्थिकले पुग्दैन । मितव्ययीतामा जानुपर्नेहुन्छ । चासोकको लागि नेपालमा सरकारी विदा १ दिन मात्र मंसिर पूर्णेमा छ । यसलाई हामी सवै मिलेर दवाव दिई ५-७ दिनसम्म वनाउनुपर्ने हुन्छ । हङकङ, युके आदि स्थानमा पनि १ दिन विदाको प्रवन्ध गराउने कार्य गर्नुपर्ने हुन्छ । तर यसको लागि हामीले चासोकलाई औपचारिकतामा व्यापक मनाउनुपर्ने हुन्छ । चासोक मनाउने सवालमा कसरी मनाउने केही र्सवमान्य सिद्धान्तको पनि जरुरी देखिन्छ । किनकी आजसम्मको हाम्रो चासोक मनाईमा पूर्ण मौलिकता प्रदान गर्न सकिएको छैन । त्यस्तै यो वेला हामीले पाहुना आदान प्रदान, पारिवारिक जमघट, सद्भाव कायम, ठूलालाई आदर सानालाई माया गर्ने परिपाटी अपनाउनुपर्दछ । तव चासोकको गरिमा वढ्दै गएर लिम्वु जाति र चासोक चाडको सम्वन्ध नङ मासुझैं प्रगाढ भएर सदा रहिरहनेछ । सेवारो ।

किरात धर्म मेरो विचार

ललित आङबुहाङ (लिम्बु)
जिवन र जगतको विषयमा विश्लेषणात्मक सोचाई राख्ने प्रमुख आधार मध्ये अध्यात्मिक माध्यम एक प्रमुख माध्यम हो भन्नमा २ मत नहोला । हुन त आजको २१ औ शताव्दीमा आएर धर्म भनेको केवल आस्था एवं विश्वासको मार्ग हो भन्ने गर्दछन तथापी धर्मलाई यति शव्दहरुले मात्र परिभाषित गरेमा केवल लंगडो सावित हुने छ । जब हाम्रो अन्तर चक्षुले गहिरीएर दृष्ट्रिगत गछौ तव प्रश्न गर्नु पर्ने हुन्छकी यो विश्व ब्रमाण्डकेा सृष्टिकर्त्ता रक्षाकर्त्ता होला ? विज्ञानले सवै थोक वनाउदै छ भने प्रकृतिलाई हाक्ने यन्त्र चाँही कहाँ होला ? वैज्ञानिक युग भनिन्छ । विज्ञान कहाँबाट विकाश हुन गयो होला ? यो पृथ्वीमा रहेको अरवौ खरवौ प्राणीहरुको सोच,आचारण,भविस्य,व्यावहार प्रत्येक सवैमा फरक फरक किन भएको होला ?आदी अनगिन्ती प्रश्नहरु उठान हुने गदर्छ । यि प्रश्नहरुको सहि उत्तर खाज्दै जाने हो भने हामी भन्न सक्छौ की यो ब्रमाण्डको मालिक एकै हुन । हामीले (किरात भाषामा) तागेरानिंवाभुमाङ वा माङ भन्छौ भने कसैले इश्वर,भगवान,गड,अल्लाह,आदी भन्ने गर्दछन । उनै सृष्टिकर्त्ता समयको अन्तरालमा सृष्टिको कान्छो सन्तान (मानव)को रुपमा,कसैको छोराको रुपमा,कसैको बाबुको रुपमा,कसैको पतिको रुपमा कोही ब्रम्हचारी त कोही संसारीक जिवनमा जिएर गए । तापनि उहाँहरुले बोलेका कुराहरु जिवित नै छन । संसारको कुनै पनि भागमा जव अज्ञानता र पापहरुले भरिन्छ तव सो ठाउँमा वसेावास गर्नै मानव जातिको कुल वंशमा माध्र सयम ज्ञानको ज्योति लिएर पाप संधार गर्न मानव खोक्रोमा ज्ञानी,बिर पराक्रमी मानिस भई जन्म लिनु हुन्छ । जस्तै,राम,कृष्ण,यशु,सावायेहाङ,लेप्मुहाङ,कान्देडहाङ,मावोहाङ,श्रीजङ्गा,फाल्गुनन्द,र वर्तमान अडसिमाङ आत्मानन्द लिङदेन । वास्तविककर्त्ता हेर्ने हो भने व्यक्ति,परिवार,जाति,संम्प्रदायमा टुङगिने गर्दछ । तर्सथ कुनै पनि धर्मले विश्व शान्ति तथा मानबताको विस्तृत ब्याख्या गर्नै क्रममा मौलिक पहिचानलाई सर्वोपरि ठानेको हुन्छ । र त्यही मौलिकतालाई उजागर गर्नै क्रममा त्यो धर्मको दर्शन निमार्ण भएको हुन्छ । जहाँ त्यस जाती एवं संम्प्रदायलाई चिनाउने संस्कार संस्कृति,भाषा,लिपि,मात्र जिवित नभई सिगो मानवत नै वाँचेको हुन्छ । यदि सवैले सत्य स्वीकार्ने हो भने इश्वर (माङ) एक छन ।इश्वरको लागि कनै भेदभाव छैन,कुनै साँध सिमाना छैन,कुनै जात भात छैन । तर सत्य पत्तन भए पछि सवै धर्म सम्प्रादयमा स्वार्थ,आडम्वर,ढोग,अहंकार,आदी जस्ता असत्यहरु कुनै न कुनै रुपमा केहि न केहि रुपमा देखा परेको छ र पर्ने क्रम वढदो छ भन्नुमा अत्युक्त्ति नहोला । धर्म त सधै सत्य,पवित्र छ न्याय प्रिय छ । तर मानिसले धर्मको आडमा आङ्खनो इच्छा,लोभ,वास्ना,अहंकार,स्वार्थको परि पुर्ति गर्न शुरु गरेको देखिन्छ । मान्छेले जन्माएको सामाजिक विकृतीहरुलाई अन्त्य गर्न चाहने क्रान्त्रिकारी छ । धर्मले अन्याय,अत्याचारको विरोध गर्ने न्यायकारी मान्छेको जन्म दिएको छ । यसमा कोही धनि,गरिव,सानो,ठुलो,जातपातको भेदभावलाई हटाउने समानताको पक्षपाती छ । सधै साँचो सत्य सहि कुरालाई मान्यता प्रदान गर्ने वैज्ञानिक छ । सत्य भन्नु नै विज्ञान हो किनकी विज्ञान भन्नु नै जाँचेर,निरिक्षण गरेर प्रयोग गरेर सत्यता सावित गर्नु हो । विज्ञान र धर्म एक अर्कामा परि पुरक हुन । त्यसैले हामी भन्ने गछौ ध्यान विना ज्ञान र ज्ञान विनाको विज्ञान हुन सम्भव छैन ।किरात धर्मलाई विगत दिनहरुमा नयाँ धर्मको रुपमा बूझिन्थ्यो,बूझाइन्थ्यो तर शताब्दीयौ देखि जति बेला आज जस्तो लिम्वु, राई,मगर,गुरुङ,सुनवार,धिमाल इत्यादी भने झै वेगल जात र वेगल थर थिएन त्यस वेला नै अस्तित्वमा रहेको यो धर्मको नामाकरण (न्वारान) भने महिगुम अडसिमाध्र फाल्गनन्द लिध्रदेन ज्यूले भविस्यवाणी गर्नू भए झै वर्तमान धर्म गुरु आत्मानन्द लिध्रदेन ज्यूबाट नामाकरण हुन पुगेको हो । किरात धर्म (किराती हुँ)भनेर दावी गर्ने सम्पूर्ण जातको परिवेशमा हर्केको यो किरात धर्म कूनै जाति विशेष,पन्थ विशेषमा मात्र आवद्ध छैन किनकी यो आफैमा विविध संस्कार,सस्कृति,भाषा,लिपी,भएको एक छुट्टै दर्शन भएको धर्म हो । हून सक्ला यसमा कूनै जाती बिशेषको जस्को विविध पक्षमा बहूल्यता होला तर त्यो नै सर्वोपरि र पुर्णता ठान्नू हुदैन ।ओत तागेरानिङवाभमाङ (इश्वर)लाई पुज्ने,मनाउने,भावना पोख्ने एवं माग राख्ने इत्यादी क्रममा किरातीहरुको जातिय भिन्नता अनुसार देश,काल,परिस्थिती अनुसार मौलिकता ठानी संस्कार,संस्कृती,एवं भाषा,लिपीलाई मुख्य नजर राख्दै जे जसरी सेवा गरे पनि त्यो किरात धर्म नै हो । कर्म काण्डमा विविध कारणले परिबर्तन आउन सक्छ । तर दर्शन अपरिर्वतनिय रुपमा रहि रहेको हुन्छ । त्यसैले बर्तमान किरात धर्मले अगाडी ल्याउन चाहेको वास्तविक पक्ष के हो ? सत्य पक्ष के हो ? के कुरालाई अगाडी ल्याउन खोजिएको छ । के को लागि जुटाउन खोजिएको हो ? यस धर्म भित्रको साक्षात पक्षहरु के हुन आदि इत्यादी खोतल्न गहिरिएर लाग्नु पर्ने दिन आई सकेको छ । वर्तमान अवस्थामा किरात धर्म भित्रका कर्म काण्डिय पक्षमा वादविवाद गर्न,तर्क वितर्क गर्नु भन्दा किरात धर्म दर्शन वारे चिन्तन मनन गर्नु, यसलाई युग युगान्तरसम्म बचाउदै र्सवत्र मानव उपयोगी कार्यमा लाग्नु आजको आवश्यकता हो । सायद यसैमा किरातहरुको भलाई हुने छ अस्तित्व बाँची रहने छ । र बुद्धिमानी पनि ठहर्ने छ । साथै किरात भएर किराती हुनुमा गर्व गर्न सकिने छ । कुनै पनि धर्मको जड भनेको दर्शन पक्ष नै मुल पक्ष हो । धर्म र दर्शन विच कटु सत्य सम्वन्ध रहि रहेको हुन्छ । अर्को तर्फविर्सनै नहुने सवल पक्ष भनेको दर्शन दाता अर्को अभिन्न पक्ष हो । किरात धर्म भित्र पनि दार्शनिक पक्ष भनु या त दर्शन दाता । उहाँहरुको विषयमा कलम चलाउदा केवल शुरु मात्र हुन्छ अन्त्य हुन गाह्रो वा धरै समय लाग्छ अत : सेकेन्ड,मिनेट,घण्टा,संक्षेपमा कुरालाई पुरा गर्न मात्र होइन पारदर्शक बनाउन दर्शनदाताहरुको उल्लेख गर्नु पर्ने हुन्छ । इतिहासको पानामा सुनौलो अक्षरले अंकित भएको किरात सभ्यता,किरात शाशन,किरात राज्य,किरात भूमि, १६ सय वर्षभन्दा बढि शाशन गरि वर्तमानमा छिन्न भिन्न अवस्थामा रहेको किरातीहरुको किरात धर्म मानव सृष्टीको शुरुवातसगै शाशन र शाशकको थिचाई,मिचाई,र किचाईमा परेता पनि “सत्य कहिल्यै मर्दैन” भने झै आजको घडिसम्म सत्यलाई बचाउने क्रममा हाम्रो किरात मुन्धुममा दर्शन दाताहरु क्रमशः सावायेहाङ,सोधुगेन लेप्मुहाङ,कान्देनहाङ,मावोहाङ,श्रीजङ्गा,फाल्गुनन्द र वर्तमानमा आडसिमाङ आत्मनन्द लिङदेन हुनु हुन्छ ।
ओत तागेरानिङवाभुमाङङे सेवारो ।

Dec 15, 2009

खम्बुवान र लिम्बुवानको साँध सीमानाको बिबाद र समाधान के हो?

वीर नेम्बाङ
माओवादी नेता गोपाल खम्बुको दाबीलाई लिम्बुवानी नेता वीर नेम्बाङको चुनौती
बिशेष टिप्पणी:
इतिहासतः हजारौं वर्षदेखि लिम्बुवान र खम्बुवान छुट्टाछुट्टै राष्ट्रको रुपमा रहेका थिए । लिम्बूहरू लिम्बुवानमा र खम्बूहरू खम्बुवानमा बसेावास गर्दथे । यद्यपि, यिनले सधैँ एकले अर्काको राष्ट्रिय अस्मितालाई सम्मान गर्दथे । यही कारण कहिल्यै लिम्बुवान र खम्बुवानबीच सीमा विवाद भएन ।
किन्तु, सन् १९९३ मा खम्बुवान राष्ट्रिय मोर्चा (खरामो) का अध्यक्ष गोपाल खम्बूले आठप्रे (आठपहरीया), मेवाहाङ, याम्फू, याक्खा(देवान), लोहोरुङ आदि जाति पनि खम्बू हुन् र उनीहरूले बसोबास गरेका लिम्बुवानको तमोर नदीसम्मको भू-भाग खम्बुवान भूमि हो भनी दावी गरेर लिम्बुवान र खम्बुवानबीच सीमा विवाद चर्काउन खोजेका थिए । अपितु, याम्फू, लोहोरुङ, याक्खा, आठप्रे र मेवाहाङलाई खम्बू जाति नाम र खम्बुवान भूमि स्वीकार्य भएन । जसले गर्दा तिनताका लिम्बुवान र खम्बुवानबीच सीमा विवाद चर्किन पाएन । जब गोपाल खम्बूले नेपालका शासकहरूद्वारा लिम्बू, खम्बू, याक्खा, लोहोरुङ, मेवाहाङ, आठप्रे, र याम्फूलाई समग्रमा किराती समुदाय भनी सम्बोधन गरिएको ऐतिहासक तथ्य फेला पारे तब उनी रातारात गोपाल खम्बूबाट गोपाल किराती भए । र, उनले उल्लेखित जातिहरूको निम्ति खम्बू जाति नाम र खम्बुवान भूमि स्वीकार्य नभए तापनि तिनलाई किरात जाति नाम र किरात भूमि त स्वीकार्य होला भन्ने दिलासामा सिङ्गो लिम्बुवानलाई किरात भूमि दावी गर्न थाले । अन्ततः गोपाल किराती सिङ्गो लिम्बुवानलाई नै किरात भूमि बनाइ छाड्ने अठोटका साथ नेपाल कम्युनिष्ट पार्टी माओवादीमा प्रवेश गरे
यसरी गोपाल किरातीले खम्बुवान भूमिको मुद्दालाई छाडे तापनि भूमि साम्पाङलगायतले उक्त मुद्दालाई छाडेनन् । अपितु, किराती र साम्पाङको लिम्बुवानलाई हेर्ने दृष्टिकोणमा तात्विक पार्थक्य देखिएन । किनकि, भूमि साम्पाङले गोपाल किरातीभन्दा दुइ कदम अगाडि बढेर लिम्बुवानको चारकोशे उत्तर र सेउतीखोला पश्चिमको सुनसरी जिल्लालाई समेत खम्बुवान भूमि हो भनी दावी गर्नुका साथै लिम्बुवान र खम्बुवानबीच सीमा विवाद चर्काएका छन् । '.....आधुनिक खम्बुवानका लागि हालको तामाकोशी पूर्वका दोलखा, रामेछाप, कमला पूर्वको सिन्धुली, चारकोशे उत्तरको उदयपुर, चारकोशे उत्तर र सेउती पश्चिमको सुनसरी, लेउती खोला पश्चिमको धनकुटाको भूभाग र सङ्खुवासभा, सोलुखुम्बू, ओखलढुङ्गा, उदयपुर, खोटाङ र भोजपुर जिल्लाको सम्पूर्ण भूमि हुनेछ ।'1
लिम्बुवान र खम्बुवानको सीमासम्बन्धी ईतिहासमा के लेखिएकोछ?
यस सन्दर्भमा लिम्बुवान र खम्बुवानको सीमासम्बन्धी इमानसिंह चेम्जङ र खुसेन्द्र र्राईको लिखतलाई उद्धृत गर्दा असान्दर्भिक नहोला । चेम्जङको लिखतमा उल्लेख छ- '......प्राचीनकालमा यो एउटै देश थियो तर पनिर् इशा मसिहको मृत्यु भएको ६ सयवर्षपछि यिनीहरूको आपसमा झै-झगडा भएपछि यो देश दुइ भागमा विभक्त भयो । एउटा भागलाई लिम्बुवान र अर्को भागलाई खम्बुवान भने । दूधकोशी नदीको पूर्व र टिष्टा नदीको पश्चिम भूभागलाई लिम्बुवान तथा काठमाडौं उपत्यकादेखि पूर्व र दूधकोशी नदी पश्चिमको भूभाग खम्बुवान कहलायो ।'2अनि राइको लिखतमा उल्लेख छ '...राइहरूको समूहलाई मात्र किरात भनिन्छ भने आज राइहरू अनि लिम्बूहरूलाई एकसाथ किरात भन्ने गरिन्छ । राइहरूको किपट नेपालको सुनकोशी नदी र लिखू नदीबीचको भूभाग जसलाई माझ किरात वा खम्बुवान भनिन्छ त्यसलाई भनिएको छ । त्यस्तै लिम्बूहरूको किपट अरुणनदीदेखि लिएर नेपालको पूर्वीय सीमानासम्मलाई मानिएको छ जसलाई पल्लो किरात वा लिम्बुवान पनि भनिन्छ ।3 उपर्युक्त दुइ लिखतबाट भूमि साम्पाङको खम्बुवानको पूर्वी सीमा सेउती खोला हो भन्ने दावी स्वतः खारेज हुन्छ ।
राजा पृथ्वीनारायण शाह एक क्रूर शासक थिए
नेपालका राजा पृथ्वी नारायण शाह एक क्रूर शासक थिए । त्यसैले, उनले खम्बुवानमाथि विजय प्राप्त गर्ने वित्तिकै त्यहाँ नर संहारको ताण्डव मच्चाए । यस सम्बन्धमा बी. एच. हडसनको हवाला दिँदै डा. रमेश ढुङ्गेल लेख्दछन्,- 'हडसनको संकलनमा प्राप्त सामग्री अनुसार गोर्खा पक्षमा नआउने वा आत्मसमर्पण नगर्ने खम्बू किरातीका पुरुष जति सम्पूर्ण र तिनका कम उमेरका ठिटा र बालक सन्तानलाई समेत गार्खालीले मारिदिएका थिए । यतिसम्म कि, पुरुष सन्तान जन्माउने आशङ्कामा आइमाईको गर्भसमेत तुहाइदिएको र शिशुहरूलाई ओखलमा हालेर किचिएको भन्ने चर्चासमेत स्रोतमा परेको छ ।'4
यसरी पृथ्वीनारायण शाहले बिजित खम्बुवानमा क्रूरतापूर्वक नरसंहार गर्न थालेपछि खम्बूहरूमा भागाभाग भएको थियो । परन्तु, खम्बुवान पश्चिमका अधिकांश भूभाग पृथ्वी नारायण शाहको कब्जामा परिसकेकोले खम्बूहरू खम्बुवान पश्चिमतिर भाग्ने प्रश्नै उठ्दैनथ्यो । त्यसैले, उनीहरू खम्बुवान पूर्वको लिम्बुवानतिरै भागे । यस सम्बन्धमा लामो समयदेखि पृथ्वीनारायण शाहको कोपभाजनबाट बच्न खम्बुवानबाट भागेर लिम्बुवानमा आएका खम्बूहरूमाथि अनुसन्धान गर्दै आएका सेसेमी से नाल्बो भन्दछन्,- अझै लिम्बू बुढापाकाहरूको किम्वदन्तीको रुपमा रहिरहेको छ- 'अ हो ! खम्बू दाजुभाइहरू, दिदी बहिनीहरू विजोग भएर कमिलाले आफ्नो फुल बोकेर बसाइँ सरेझैं खोकु छिन्ताङ- त्रिवेणीघाट हुदै ताँती-ताँती लागेर चुलाचुलीको डाँडै-डाँडा इलाम-दार्जिलिङ-भोटाङ पुगे ।' अझै कुनै कुनै ठाउँको लिम्बू बुढाबुढीहरू भन्छन् 'आम्माम्मै ! खम्बूहरू त आफ्नो बालबच्चा कुम्लो कुटाउरो बोकेर विजोग-विजोग भएर सिङ्सेबा 'बगाले बाँदर' जसरी लिम्बुवानको चुलाचुली पहाडको बाटो गरेर इलाम- दार्जिलिङ पुगे ।'5
लिम्बुवानमा खम्बुहरु यसरी प्रबेश गरे
केही दशकअघिसम्म भारतको अण्डमन र निकोबारझैं लिम्बुवानको तर्राई पनि औलो रोगको प्रकोपका कारण मानिसहरूको निम्ति बसोबासयोग्य थिएन । सन् ५० र ६० को दशकमा औंलो रोग उन्मूलन गरियो । र, लिम्बुवानको तराइलाई मानिसहरूको निम्ति बसोबासयोग्य बनाइयो । त्यसैक्रममा, सन् १९५३ मा धरानमा व्रिटिश सरकारलाई व्रिटिश रिक्रुटिङ डिपो राख्ने अनुमति दिइयो । तत्पश्चात, अधिकांश व्रिटिश सेनाबाट सेवानिवृत्त भएका खम्बुवानका खम्बूहरू लिम्बुवानको तराइमा बसोबास गर्न थाले । सन् १९६४ मा झापा-कञ्चनपुर-नवलपरासी पुनर्वास कम्पनीद्वारा तराइमा पुनर्वास गराउने क्रममा लिम्बुवानको तराइमा हजारौं खम्बुवानका खम्बूहरूको पुनर्वास गराइयो ।
यसरी तीनपटक गरेर ठूलो सङ्ख्यामा खम्बुवानका खम्बूहरू लिम्बुवानमा बसाइँ सरेका देखिन्छन् । यसमा पहिलो पटक बसाइँ सरेका खम्बूका सन्ताहरूले लिम्बुवानको राष्ट्रिय अस्मितालाई सम्मान गर्नुका साथै आफूहरूलाई लिम्बुवानवासी कहलाएका छन् । अपितु, दोस्रो र तेस्रोपटक बसाइँ सरेका खम्बूका सन्तानहरूचाहिँ लिम्बुवानको राष्ट्रिय अस्मितालाई सम्मान गर्न र आफूहरूलाई लिम्बुवानवासी कहलाउन हिच्किचाएका छन् । जसको प्रतिनिधित्व भूमि साम्पाङ प्रभृत्ति खम्बू युवाहरूले गर्दछन् । तिनको आग्रह छ- जहाँ जहाँ खम्बूहरू बसोबास गर्दछन्, त्यहाँ त्यहाँ खम्बुवान भूमि हो ।
लिम्बुवानबासीलाई खम्बुवान अस्विकार्य
यस सर्न्दर्भमा, गोपाल किरातीले सिङ्गो लिम्बुवानलाई किरात भूमि बनाउन असफल रहे तापनि उनी सङ्खुवासभा जिल्लालाई चाहिँ किरात भूमि बनाउन आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई सहमत गराउन सफल भएका छन् । र, हालै गोपाल किरातीले लिम्बुवानको संखुवासभा जिल्लासहित किरात गणराज्य घोषणा गरेर लिम्बुवान भूमिलाई अतिक्रमण गरेका छन् । परन्तु, उनले किराती समुदाय मानेका लिम्बू, खम्बू, लोहोरुङ, याम्फू, आठप्रे, याक्खा र मेवाहाङले किरात गणराज्यलाई स्वागत गरेनन् । यसबाट सङ्खुवासभा जिल्लाका रैथानेहरूरु उक्त जिल्लालाई किरात भूमि होइन, लिम्बुवान भूमि नै मान्दछन् भन्ने पुष्टि हुन्छ ।
भारतको मणिपुरका कुकी र नागाको हालत नहोस्
अन्त्यमा, जसरी सयौंवर्षदेखि नेपालको लिम्बुवानका लिम्बू र खम्बू दाजुभाइको रुपमा बाँचेका छन् त्यसरी नै भारतको मणिपुरका कुकी र नागा पनि नङ-मासु भएर बसेका थिए । किन्तु, १९९३ मा नेशनल सोसलिष्ट काउन्सिल अफ् नागाल्याण्ड -मुइवाह समूह) समर्थक नागाहरूले मणिपुर राज्यको तामेङलङ, सेनापति, उखुल र चन्दैल जिल्ला नागाल्याण्ड राज्यको भूमि हो भनी दावी गरेर मणिपुर र नागाल्याण्डबीच सीमा विवाद चर्काए । साथै, तिनले उपर्युक्त जिल्लाका रैथाने कुकीहरूलाई पनि उच्छेद गरे । परिणामतः मणिपुरका कुकी र नागाबीच जातीय दङ्गा भड्कियो । उक्त दङ्गामा सयौं मानिस मारिएका थिए भने हजारौं मानिस विस्थापित भएका थिए ।
यस सन्दर्भमा भूमि साम्पाङले चारकोशे उत्तर र सेउती खोला पश्चिमको सुनसरी जिल्लालाई खम्बुवान भूमि दावी गर्न र गोपाल किरातीले तथाकथित किरात गणराज्यको नाममा सङ्खुवासभा जिल्लालाई अतिक्रमण गर्न नछाडे र तिनले उपर्युक्त जिल्लाबाट लिम्बूहरूलाई उच्छेद गरे मणिपुर र नागाल्याण्डबीच सीमा विवाद चर्किएझैं लिम्बुवान र खम्बुवानबीच पनि सीमा विवाद चर्किने र मणिपुरमा नङ-मासु भएर बसेका कुकी र नागाबीच जातीय दङ्गा भड्किए झैं लिम्बुवानमा दाजुभाइको रुपमा बाँचेका लिम्बू र खम्बूबीच पनि जातीय दङ्गा नभड्किएला भन्न सकिन्न।
सन्दर्भ सामग्रीः
१. भूमि साम्पाङ, जनआस्था साप्ताहिक, १६ जनवरी २००८, काठमाडौं
२. इमानसिंह चेम्जङ, किरातकालीन विजयपुरको संक्षिप्त इतिहास, सन् १९७४, दार्जिलिङ
३. खुसेन्द्र राइ, सुनचरी दैनिक, २१ डिसेम्बर, २००६, सिलगढी
४. डा. रमेश ढुङगेल, हिमालखबर पत्रिका, २८ फेब्रुअरी-१३ मार्च, २००६ काठमाडौं५. सेसेमी से नाल्बो, चुम्लुङ मासिक, मार्च-अप्रिल, २००८, दमक

Dec 8, 2009

प्रस्तावित 'विराट राज्य' अविलम्ब फिर्ता गर

प्रकाश यक्सो (लिम्बू)
प्रमुख राजनैतिक दलहरु (माओवदी, कांग्रेस र एमाले) को प्रस्तावित संघीय राज्यको खाका, तिनको नाम र सीमांकनलाई हेर्दा के लाग्छ भने कतिपय ऐतिहासिक पहिचानमा रहेका राज्यहरु ध्वस्त हुँदैछन् । त्यो खास गरेर प्रमुख राजनैतिक दलहरुमा विद्यमान रहेको विविध शंका र स्वार्थका कारणबस हुँदैछ । उदाहरणको लागि पूर्वी नेपालको लिम्बूवान क्षेत्रलाई लिउँ । त्यहाँ अहिले उनीहरु संघीयताको निहुँमा लिम्बूवानको मुटु नै झकिेर खान खोजिरहेका छन् । त्यो प्राय निश्चित जस्तै भैसकेको पनि छ । लिम्बूवानको मुटु नै मानिएको विजयपुर-मोरङ थुम (झापा, मोरङ र सुनसरी) लाई जसरी भएपनि अलग गर्ने र राज गर्ने भन्ने प्रमुख तीन पार्टीको दाउ रहेकोछ । विशेष गरेर माओवादीले कोचिलाबाट, एमालेले विराटबाट र काँग्रेसले विराट वा त्यस्तै कुनै निहुँबाट त्यहाँ छिर्ने योजना बुन्दैछन् । यी तीन पार्टी जसरी, जुनैबाटो भएर आए पनि त्यो लिम्बूवानको मोरङलाई अलग गर्ने रजाइँ गर्ने भन्ने सामन्ती दाउमा आउनेछन । यसमा माओवादीको कसरत पहिल्यैदेखि नै छँदैछ भने एमाले र कांग्रेसले अब शुरु गर्दैछन् । यसरी लिम्बूवनाको मुटु (विजयपुर-मोरङ) नै झिकिदिएपछि त्यो खोक्रो लिम्बूवानको अस्थित्व रहयो नै के ? यही एउटा गम्भिर चुनौती लिम्बूवानको अगाडि खडा भएको छ जुन् हामी चाँडै देख्दैछौं ।
कोचिला राज्यको औचित्यको बारेमा पछि छुट्टै शिर्षकबाट चर्चा गरौंला । यस लेखमा विशेष गरेर एमालेले प्रस्ताव गरेको विराट राज्यको बारेमा केन्द्रीत रहेर चर्चा गरिने छ । भर्खरै मात्र एमालेले पूर्वी तराइँ (लिम्बूवान-मोरङ) का तीन जिल्लाहरु (झापा, मोरङ र सुनसरी) लाई मिलाएर विराट राज्यको प्रस्ताव ल्याएको छ । उसले त्यसलाई सभ्यताको आधारमा हुने भनेको छ । तर, त्यसको वस्तुगत आधार तथा प्रमाणहरु के के छन ती स्पष्ट रुपमा आएका छैनन् । हामीलाई के लागिरहेको छ भने यो विराट राज्यको प्रस्ताव एमालेले कुन दुनियांबाट उठाएर ल्याएको हो त हँ ! जुन् लिम्बूवानमा मात्र होइन नेपाल भरिनै नभेटिएको पचिान हो यो विराट । एमालेले यसको साँचो इतिहास र पहिचान खोज्नलाई त भारतै जानुपर्छ । नेपालमा होइन । विराट राजा र विराट राज्यको बारेमा जति पनि इतिहास तथा कथाहरु लेखिएकाछन् ती सबै भारतमै लेखिएकाछन् । लिम्बूवानको मोरङमा यसको प्राविधिक रुपमा कुनै अस्थित्व भेटिएको छैन । त्यसकारण एमालेको यो विराट राज्यको प्रस्ताव विल्कुलै निराधार र हावादारी देखिन्छ । खास गरेर एमालेले लिम्बूवानको ऐतिहासिक सिमांकनलाई स्वीकार गर्न नसक्दा कि त अतालिएर कि त हतारिएर यो विराटको प्रस्ताव ल्याएको हुनुसक्छ । खास गरेर लिम्बूवानको अभिन्न भूमि मोरङ थुमलाई लिम्बूवानबाट अलग गराउने एमालेको यो एउटा महाषड्यन्त्र हो । यस्तो ठोस आधार नै नभएको विषयलाई एउटा इज्जतदार पार्टी समात्नु ठीक हुँदैन थियो । तर, एमालेले त्यही गर्यो जुन गर्नु हुँदैनथ्यो ।
महाभारतकालीन पौराणिक कथामा विराट राजाको नाम उल्लेख भएको पाइन्छ । प्राचीन कुरुक्षेत्रको लडाइँमा पाँच पाण्डव दाजुभाईहरु यहीँ विराट राजाकहाँ आई सेल्टर लिएर बसेका थिए अर्थात आफ्नो १२ बर्षो बनवास (गुप्तवास) जीवन त्यही आएर बिताएका थिए भनी महाभारतको कथामा उल्लेख छ । यदि एमालेले पनि यही आधारलाई समातेर विराटको प्रस्ताव ल्याएको हो भने त्यो सरासर भ्रम हुनेछ । किनकि यो चाहे सत्यमा आधारित होस या कथामा यसको सम्पूर्ण रामकहानी भारतीय इतिहासमा र महाभारतको कथामा उल्लेख भएको छ । लिम्बूवानको इतिहासमा त्यो विराटको कहीँ पनि उल्लेख भएको पाइन्दैन । त्यसोहुनाले विराट राजा तथा विराट राज्यको विषयमा र त्यही कुरा महाभारतको पौराणिक कथामा पनि उल्लेख भएको हुँदा त्यस सम्बन्धमा यहाँ थोरै चर्चा गर्न आश्यक देखिन्छ ।
प्राचीन कुरुक्षेत्रदेखि दक्षिण र यमुना नदीको पश्चिम क्षेत्रमा एउटा मत्स्य नामको छुट्टै स्वतन्त्र राज्य थियो । त्यस राज्यको प्राचीन राजा विराट हुन् भनी भारतवर्षको इतिहासमा उल्लेख भएको छ । मत्स्य देशको राजधानी विरानगर थियो र त्यो (विराटनगर) विराट राजाकै नामबाट रहन गएको हो भनी विश्वास पनि गरिएको छ । हाल यो मत्स्य राज्य तथा विराटनगर भारतको राजस्थान प्रान्तको जैपुर जिल्ला अन्तर्गत पर्दछ । प्राचीन मत्स्य राज्य र विराट राजाको बारेमा प्राचीन भारतवर्षो इतिहासमा यसरी उल्लेख गरिएको छ-
Matsya or Machcha (sanskrit for fish) classically called the Mese was the name of a tribe and the state of the vedic civilization of India . It lay to south of the kingdom of Kurus and west of the Yamuna which separated it from the kingdom of panchalas. The capital of Matsya was at Viratnagara (modern Bairat) which is said to have been named after its founder king Virat. The main Matsya under Virata had its capital named Viratnagari which is now known as Bairat in Jaipur district of Rajasthan. भारतबर्षको महाभारतकालीन कुरुक्षेत्रको लडाइँको समयमा पाँच पाण्डव दाजुभाइहरु आफ्नो १२ बर्षे बनवास बस्ने क्रममा विराट राज्यको विराट राजा कहाँ आई त्यहाँ सेल्टर लिएर बसेका थिए भन्ने कुरा पनि महाभारतको कथामै उल्लेख छ, जुन यसप्रकार छ- The ancient name of the town was Viratnagar, and its history goes back to the time of the Mahabharata. Viratnagar was the capital of the ancient India kingdom (Mahajanapada) of Machcha or Matsya. Pandavas selected the Virata kingdom to their abode for one year, to live in anonymity, after the expiry of their twelve-year long forest life, both (12-years of forest life and one year of life in anonymity) being the conditions set up by their enemies viz the Kauravas, to give them back their kingdom (4,1) – (History of the ancient India). यहाँ माथि उल्लेख भएको विषयभन्दा बाहेकका अर्थमा एमालेले विराट भन्न खोजिएको हो भने त्यसको साँचो अधार तथा प्रमाणहरु जनतासामु प्रष्ट आउनुपर्छ । यदि त्यसको आधारप्रमाण पुग्छ र त्यसमा सत्यता छ भने स्वीकार हुन्छ । तर, त्यसको कुनै आधारप्रमाणहरु छैनन् भने त्यो एमालेको हावादारी प्रस्ताव मात्र हुँनेछ । र, त्यो उसले अविलम्ब फिर्ता लिनुको विकल्पै छैन ।
हुनसक्छ, मोरङका बुद्धनगरवासीहरुले अर्थात प्राचीन भारत-मत्स्य देशका विराट राजाका अनुयायीहरुले त्यहाँ आएर केही मन्दीर, मूर्ति, चित्र, कुवा तथा पोखरी आदि बनाएका होलान् । त्यहाँ प्राचीन विराट राजाको राजधानी बुद्धनगर रहेको भन्ने भ्रामक विश्वास पनि हुनसक्छ उनीहरुमा । तर, यस्तो भ्रामक निराधार प्रमाणकै आधारमा एउटा राज्यको परिकल्पना गर्न सकिन्दैन । राज्य भन्ने कुरा त्यसै कराएर, उफ्रेर मात्र पाइन्ने चिज होइन । एउटा राज्य बन्नका लागि उसँग प्रयाप्त ऐतिहासिक आधार, प्रमाणहरु भएको हुनुपर्छ । एउटा लामो ऐतिहासिक कालखण्डसम्म राज्यशासन गरेको ऐतिहासिक पृष्ठभूमि हुनुपर्छ । जस्तो, राज्यको उत्पत्ति, राज्यको किसिम तथा प्रणाली, राज्यको ऐतिहासिक साँध सीमाना, शासकहरुको वंशावली, राज्यसँग सम्बन्धित दस्तावेजहरु आदि विषयहरु स्पष्ट रुपमा खुलेको हुनुपर्छ । त्यसको सम्पूर्ण ऐतिहासिक घट्क्रमहरु नेपालभित्र भएको हुनुपर्छ । तर, के यी सबै विषयहरु विराटसंग छ त - छैन, किनकि यसको उत्पत्तिका सबै ऐतिहासिक घट्नाक्रमहरु भारतमै भएका हुन् । यो प्राचीन भारतको सभ्यता हो, लिम्बूवानको-मोरङ थुमको होइन । एमालेले जुन क्षेत्रलाई हेरेर विराटको प्रस्ताव ल्याइएको छ, त्यो प्राचीन लिम्बूवानको मोरङ थुम अन्तर्गत पर्ने क्षेत्रहरु हुन् । स्मरण रहोस, हाल नेपाल भित्रको अरुण-सप्तकोसी नदी पूर्व, मेची नदी पश्चिम, तिब्बत दक्षिण र भारत-विहार उत्तरका सम्पूर्ण ९ जिल्लाहरु ( झापा,पाँचथर,तेह्रथुम र्इलाम,ताप्लेजुङ,संख्वासभा,धनकुटा,मोरङ र सुनसरी) लिम्बूवान भूमि हो । लिम्बूवानको यो जिउदो ऐतिहासिक पृष्ठभूमिभित्र कुन आधारमा हुने विराट राज्य लिम्बूवानमा -
अहिले संघीयताको खास आधारहरु के के हुन्, के हुनुपर्छ भन्ने विषयमा पार्टी नेता तथा विज्ञहरु नै अलमलिरहेको अवस्था छ । त्यो कसरी भने उनीहरुबाट थरीथरीका प्रस्तावहरु आइरहेकाछन् । एवम्रीतले आउछन्, जान्छन् र फेरी आउछन् । लाग्छ, राजनेताहरु नै जनतासँग संघीताको पौडी सिक्दैछन् । अहिले उनीहरु संघीयताको पहिलो दौड जित्न तछाडमछाड गर्दै संघीयताको होडमा दौडिरहेकाछन् । कोही चाहिँ संघीय मैदानमै ओर्लेर दौड्न सुरु पनि गरिसकेकाछन् । विना प्रतिद्वन्द्वी, आफै एक्लै कुद्ने, हावामा आफै जित्ने । राजनेताहरुको यो पच्चिस थरी कुरा र व्यावहारलाई जनताले कसरी बुझने ? र, तिनीहरुबाट के आसा राख्ने ? संघीयताको गाडी हाक्छु भन्नेहरु मूलबाटो छोडेर भड्खालोको बाटो हिडिरहेकाछन् ।
यसरी कतिपय नेपाली जनताहरु एउटा निश्चित पथ समात्न नसकिरहेको तथा संघीयता के हो ? विराट के हो ? कोचिला के हो ? र, त्यसको ऐतिहासिक उत्पत्ति तथा पहिचान कहाँ थियो ? र, कहिले थियो ? भन्ने विषयमा किञ्चित थाहा नभई अल्मलिरहेको अवस्थामा भारतीय कथित विराट राज्यको प्रस्ताव ल्याएर एमालेले झनैसारो भ्रम सृजना गरिदिएको छ । अब हामीलाई के कुरा बुझन कठिन भएन भने एमालेले पनि मोरङ थुम -राज्य) लाई लिम्बूवानबाट अलग गर्ने षड्यन्त्र गर्दोरहेछ । ऊ लिम्बूवानको ऐतिहासिक अस्थित्वमाथि 'कु' गर्ने सोचमा रहेछ । हुनत यो कार्यमा उ मात्र एक्लो छैन । माथि उल्लेख भएका प्रमुख राजनैतिक दलहरु सबै यस कार्यको सोचमा रहेकाछन् । तर त्यो उनीहरुको शक्तिको क्षणिक हुँकार सिबाय अरु केही होइन । यो कथित विराट, कोचिलाको प्रस्ताव लिम्बूवानभित्र किञ्चित स्वीकार हुनेछैन । किनकि यसले लिम्बूवानको ऐतिहासिक अस्थित्वलाई नामेट गरिदिएको छ । अझै पनि लिम्बूवान-मोरङ थुमभित्र ती बिना आधारका कथित विराट तथा कोचिला जस्ता राज्यहरुलाई जबरजस्त लाद्न खोजेमा परिणाम अवश्य अप्रिय हुनसक्छ । त्यो हाम्रो रहरले नभइ बाध्यता हुनेछ । त्यसकारण माओवादी र एमालेले उनीहरुको कथित कोचिला र विराटको प्रस्तावलाई अविलम्ब फिर्ता लिनुपर्छ । यसमा उनीहरुले जति विलम्ब गर्नेछन्, उप्रान्त उनीहरु लिम्बूवानबाट बडारिनेछन् । तर त्यो कार्य सचेत लिम्बूवानवादीहरुको ससक्त क्रान्तिले मात्र गर्न सक्छ । अहिलेका यी छायांका सन्तसाधु मोर्चाहरुको झनिो आन्दोलनले सग्लो लिम्बूवान पाप्त हुन सक्दैन । र, त्यो रुकुम, रोल्पा, सप्तरी र काठमाण्डौमा जन्मेको शक्तिको पुच्छर लागेर पनि त्यो सम्भव छैन । त्यो त्यतिखेर मात्र सम्भव हुन्छ जतिखेर त्यो स्वशक्तिमान लिम्बूवानमा जन्मेको हुन्छ । उ कुनै शक्तिकेन्द्रको छायाको मोर्चा मात्र हुने पनि होइन । हो, त्यस्तै खाल्को एउटा ससक्त मोर्चाको लिम्बुवानलाई आवश्क छ । त्यो अविलम्ब जन्मिनुपर्छ । अब हामी हाम्रो लिम्बूवानको अस्थित्वलाई बन्धक बनाएर कुनै पार्टी,जाति, व्यक्ति र वर्ग स्वार्थमा मात्र कुदन सक्दैनौं । सग्लो लिम्बूवान प्राप्ति नभएसम्म हाम्रो संघर्ष अविराम जारी रहनेछ । काङसोरेका सन्तती हौं पिठ्युँ देखाउन जान्दैनौं, बरु लड्न हामी तयार छौं अस्तित्व बेच्न जान्दैनौं ।